पहिरोले कुलो बगेपछि ढोरपाटन १० दिनदेखि विद्युत्‌विहीन- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले कुलो बगेपछि ढोरपाटन १० दिनदेखि विद्युत्‌विहीन

प्रकाश बराल

बाग्लुङ — अबिरल वर्षातपछि खसेको पहरोले ढोरपाटन नगरपालिका–७ मा विद्युत्‌को कुलो बगाएको छ । कुलो बग्दा यहाँको भुजीखोला लघु जलविद्युत् आयोजनाको कुलो बगाएको हो ।

१ सय किलोवाट क्षमताको विद्युत्‌को कुलो बग्दा वडा नंं ७ का ३ सय ५० घरले बिजुली बाल्न पाएका छैनन् । अन्धकारमा बस्नु पर्दा उनीहरुको दैनिकी कष्टकर भएको स्थानीयले गुनासो गरे । ‘बिजुली नभएपछि बालबालिकाले पढ्न लेख्न पाएका छैनन्, गृहकार्य दिएपनि बिहान बेलुकी अँध्यारो हुँदा त्यसै आएका छन्,’ ज्ञानोदय माविका प्रधानाध्यापक यामबहादुर कायतले भने, ‘मोबाइल समेत चार्ज गर्न सकिएको छैन ।’ चाडपर्वको बेला देश–विदेशमा बसेका आफन्तलाई सम्पर्क गर्न समेत नसकिएको उनले गुनासो गरे ।

ढोरपाटन नगरपालिकाको वडा नं. ५, ६, ७, ८ र ९ मा अहिले पनि राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छैन । गाउँलेकै चन्दाको भरमा दशकअघि बनेको यो लघु विद्युत्‌को भरमा स्थानीयले कुटानी पिसानी तथा विद्यालयमा कम्प्युटर कक्षा समेत चलाएका थिए । ‘भत्के/बिग्रेको काम पनि चन्दा उठाएरै गरिरहेका थियौं, अहिले त पहिरो खसेर बर्बादै बनायो,’ नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले भने, ‘चापपर्वमा बत्ती समेत नभए कसरी खुसी हुने ?’ कायतले स्थानीय युवाहरु परिचालन गरेर अस्थायी रुपमा पानी चलाउने प्रयास भएको बताए ।

भुजी खोलाको पानीबाट निकालिएको विद्युत्‌को झन्डै २० मिटर खण्ड कुलो पहिरोले बगाएको हो । बगेको पहिरो तीन सय मीटर उचाइको छ । भीरमा गएर काम गर्न समेत कठिन भएपछि स्थानीयले जस्तापाता र पाइपबाट पानी कटाएर कुलो चलाउने प्रयास गरिरहेको कायतले जानकारी दिए । दिगो व्यवस्थापनका लागि भने स्थानीयले नगरपालिकामा सहयोग मागेका छन् । वर्षात नरोकिएकोले तत्काल दिगो व्यवस्थापन गर्न नसकिने अवस्था देखिएको उनले बताए । ‘पहिरो अझै खस्ने जस्तो देखियो, त्यसैले मौसम सुख्खा भएपछि मात्रै धेरै लगानी गर्ने लक्ष राखिएको छ,’ कायतले भने, ‘अस्थायी रुपमा पानी चलाउन पनि स्थानीयको १० लाख बढी खर्च हुने भयो ।’

प्रकाशित : आश्विन ४, २०७९ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्

समानुपातिक सूची बुझाएपछि गठबन्धन दल फेरि सिट बाँडफाँटको छलफलमा

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाएपछि सत्ता गठबन्धन दलका नेताहरू पुनः प्रत्यक्षतर्फको सिट बाँडफाँटको छलफलमा जुटेका छन् । करिब एक सातापछि शीर्ष नेताहरूले सिट बाँडफाँटको विषयमा मंगलबार बिहानदेखि पुनः सहमतिको प्रयास थालेका हुन् । दलहरूले सोमबार निर्वाचन आयोगमा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाएका छन् । 

गठबन्धनको सिट बाँडफाँट नटुङ्गिँदा कांग्रेसलाई समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची तयार गर्न सकस परेको थियो । सोमबार रातिसम्म लगाएर कांग्रेसले बन्दसूची बुझाएको छ । तर, अझै पनि पार्टीभित्रको विवाद भने मिलिसकेको छैन । गठबन्धनमा सिट बाँडफाँटबारे शीर्ष नेताहरूबीच मंगलबार बिहान छलफल भएको नेकपा एकीकृत समाजवादीका नेता प्रमेश हमालले बताए । ‘बिहान शीर्ष नेताहरूबीच छलफल भयो; अब हामी कार्यदलका नेताहरू पुनः छलफलमा जुट्दै छौँ,’ उनले भने, ‘त्यसपछि फेरि शीर्ष नेताहरूसहितको बैठक छ ।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बिहानको बैठकमा नेताहरूबीच सामान्य छलफल भएको र अपराह्न ४ बजे पुनः बस्ने गरी उठेको जानकारी दिए ।

गठबन्धनमा दलहरूबीच करिब एक सय सिटमा सहमति भइसकेको छ भने बाँकी केही सिटमा एकभन्दा बढीको दाबी हुँदा तालमेलको सहमति बन्न सकेको छैन । गठबन्धनमा कांग्रेसले ८५, नेकपा माओवादी केन्द्रले ४५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले १५-१५ र राष्ट्रिय जनमोर्चाले २ सिटको आसपास सिट संख्यामा सहमति जुटाएर तालमेलको प्रयास भइरहेको छ ।

गठबन्धन दलले निर्वाचनमा तालमेल गर्ने सहमति गरेर २० साउनमै सिट बाँडफाँटका लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाएका थिए । कार्यदलमा नेपाली कांग्रेसबाट सिटौला, महामन्त्री गगनकुमार थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् ।

त्यस्तै, माओवादी कन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट नेताहरू रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

प्रकाशित : आश्विन ४, २०७९ १२:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×