‘उल्लेख्य काम गर्न सकिएन’

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशसभाको पहिलो कार्यकालका सांसदहरूले उल्लेख्य रूपमा काम गर्न नसकिएको बताएका छन् । एकापसमा आरोप–प्रत्यारोपले पनि काम गर्न नसकिएको उनीहरूको भनाइ थियो । कांग्रेसका निवर्तमान सांसद एवं संसदीय दलका प्रवक्ता प्रकाशचन्द्र दवाडीले ५ वर्षसम्म सोचेजस्तो काम गर्न नसकिएको बताए ।

‘उल्लेख्य काम गर्न सकिएन’

‘साढे ३ वर्ष प्रतिपक्षमै बसेर काम गरियो’, उनले भने, ‘सरकारमा नभएपछि सोचेअनुसार काम हुने कुरै भएन । त्यसपछिका डेढ वर्ष सरकारमा गइयो तर हामीबीचकै साथीहरू एकापसमा आरोप–प्रत्यारोप गर्न थाल्नुभयो । आपसी मनमुटाबले काममा तगारो बन्यो ।’

उनले आफ्ना अधुरा काम पूरा गर्नको लागि पुनः प्रदेशसभा सदस्यको उम्मेदवार हुने बताए । प्रदेशसभा सदस्यको ५ वर्षे (पहिलो) कार्यकाल शनिबार मध्यरातदेखि सकिएको हो । संघीयता कार्यान्वयनसँगै स्थापित भएको प्रदेश संरचना भएकाले पहिलो कार्यकाल सिकाइमै बितेको उनीहरूको भनाइ छ । भन्छन्, ‘सपना ठूलो राखिएछ त्यसैले धेरै काम अधुरा रहे ।’

आफ्नो कार्यकाल सकिएपछि अधिकांश निवर्तमान सांसद सामाजिक सञ्जाल (फेसबुक) मा स्टाटस राख्दै आफ्नो निर्वाचन क्षेत्र र मतदातालाई धन्यवाद दिएका छन् । सिकाइका बाबजुद पनि पहिलो कार्यकाल सन्तोषजनक रहेको उनीहरूको दाबी छ ।

सुरुका वर्ष कानुन निर्माणमा नै बितेको पूर्वसांसद भागवतप्रकाश मल्लले बताए । स्याङ्जा क्षेत्र नम्बर २ को ‘ख’ बाट गण्डकी प्रदेशसभामा सहभागी हुँदै गर्दा यहाँका जनताका समस्या संसद्मा बोल्न पाएको र सरकारका तर्फबाट धेरथोर मल्हम लगाउन सकिएको बताए । ‘मेरो निर्वाचन क्षेत्र जिल्लाकै पश्चिम अर्थात दुर्गम हो,’ उनले भने, ‘प्रदेशसभा हुनाले नै यहाँका जनताका आवाज छिटो सुनियो । थोरैधेरै सम्बोधन भए । तर, धेरै काम बाँकी नै छ । दुर्गम भएकाले सोचेअनुसार काम हुन सकेन ।’ उनले जनताका दुःखमा ५ वर्षसम्म नजिक बसेर काम गर्दा आफूलाई पनि जिम्मेवारी महसुस भएको बताएका छन् । प्रदेश सरकार भएकै कारण जनताले विकासमा पनि नजिकबाट नियाल्न पाएको उनीहरूको भनाइ छ । उनले भने, ‘संसद विघटन, सरकार परिवर्तन, गठबन्धनका नयाँ सरकार धेरै बुझ्ने र सिक्ने अवसर पनि पाए । तर, समय छोटो त्यसैमाथि सरकार उथलपुथलले गर्दा सोचे अनुसार काम हुन सकेन ।’ उनले देखिने गरी काम गर्न नसकिएको बताए । गठबन्धनभित्र भए पनि ठूलो दुई पार्टीका मन्त्रीको द्वन्द्वले आफूले विकास निर्माणमा राम्रोसँग अनुभव लिन नपाएको गुनासो उनको छ । ‘मन्त्रीहरूबीचको द्वन्द्व असर सांसदलाई पर्‍यो,’ उनले भने, ‘नेतृत्व तहले नबुझ्दा समस्या भएको हो ।’

समानुपातिकबाट प्रतिनिधित्व गरेकी पूर्वसांसद दीपा रोका मगरले पनि जनताले प्रदेशलाई नजिकबाट बुझ्ने अवसर पाएको बताइन् । ‘प्रदेश सरकार जनतासँग बढी ठोकियो,’ उनले भनिन, ‘म सांसद भइरहँदा पनि आफ्नो निर्वाचन क्षेत्रबाट कहिलै टाढा भइन् । यहाँका दुःख संसदमा लगेर पोखे । जतिसक्दो सम्बोधन गरेकी छु ।’

उनले समानुपातिक सांसद भइरहँदा सरकार र प्रत्यक्ष निर्वाचित सांसदबाट भने हेपिएको महसुस गरेकी छन् । सभामुख नेत्रनाथ अधिकारी ५ वर्षको अन्तरालमा आगामी पुस्ताले सम्झनलायक गरी काम गरिएको दाबी गरे । ‘ऐन कानुन निर्माण र कार्यान्वयन नै मुख्य उपलब्धि रह्यो,’ अधिकारीले भने, ‘सांसद भएको छोटो समयमा प्रदेशको नाम र राजधानी तय गर्न पनि सफल भयौं । सरकारले ल्याएका विधेयक सहमति र सर्वसम्मत पारित गरेका छौं । यही नै हाम्रा उपलब्धि हुन् ।’ उनले सरकार परिवर्तन हुँदा पर्ने असर, राष्ट्रिय राजनीतिको असरबाट पनि प्रदेश अछुतो नरहेको बताए । प्रदेशसभाको बैठकबाट पारित भएका विधेयकमध्ये जनप्रतिनिधिको सेवासुविधाको विधेयकबाटै सर्वोच्च अदालतबाट खारेज भए पनि अन्य विधेयक समय सापेक्ष र जनताको माग अनुसार आएको उनले बताएका छन् ।

प्रकाशित : आश्विन ४, २०७९ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?