कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

मापदण्डविपरीत उत्खनन

जिल्लामा १९ वटा क्रसर उद्योग रहेकामा १० वटा मापदण्डविपरीत सञ्चालनमा
सम्झना रसाइली

तनहुँ — जिल्लामा मापदण्डविपरीत क्रसर उद्योग सञ्चालन गरिएको छ । क्रसर उद्योग सञ्चालनका लागि तोकिएको मापदण्डको पालना नगरी क्रसर उद्योगले नदीजन्य वस्तुको उत्खनन गरी बिक्रीवितरण गर्दै आएका छन् । जिल्ला समन्वय समितिका अनुसार जिल्लामा १९ वटा क्रसर उद्योग रहेकामा १० वटा मापदण्डविपरीत सञ्चालनमा रहेका छन् ।

मापदण्डविपरीत उत्खनन

यीमध्ये १२ वटा क्रसर उद्योग घरेलु कार्यालयमा दर्ता छन् तर नवीकरण भएका छैनन् । बस्ती तथा नदी छेउछाउमै सञ्चालनमा ल्याइएका उद्योगका कारण स्थानीयले मात्र नभई प्रकृतिले पनि सास्ती झेल्नुपरेको छ । उद्योगबाट सञ्चालन हुने ठूलाठूला टिपर र ट्र्याक्टरबाट वातावरण प्रदूषण हुनुका साथै स्थानीयको स्वास्थ्यमा समेत असर पुर्‍याउने गरेको छ । अवैध क्रसर उद्योगलाई हटाउन जिल्ला अनुगमन समितिको पटकपटक बसेको बैठक, निर्णय र पत्रचार पनि उपलब्धिविहीन बनेको छ ।

शुक्लागण्डकी नगरपालिकास्थित सिद्धेश्वर एग्रिगेट एन्ड क्रसर उद्योग, ए सिक्स एग्रिगेट कम्पनी, एसएनएल एग्रिगेट एन्ड क्रसर, मेलमिलाप ढुंगा बालुवा, गिट्टी उद्योग, प्रोफर कन्स्ट्रक्सन एन्ड क्रसर, जय महालक्ष्मी क्रसर उद्योग मापदण्डविपरीत सञ्चालित छन् । म्याग्दे गाउँपालिकास्थित अकला रुद्रदेवी गिट्टी, बालुवा उद्योग, सेती दोभान ब्लक एन्ड एग्रिगेट क्रसर उद्योग, ढोरबाराही एग्रिगेट क्रसर उद्योग र बन्दीपुर गाउँपालिकास्थित नमुना ग्रिड एन्ड क्रसर उद्योग पनि मापदण्डविपरीत सञ्चालनमा रहेको जिल्ला समन्वय अधिकारी थमनसिंह थापाले बताए ।

जिल्ला समन्वय प्रमुखको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख, स्थानीय तहका प्रमुख सदस्य रहने गरी जिल्ला अनुगमन समिति गठन गरिएको छ । समितिले २०७९ असार २९ मा प्रचलित कानुनबमोजिम दर्ता नगरी सञ्चालनमा रहेका तथा दर्ता गर्ने निकायबाट तोकिएका उद्देश्यविपरीत सञ्चालनमा रहेका क्रसरजन्य उद्योगलाई सम्बन्धित स्थानीय तहले १५ दिनभित्र बन्द गरी जिल्ला अनुगमन समितिलाई जानकारी दिने भनी पत्राचार गरेको थियो । तर हालसम्म कुनै पनि क्रसरजन्य उद्योग बन्द भएको जानकारी नआएको थापाले बताए । उनले भने, ‘हामीसँग क्रसर बन्द गराउने अधिकार हुँदैन । सम्बन्धित निकायलाई अनुरोध गर्ने मात्र हो ।’

यस्तै, नमुना ग्रिड एन्ड क्रसर उद्योग भने बन्द गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । उनले भने, ‘गत वैशाख ८ मा नै गाउँपालिकाले क्रसर बन्द गराउन पत्रचार गरेको थियो । साउनको अन्तिम साता अनुगमनमा जाँदा क्रसर बन्द थियो ।’ स्थानीयलाई क्रसरको निगरानी गरी सञ्चालन भएको देखे पालिकालाई खबर गर्नसमेत अनुरोध गरिएको उनले बताए । उक्त उद्योग आईईई स्वीकृत नभई र सञ्चालन अनुमतिपत्र नलिई सञ्चालनमा आएको थियो ।

गत असार १ देखि भदौ १५ गतेसम्म नदीजन्य उत्खनन बन्द गरिएको थियो । त्यसयता पालिकाले आईईई प्रतिवेदन ननिकाल्दा कुनै पनि टेन्डर प्रक्रिया अगाडि बढ्न सकेका छैनन् र उत्खननका काम रोकिएका छन् ।

यसैले अहिलेको समयमा केही क्रसर उद्योग बन्द रहेको जिल्ला समन्वय प्रमुख तथा अनुगमन समितिका अध्यक्ष शान्तिरमण वाग्लेले बताए । समितिबाट प्रभावकारी अनुगमन नभएको उनी स्विकार्छन् । उनले भने, ‘पछिल्लो समय अनुगमनलाई अगाडि बढाउन सकेका छैनौं । केही क्रसर उद्योग बन्द भएको सुनिए पनि सम्बन्धित पालिकाबाट केही खबर आएको छैन र हामीले पनि अनुगमन गरेका छैनौं ।’ पटकपटक स्थानीय तहलाई मापदण्डविपरीत सञ्चालित क्रसर बन्द गराउन पत्राचार गरिरहेको भए पनि पालिका त्यसअनुरूप अगाडि नबढेको उनले बताए । अहिले घाट बन्द भएकाले उत्खनन कार्य नहुँदा क्रसर बन्द जस्तै छन् । घाट खुलेपछि कुन कुन क्रसर सञ्चालनमा छन् भन्ने थाहा हुने र बन्द गर्ने प्रक्रिया अगाडि बढाउने दाबी उनले गरे ।

२०७७ मंसिरमा अनुगमन समितिले उद्योग विभागअन्तर्गत साना तथा घरेलु उद्योगमा दर्ता नगरी सञ्चालनमा ल्याइएका ६ क्रसर उद्योग बन्द गरेको थियो । तर, त्यसलाई पालिकाले निरन्तरता दिन नसक्दा केही क्रसर पुनः सञ्चालनमा आएको वाग्लेले बताए । उनले भने, ‘केही क्रसर उद्योगका सञ्चालक जनप्रतिनिधि तथा पालिकासँग नजिक भएका कारणले पनि मापदण्डविपरीत क्रसर पुनः सञ्चालन आएका हुन् कि ?’ उनका अनुसार म्याग्देस्थित ढोरबाराही एग्रिगेटलाई भने आंशिक रूपमा बन्द गराइएको छ । गिट्टी चाल्ने उद्देश्यसहित सञ्चालनमा आएको उक्त एग्रिगेटले गिट्टी फोड्ने काम पनि गरेको थियो । अहिले गिट्टी फोड्ने कार्य भने बन्द गराइएको छ ।

रोडा ढुंगा सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को २०७१ भदौ र माघको निर्णय अनुसूचीअनुसार क्रसर उद्योग बस्तीबाट २ किलोमिटर पर, राजमार्ग तथा खोला किनारबाट ५ सय मिटर पर, शिक्षण संस्थाबाट २ किमि, वन तथा निकुञ्जबाट २ किमि पर, नगरपालिका क्षेत्रमा स्थापना गर्न नपाइने, धूलो बाहिर निस्कन नदिन पानी छर्की नियन्त्रण गर्ने प्रविधि अनिवार्य जडान गर्नुपर्ने, वायु एवं ध्वनि प्रदूषणको सम्बन्धमा राष्ट्रिय गुणस्तर तयार भएपछि सो गुणस्तरअनुसार प्रदूषण नियन्त्रण गर्नुपर्ने, बफर जोनमा वृक्षरोपण गर्नुपर्ने भनिए पनि जिल्लास्थित कुनै पनि क्रसर उद्योगहरूले यो नियम पूरा गरेका छैनन् ।

क्रसर उद्योगबाट आउने प्रदूषणका कारण प्रकृति र जनजीवनमा पनि हानि पुर्‍याएको शुक्लागण्डकी–४ का हरि रिमालले बताए । उनले भने, ‘मापदण्ड पूरा नगरी र सञ्चालन अनुमति नलिएका क्रसर पनि सञ्चालनमा छन् । सम्बन्धित क्रसर र पालिकालाई नागरिकस्तरबाट नियमन गर्न पटकपटक जानकारी गराउँदा पनि त्यो हुन सकेको छैन ।’ क्रसर व्यवसायी देवबहादुर ज्वारचनले हाल शुक्लागण्डकीका अधिकांश क्रसर उद्योग बन्द अवस्थामै रहेको बताए । उनले भने, ‘कच्चा पदार्थ कम छ, डिजेल पनि महँगो भएको कारण क्रसर बन्द गरेर राखिएको छ ।’

प्रकाशित : आश्विन ७, २०७९ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?