कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

हिलो र खाल्टाखुल्टीले मध्यपहाडी लोकमार्गमा सास्ती

प्रकाश बराल

बागलुङ — मध्यपहाडी लोकमार्गको बागलुङ घोषबाँधे खण्डमा हिलाम्मे सडकका कारण जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । समयमा गन्तव्यमा नपुग्ने समस्या एकातर्फ छ भने खाल्डा हिलो र चिप्लो सडकले जोखिम थप बढाएको छ । बागलुङ बजारदेखि बिहुँसम्मको २० किमि सडकखण्डको अवस्था उस्तै जोखिमपूर्ण छ । 

हिलो र खाल्टाखुल्टीले मध्यपहाडी लोकमार्गमा सास्ती

राजधानीदेखि बागलुङ हुँदै पूर्वी र पश्चिम रुकुमसम्मका सवारी पटक-पटक सडकमै फस्दा यात्रुले सास्ती खेपेका हुन् । ‘समयमा गन्तव्यमा पुग्नै सकिएन; गाडी फसेपछि दुई दिनको बाटो पनि तीन दिन लाग्यो’ रुकुमपूर्वका रामबहादुर बुढामगरले भने, ‘दूरी छोटो भनेर मध्यपहाडीको बाटो रोजियो तर दु:ख पाइयो ।’ सडकमा चिया खाने ठाउँसमेत नपाएको यात्रुको गुनासो छ । एक कोसा केराको ३५ रुपैयाँसम्म तिरेर खानु परेको यात्रुहरूले गुनासो गरे । वर्षात्‌मा काम परेर हिँड्दा सधैं जोखिम र सास्ती बेहोर्नुपरेको भन्दै उनीहरूले सडकमा आक्रोशसमेत पोखिरहेका थिए ।

अघिल्लो दिन दिउँसो काठमाडौंबाट छुटेका बस भोलिपल्ट बेलुकी रुकुमको चौरजहारी पुग्ने गरेकोमा लगातार परेको झरी र लोकमार्गको सास्तीले गर्दा तेस्रो दिनमा मात्रै गन्तव्यमा पुग्न सकिएको चालकहरूले बताए । लामो दूरीबाहेक सदरमुकामदेखि गलकोट हुँदै बुर्तिवाङ जाने यात्रुले पनि यो सडकमा दु:ख पाएका छन् । ‘हिलाम्मे सडकमा गाडी जोतिन्छ; न पानीको निकास छ न नाली छ’ चालक ज्योति नेपालीले भने, ‘राष्ट्रिय गौरवको राजमार्गमा दोहोरो गाडी आउँदा साइडसमेत पुग्दैन ।’ उनले ४५ किमि पार गरेर गलकोट पुग्न ५ घण्टा लागेको बताए ।

गलकोट र पश्चिम बागलुङबासी दैनिक रुपमा यस्तो सास्ती बेहर्न बाध्य छन् । ‘समयमा कहिले सदरमुकाम पुग्न सकिँदैन । सानो काम परे पनि उतै बास बस्नुपर्छ’ गलकोट नगरपालिका-७ का थमनबहादुर थापाले भने, ‘कुनैबेला बिहान हिँडेर कार्यालयको काम पनि नभ्याएर उतै बस्न बाध्य छौं ।’ बाटो देखेर यात्रा गर्न डर लाग्ने उनले बताए ।

लोकमार्गको ठेक्का लगाएको दशक बितेपनि यहाँका दुई खण्डमा अहिलेसम्म सडक बनेको छैन । ठेकेदारहरुले पटक-पटक म्याद थपेर काम अलपत्र पारे पनि लोकमार्ग आयोजना कार्यालयले अहिलेसम्म यस विषयमा पहल गरेको छैन । बरु ठेकेदारको पक्षमा कार्यालयका कर्मचारी वकालत गर्न पछि पर्दैनन् । ‘धेरै वर्षात् भएकाले काम गर्न अप्ठ्यारो भएको हो; अब पानी रोकिएपछि गएर हेर्छौं‚’ लोकमार्ग आयोजना कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले भने, ‘केही गुनासो आएको छ तर म पनि पोखरातिर छु; हेर्न पाएको छैन ।’ केही खण्डमा सडक अप्ठ्यारो भएको गुनासो आएको उनले बताए ।

प्रकाशित : आश्विन ५, २०७९ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?