भदौभित्रै ३ सयभन्दा बढी योजना सम्झौता

प्रकाश बराल

बागलुङ — अन्य पालिकामा रातो किताब सार्वजनिक नहुँदै बागलुङ नगरपालिकाले ३ सयभन्दा बढी पूर्वाधारका योजना सम्झौता सकेको छ । जिल्लाका अन्य पालिकाले दशै अघि रातो किताब प्रकाशित गर्ने तयारीमा छन् । 

भदौभित्रै ३ सयभन्दा बढी योजना सम्झौता

असार अन्तिम साता रातो किताब प्रकाशित गरेकाले भदौभित्रै यतिधेरै योजना सम्झौता गर्न सकिएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए । नगरपालिकाले वडा तहमै पुगेर पूर्वाधार तर्फका योजना सम्झौता गरेको हो । नगर परिषद्ले पास गरेका झन्डै ५ सय योजनामध्ये अधिकांश सम्झौता भएका हुन् । अब सम्झौता हुन छिटफुट पूर्वाधार र अरू कार्यक्रमतर्फका मात्रै रहेको सापकोटाले बताए ।

निर्वाचनको वर्ष भएकाले आचारसंहिताले असर पर्ने सबै काम साउन र भदौभित्रै सकिएको हो । ‘अहिले काम नगरेको भए पुसअघि योजना सम्झौता सम्भव थिएन, अब धमाधम काम सुरु हुने भए’ सापकोटाले भने, ‘आगामी फागुनसम्ममा अधिकांस योजनाको काम सम्पन्न हुनेछ ।’

समयमा सकिएका काम अनुगमन गरेर समयमै फरफारक गर्न सकिने उनले बताए । असार मसान्तमा काम सकेर भुक्तानी दिने चलनले योजना अलपत्र पर्ने, अनियमितता बढी हुने अनुभवबाट समयमा काम सक्ने लक्ष्य राखिएको उनको भनाइ छ । नगरपालिकाले १० वटा वडाका कार्यालयमै पुगेर योजना सम्झौता गरेको हो भने ४ वटा वडाको काम मुख्य कार्यालयबाट गरेको हो ।

नगरप्रमुख वसन्तकुमार श्रेष्ठले रकमान्तरण गर्नैपर्ने बाध्यताका योजनामात्रै फागुनपछि सम्झौता गरिने बताए । ‘समयमै काम गरेर देखाउने भन्ने हो’ श्रेष्ठले भने, ‘जनताले घरदैलोमा सेवा पाउनुपर्छ, समयमा काम सकेर भुक्तानी पनि सजिलै पाउनुपर्छ ।’ १० लाख रुपैयाँसम्मका योजना वडा तहबाटै अनुगमन गरेर भुक्तानीको व्यवस्था गरिएको उनले बताए ।

अनुगमनलाई प्रभावकारी बनाउन वडा समिति, नगर स्तरीय समिति र उपप्रमुख नेतृत्वको समिति परिचालन गर्ने उपप्रमुख राजु खड्काले जानकारी दिए । ‘सबै योजना असारमा सक्ने, अनि उपप्रमुखले मात्रै अनुगमन गर्दा धेरै अलपत्र पर्ने र अनियमितता तथा दोहोरोपना भेटिए’ खड्काले भने, ‘अहिले सम्झौता भएका योजना चैत, वैशाखमै अनुगमन हुनेछन ।’

समयमा योजना सम्झौता गर्दा साउन र भदौभित्रै ती योजनाका पदाधिकारीको खाता पनि खुलिसकेका छन् । उपभोक्ता समिति र टोल सुधार समितिलाई अनुशिक्षण समेत दिइएको छ ।

प्रकाशित : आश्विन ७, २०७९ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?