कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

मालढुंगा-कुश्मीसेरा सडक ३ महिनादेखि  अवरुद्ध

घरैसम्म कालोपत्र सडक छ तर बिरामीलाई बोकाएर अस्पताल लाने ल्याउने गर्नुपर्ने बाध्यता 
प्रकाश बराल

बागलुङ — गत असारमा खसेको पहिरोले बन्द भएको बागलुङको मालढुंगादेखि कुश्मीसेरा जाने सडक भदौ पहिलो साता तीन दिन अस्थायी रुपमा खुल्यो । भदौ ७ को वर्षाले फेरि अबरुद्ध भयो । त्यसपछि अझै कहिले खुल्ने निश्चित छैन । चार बर्ष अघि कालोपत्र गरिएको यो सडकको गलुवा भन्ने स्थानमा खसेको पहिरोले हरेक बर्ष तीन महिना अबरुद्ध हुने गरेको छ ।

अघिल्लो वर्षदेखि खस्न थालेको पहिरोले गत वर्ष पनि तीन महिना सवारी चल्न सकेनन् । यो वर्ष पनि असारदेखि संचालनमा आउन नसकेको यो सडक कहिले खुल्छ भन्ने अन्योल हुँदा दक्षिण बागलुङवासीले सास्ती खेपेका छन् ।

खुल्दा पनि अस्थायी ट्र्याकमा जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता छ । यहाँको पहिरोले मालढुंगा कुश्मीसेरा सडक खण्डको दुई वटा घुम्ती पुरै बगेको छ । सडक भित्ताको तारजाली समेत बगेपछि सडकको नयाँ ट्र्याक खोल्नै सास्ती हुने भएको हो । झन्डै ५० मीटर चौडाइको दुइवटा घुम्ती बग्दा पैदल यात्री पनि हिँड्न नसकी पर्वतको कुश्मा देखि घुमाउरो बाटो हिड्न बाध्य छन् ।

कुश्माको बाटो आउँदा चार किमी नजिकको गाउँलेले २० किमी बढी यात्रा गर्न बाध्य छन् । त्योपनि कुश्मासम्म सवारी साधनमा गएपछि झोलुंगे पुल तरेर बाँकी खण्ड पैदल यात्रा गर्नुपर्नेछ । पहिरोले करिडोर समेत जोखिम बनाएको छ । दैनिक उपभोग्य सामग्री ढुवानी देखि बिरामी बोक्ने एम्बुलेन्स पनि हिँडाउन नसकेपछि बागलुङको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकावासीले दुःख पाएका हुन् ।

बलेवा क्षेत्रका विद्यार्थी र शिक्षकले समेत आफ्नै सवारी साधन भएर पनि पैदलै हिँड्न बाध्य छन् । ‘घरैसम्म कालोपत्र सडक छ, तर आफ्नो सवारी सदरमुकाम छाडेर पैदल यात्रा गर्न बाध्य छौं’ बागलुङ नगरपालिका–१३ का बालकृष्ण शर्माले भने, ‘यो सास्ती कहिले सम्म ?’ बिरामी भएकी आमालाई बोकाएर अस्पताल लाने ल्याउने गर्न बाध्य भएको उनले गुनासो गरे ।

यो सडकको विकल्पको रूपमा रहेको कालीगण्डकी करिडोर समेत पटक पटक अबरुद्ध भइरहेको छ । पानी पर्दा निरन्तर ढुंगा खस्ने समस्याले करिडोरको बाटो सवारी चल्न सकेका छैनन् । गलुवादेखि नेपाने तर्फको भीरमा निरन्तर ढुंगा खस्ने समस्या हुँदा बिकल्पको बाटो पनि प्रयोग गर्न नसकिएको बागलुङ नगरपालिका वडा नं १४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताए । तीन वर्षअघि गलुवादेखि भकुन्डे जाने नयाँ ट्र्याक खोल्ने क्रममा खसेको पहिरो अहिले बस्ती र सयौं रोपनी खेतसमेत बगाएको छ । यहाँका चार घर बिस्थापित भैसकेका छन् भने कतिपय घरगोठ जोखिममा छन् ।

गत वर्ष दसैंमा पनि बागलुङ नगरपालिकाले २० लाख खर्चेर सडकको ट्र्याक खोलेको थियो । उक्त ट्र्याकमा हिउँदमा समेत जोखिम थियो । ‘पानी पर्नासाथ पहिरो खस्छ, सडक त बच्दैबच्दैन’ स्थानीय उमाकान्त रिजालले भने, ‘घर जाने छाटो बाटो छाडेर घुमाउरो हिँडेका छौं ।’ लाखौं खर्चेर पनि सडक बनाउन कठिन हुने उनले बताए । बागलुङ नगरपालिकाले दशैकालागि सडकको अस्थायी ट्रयाक खोल्ने पहल गरेको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए ।

‘जनताले चाडपर्वमा घर जान पाउनुपर्छ भनेर केही खर्चेर अस्थायी ट्र्याक बनाउन खोजेका छौं,’ सापकोटाले भने, ‘त्यसका लागि पनि ५ लाख खर्च होला ।’ स्थायी संरचना बनाउनु परेमा करोडौं खर्च लाग्ने उनले बताए । पहिरो संरक्षणकालागि भने बिरुवा रोप्ने काम नगरपालिकाले गर्ने उनले बताए । यो पहिरो पन्छाएर सडक सुचारु गर्ने जिम्मा भने सडक डिभिजनको हो ।

डिभिजनबाट भने तीन महिनासम्म अबरुद्ध सडक हेर्न पनि कोही गएका छैनन् । उक्त पहिरो पन्छाउन बागलुङ र जैमिनी नगरपालिकाले भने पटक पटक खर्चेका छन् । आफ्नै डोजर नियमित राखेर पनि पटक पटक पहिरो पन्छाउने काम गरेका थिए । अहिले भने पहिरो पन्छाउनै नसक्ने गरी खसेपछि सास्ती भएको हो ।

प्रकाशित : आश्विन ६, २०७९ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?