तन्नेरी गोठाला- गण्डकी - कान्तिपुर समाचार

तन्नेरी गोठाला

पालन र गोठ बसाइ कष्टकर भए पनि आम्दानी राम्रो हुने भएकाले युवापुस्ता भेडापालनतर्फ आकर्षित
घनश्याम खड्का

म्याग्दी — अन्नपूर्ण गाउँपालिका–५ को शिख माध्यमिक विद्यालयबाट दुई वर्षअघि कक्षा १२ उत्तीर्ण गरेपछि पाउद्वारका प्रकाश पुनलाई परिवार, आफन्तले विदेश जान दबाब दिए । तर उनले मानेनन् । बरु भेडा गोठालो बने ।

‘भेडापालनमा राम्रो आम्दानी छ । पैसा यहींका डाँडापाखामा छ, टिप्न सकिन्छ भन्ने विश्वास छ,’ स्थानीय नौलोवनमा भेटिएका २१ वर्षीय भेडा गोठाला प्रकाशले थपे, ‘६० वटा भेडा किनेर साथीको गोठमा मिसिएको छु । दुई वर्ष गोठमा खटिएँ भने त्यसपछि १५–२० लाख रुपैयाँ वर्षको सजिलै कमाउँछु ।’ प्रकाशसँगै भेडापालनमा संलग्न अर्का तन्नेरी हुन्, पाउद्वारकै २५ वर्षीय कमल पाइजा । पाइजाका मात्रै २ सय ५० बढी भेडा छन् । कमल र प्रकाशले एउटै गोठ बनाएका छन् ।

रघुगंगा गाउँपालिका–८ पात्लेका ३२ वर्षीय दुर्गा छन्त्याल र धवलागिरि गाउँपालिका–५ मल्कवाङका ३६ वर्षे देवान छन्त्याल पनि भेडा पालनमा जोडिएका छन् । मलेसिया, कतार र सिंगापुरमा एक दशक बिताएर फर्केका देवानले पछिल्लो ५ वर्षदेखि पुर्ख्यौली भेडा पालनको कामलाई निरन्तरता दिएका छन् । उनीसँग ६ सयभन्दा बढी भेडाबाख्रा छन् । जलवायु परिवर्तनको असरले हिमाली खर्कमा उत्पादकत्व घट्दै गएको, सामुदायिक वन विकासले हिउँदे चरन क्षेत्र साँघुरिएको, वैदेशिक रोजगारीप्रतिको आकर्षण तथा स्वदेशमा श्रमको सम्मान नहुँदा बर्सेनि त्याज्य बन्दै गए पनि पछिल्लो समय तन्नेरी पुस्ता भेडा गोठालाका रूपमा रमाउन थालेका छन् । परम्परागत रूपमा भेडा पाल्न सजिलो नहुने बुझेका यी तन्नेरी यसलाई व्यवसाय बनाउन भने खोजिरहेका छन् ।

पाल्ने शैलीका आधारमा भेडालाई खोरपाला र वनपालाका रूपमा छुट्याइन्छ । खोरपाला भेडा दिनभर वनजंगलमा लगेर चराइन्छ । साँझ घरकै खोरमा ल्याएर थुनिन्छ । म्याग्दीका माथिल्लो भेगका गाउँमा खोरपाला भेडा पाल्ने चलन छ । उन्नत जातका खोरपाला भेडालाई बँधुवा शैलीमा खोरमै दानापानी र घाँस दिएर पनि पाल्न सकिन्छ । वनपाला भेडा भने फिरन्ते शैलीमा पालिन्छ । घाम, झरीबादल, हुरीबतास, असिनापानी र हिउँपात तथा हिउँद–बर्खा सबै बेला, सबै सिजन खुला आकाशमुनि चरन खर्क डुलाउँदै पालिन्छ ।

‘धेरै पढिनँ । ८ पासपछि विवाह गरें अनि पढाइ छोडें । धेरै वर्ष वैदेशिक रोजगारको गोलचक्कर मारेपछि ४ वर्षअघि घर फर्केर भेडा पाल्न थालें । घरका ७० वटामा २ सय वनपाला भेडा थपेर भेडीगोठ थालेको छु,’ दुर्गा छन्त्यालले भने, ‘भेडा पाल्न र गोठको बसाइ कष्टकर भए पनि आम्दानी राम्रो छ ।’ छन्त्यालले दुई गोठाला राखेका छन् । उनीहरूलाई खान, लाउन दिएर वार्षिक १/१ लाख रुपैयाँ र प्रतिव्यक्ति २० वटा बस्यौली (माउ र पाठा) भेडा दिन्छन् । छन्त्यालले भने, ‘पढलेखा नभएपछि संसारमा जहाँ गए पनि पैसाका लागि गर्ने दुःख नै हो । भेडा भए ग्राहक गोठमै आउँछन् । यसैमा सन्तुष्ट छु ।’

वनपाखा र हिमाली क्षेत्रमा चर्ने भए पनि भेडा आफ्नै विवेकले बाटो हिँड्दैनन् । भेडालाई बाटो देखाउन गोठमा ८–१० वटा ‘सिनाल’ जातका बाख्रा पनि पालिन्छ । सिनाल उच्च हिमाली क्षेत्रमा बाँच्न सक्ने जातका बाख्रा हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार म्याग्दीमा म्याङलुङ र बरुवाल गरी २ जातका भेडा पालिन्छ । हिउँदमा बेंसी झार्ने र गर्मी मौसममा हिमालमुनिका फराकिला चरन क्षेत्रमा पुर्‍याइन्छ ।

केन्द्रका अनुसार जिल्लाका १ सय ९३ जनाले परम्परागत तरिकाले खोरपाला र वनपाला गरी १९ हजार ३ सय रैथाने भेडा पालेका छन् । अन्नपूर्ण गाउँपालिकाको शिख, नारच्याङ, दाना, दोवा, रघुगंगा गाउँपालिकाको बेगखोला, भगवती, चिमखोला, कुइने–मंगले र धवलागिरि गाउँपालिकाका मल्कवाङ, मुदी, मुना, लुलाङ र गुर्जा बस्ती भेडापालन पकेट क्षेत्र हुन् । केन्द्रले २० वटाभन्दा बढी भेडा पाल्नेलाई व्यावसायिक मानेको छ । भेडासँगै मिलाएर खुला तरिकाले पालिएका ८ हजार बाख्रा पनि छन् ।

‘परम्परागत फिरन्ते भेडापालन व्यवसायलाई व्यवस्थापन गर्न पशु सेवा विभागअन्तर्गत केन्द्रीय भेडाबाख्रा प्रवर्द्धन कार्यक्रम र चरनखर्क नीति २०६८ व्यवहारमा लागू भएको छैन । तर गोठ सुधार, रोगव्याधि नियन्त्रण र पेसा प्रवर्द्धनमा काम गरिरहेका छौं,’ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका नायब पशु सेवा प्राविधिक गणेश रिजालले भने, ‘अझै स्थानीय सरकारसँग सहकार्य गरी स्वजातीय गर्भाधान रोक्ने, चरन क्षेत्र व्यवस्थापन गर्ने र युवालाई प्रेरित गर्ने कार्यक्रम आवश्यक छ । केन्द्रले अनुदानका कार्यक्रम पनि गर्दै छ ।’

गाउँघरमा हुने भूमे पूजा, बराह पूजा, कुल पूजामा बलि दिन भेडाको गोठबाटै खोसाखोस हुन्छ । यस्ता पूजामा भेडाको ‘थुमा’ बलि दिने चलनले भेडापालन पेसालाई टिकाएको हो । भूमे पूजामा भेडा र बाख्रा दुवैको बोकाको बली दिइन्छ । छन्त्याल जातिले आफ्नो कुल पूजामा बाख्राको बोका बलि दिन्छन् भने मगर र क्षत्रीहरूले आ–आफ्नो कुल पूजामा भेडा र बाख्राको बोका बलि दिने प्रचलन छ । एक वर्षमा एउटा गोठले ५–६ लाखदेखि २५ लाख रुपैयाँसम्म भेडा–बोकाको बिक्री गर्छन् । ‘गाउँघर र डाँडापाखाका देवीदेउता पुज्ने चलन हुन्थेन भने सायद यस्ता भेडीगोठ पहिल्यै मासिन्थे होला । यहाँका देवीदेवता आस्था र विश्वास मात्र होइनन्, हाम्रा परिवार पाल्ने माध्यम पनि भएका छन्,’ पाउद्वारका लालवीर तिलिजाले भने ।

खर्क तथा चरन व्यवस्थापन नीति नहुँदा भेडालाई चरन समस्या हुन थालेको छ । जलवायु परिवर्तनसँगै बढेको तापक्रमको प्रभावले बेंसीमा मात्र देखिने खोरेत, निमोनिया, पीपीआरजस्ता रोग हिमाली क्षेत्रमा पनि देखिन थालेको छ ।

‘खोप्रा, नौलोवन र खयरखोला चरन क्षेत्रका पाँच वटा भेडी गोठबाट मात्र यो वर्ष ७०–८० वटा भेडा चितुवा र स्यालले खायो । ८ वटा त चौंरीका बाच्छाबाच्छी खायो,’ नौलोवनका भेडा गोठाला कमल पाइजाले भने, ‘मैले मात्र यो वर्ष चितुवाले भेडाबाख्रा खाएकाले चार लाख रुपैयाँभन्दा बढी घाटा पर्‍यो । एक्यापको नियमले गर्दा फिरन्ते भेडा गोठ असुरक्षित भए ।’ ५० वर्षदेखि निरन्तर भेडा गोठ पाल्दै आएका ७२ वर्षीय लालवीर तिलिजाले भने, ‘सामुदायिक वनमा चराउन पाइन्न भन्छन् । कहाँ चराउने त ?’

प्रकाशित : आश्विन ६, २०७९ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्

पहिलोपटक मतदानमा सहभागी हुँदै

कान्तिपुर संवाददाता

म्याग्दी — म्याग्दीको अति दुर्गम धवलागिरि गाउँपालिका–४ मुदीको बगरा र सिमकोसका अधिकांश मतदाता पहिलो पटक मतदानमा सहभागी हुँदैछन् । मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको आमनिर्वाचनका लागि स्थानीय कैलाश आधारभूत विद्यालयमा छुट्टै मतदान केन्द्र तोकिएपछि दुवै गाउँवासीले पहिलो पटक मतदानमा भाग लिन पाउने भएका हुन् ।

यसअघि दुवै ठाउँका मतदाता कम्तीमा ६/७ घण्टा हिँडेर एक दिन बास बसेर धवलागिरि–४ मुदीस्थित बुद्धिविकास माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्थे । मतदानस्थल टाढा भएकाले वृद्धवृद्धा, अशक्त, सुत्केरी, गर्भवतीहरू मतदानको अधिकारबाट वञ्चित हुँदै आएका थिए । सिमकोस र बगरा धौलागिरि हिमशृंखला पदमार्गको अन्तिम बस्ती हो ।

बगराको कैलाश आधारभूत विद्यालय मतदान केन्द्रमा ७४ महिला तथा ८३ पुरुष समेत १ सय ५७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बगराका कम्तीमा एक सय मतदाताले पहिलो पटक मतदानमा भाग लिनेछन् ।

‘गाउँमै मतदान केन्द्र तोकिएपछि जनप्रतिनिधि चुन्न अर्काको पिँढीमा बास माग्न जानुपर्ने दिनको अन्त्य भएको खबरले खुसी छौं । अब यहाँका पाका, गोठ बस्नुपर्ने र शारीरिक अशक्त मतदाताले जीवनमै पहिलो पटक मतदान गर्नेछन्,’ बगराका मतदाता हरि तिलिजाले भने, ‘आजसम्म हामी राजनीतिमा चासो राख्ने र युवा कम्तीमा १२ घण्टा हिँडेर मतदान केन्द्रमा पुग्थ्यौं । जहाँ वृद्धवृद्धा र अपांगले मतदान गर्न मतदान केन्द्र पुग्न सम्भव थिएन ।’

फोटोसहितको नामावली संकलन गर्न कर्मचारी नपुगेपछि ०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा मतदानबाट वन्चित भएका बगराबासी ०७४ सालको स्थानीय तह निर्वाचनपछि मात्र निर्वाचन प्रणालीमा जोडिएका हुन । ०७४ मा निर्वाचन कार्यालयको टोली पुगेर बगरावासीलाई फोटोसहितको मतदाता नामावलीमा थपेका हुन् । जिल्ला निर्वाचन कार्यालयले आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि धवलागिरि–४ बगरासमेत जिल्लाका ८ स्थानमा नयाँ मतदान केन्द्र थप गरेको छ । मतदातालाई हिँडेर नजिकको मतदान स्थान (केन्द्र) पुग्न कम्तीमा २ घण्टा लाग्ने स्थानमा जिल्लाको सर्वदलिय सहमतिमा थप मतदान केन्द्र तोकिएको हो ।

निर्वाचन कार्यालयका अनुसार बगरास्थित कैलाश आधारभूत विद्यालय, वडा ७ स्थित किसानी चन्द्रकुन्ता मावि धारापानी, मंगला गाउँपालिका–१ पूर्णगाउँस्थित जनजागृति मावि, वडा ५ को सिर्कुममा नयाँ मतदान केन्द्र तोकिएको छ । त्यस्तै रघुगंगा–२ खरौटास्थित राममन्दिर सामुदायिक स्वास्थ्य केन्द्र तथा सोही गापा–३ को पातेल्नस्थित हिमालय आविमा र अन्नपूर्ण–६ को पोखरेबगर आवि र वडा ८ को काफलडाँडा आधारभूत विद्यालयमा नयाँ मतदान केन्द्र थप भएका हुन् ।

‘सबै मतदातालाई सहज र सुरक्षित रूपमा मतदानस्थल पुग्न र मत खसाल्ने वातावरण बनाउन मतदातालाई सकेसम्म पायक पर्ने गरी मतदान केन्द्र थप गरेका छौं,’ जिल्ला निर्वाचन अधिकृत भीमप्रसाद घिमिरेले भने, ‘हिँडाइ असुविधाकै कारण कोही पनि मतदाता मतदानबाट वञ्चित हुने छैनन् । अब सबै मतदाता आधा घण्टादेखि ४० मिनेटमा मतदान केन्द्र पुग्न सक्ने विश्वास छ ।’

आसन्न आम निर्वाचनमा एकमात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीका ४४ हजार ६४ महिलासहित ८६ हजार १ सय २० मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । यीमध्ये ७ सय ४५ मतदाता गत स्थानीय निर्वाचनपछि थपिएका मतदाता हुन् । निर्वाचन आयोगको तथ्यांकअनुसार प्रदेश निर्वाचन क्षेत्र क–मा ४८ हजार ४ सय ७२ र प्रदेश ख निर्वाचन क्षेत्रमा ३७ हजार ६ सय ४५ जना मतदाता छन् ।

प्रकाशित : आश्विन ६, २०७९ ०८:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×