३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

दोर्दी करिडोर सञ्चालनमा

लमजुङ — दोर्दी र आसपासका खोलाबाट उत्पादित विद्युत्भार बहन गर्न निर्मित १३२ केभी डबल सर्किटको ‘दोर्दी करिडोर’ राष्ट्रिय प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले दोर्दी करिडोरका लागि दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेंसीमा १३२/११ केभी सबस्टेसन निर्माण गरेको छ ।

दोर्दी करिडोर सञ्चालनमा

बीचमा दोर्दी १ जलविद्युत् आयोजनाले निर्माण गरेको साढे ३ किलोमिटर र मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रमा स्वीचयाड गर्न साढे १ किलोमिटरको सिंगल सर्किट निर्माण गरेको छ । वैकल्पिक रूपमा निर्माण भएको प्रसारण लाइनले दोर्दी करिडोरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न मद्दत पुगेको छ ।

यो प्रसारण लाइनमा १२ मेगावाटको दोर्दी १ जलविद्युत् आयोजना र ८ दशमलव ८३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजनाको विद्युत् जडान भइसकेको छ । २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् एक साताभित्र जोडिँदै छ । मध्यमर्स्याङ्दीमा यसअघि २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् जडान भइसकेको छ । १ वर्षपछि ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको विद्युत् पनि जोडिने भएको छ । माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले सबै परीक्षण सकेर विद्युत् जडानको काम बाँकी रहेको बताए । ‘अहिलेसम्म प्रसारण लाइन बनेको थिएन । हामीले आयोजना पूरा गरेर बसेका थियौं । परीक्षण भइरहेको छ । अब एक सातामा हामी विद्युत् जोड्छौं,’ उनले भने ।

दोर्दी करिडोर आयोजना प्रमुख रमेश पौडेलका अनुसार आइतबारदेखि प्रसारण लाइनमा विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको छ । ‘सबस्टेसन पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । यहाँका विद्युत्लाई हामीले राष्ट्रिय प्रसारण लाइनमा पठाउन थालेका छौं,’ उनले भने, ‘अब दोर्दी करिडोरका कुनै पनि जलविद्युत्ले उत्पादन गरेको विद्युत् हामी अब सिधै राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सक्छौं ।’ उनका अनुसार दोर्दी १ को १२ मेगावाट र चेपेनदीको ८ दशमलब ६३ मेगावाट गरी २० मेगावाट बढी विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह भइसकेको छ ।

गत वर्षको बाढीले क्षति पुर्‍याएको हिलेबजारमाथिको एउटा टावर अझै बनिसकेको छैन । ३ वटा टावर भने निर्माण भइसकेको छ । टावर निर्माण नसक्दा दोर्दी १ जलविद्युत् आयोजनाले निर्माण गरेको साढे ३ किलोमिटर सिंगल सर्किट प्रयोग गर्नुपरेको उनले बताए । ‘प्रसारण लाइन नहुँदा विद्युत् खेर जाने अवस्था थियो । अब कुनै पनि आयोजनाको बिजुली खेर जाँदैन,’ उनले भने ।

दोर्दी करिडोरले उदिपुरसम्म १० किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्नेमा थप साढे १ किलोमिटर निर्माण गरेको छ । ३३ वटा टावर निर्माण गरेकामा थप साढे १ किलोमिटर प्रसारण लाइनका लागि ४ वटा टावर थपेको छ । मर्स्याङ्दी करिडोरको २२० केभी प्रसारण लाइनअन्तर्गत उदिपुर सबस्टेसन निर्माण नसक्दा दोर्दी करिडोरका विद्युत् मध्यमर्स्याङ्दीमा लगेर जोडिएको छ । २२० केभी प्रसारण लाइनबाट मध्यमर्स्याङ्दीको १३२ केभी प्रसारण लाइनमा ‘पावर डाउन’ गर्ने कार्य दोर्दी करिडोरले गरेको छ । यसका लागि मर्स्याङ्दी करिडोरले ६ किलोमिटरको प्रसारण लाइन निर्माण गरेको छ ।

दोर्दी करिडोर सुरुमा गरेको अध्ययनअनुसार २०७३ मै सक्नुपर्ने योजना हो । तर, उक्त योजनाले २०७४ मा आएरमात्रै जग्गा अधिग्रहण गरेको थियो । २०७५ बाट निर्माण सुरु भए पनि समयमै निर्माण नसक्दा दोर्दी करिडोरका योजना अन्योलमा थिए । नेपाल विद्युत् प्राधिकरणले कुल ८५ करोडको लागत इस्टिमेट रहेको दोर्दी करिडोर प्रसारण लाइन मुडवरी एन्ड जोशी कन्स्ट्रक्सनले निर्माण गरेको हो । सबस्टेसनको काम नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेडले गरेको हो ।

प्रकाशित : आश्विन ४, २०७९ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?