कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

डेंगी संक्रमित बढेका बढ्यै

तनहुँमा महिना दिनमै ८८ जनामा डेंगी
पूर्वी नवलपरासीमा परीक्षण कीट अभाव

तनहुँ‚ नवलपुर — भदौभर तनहुँमा ८८ जनामा डेंगी देखिएको छ । गतवर्ष ८ जनामा मात्र डेंगी संक्रमण देखिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय अनुसार दमौली अस्पतालमा ३, शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ७८ र बन्दिपुर अस्पतालमा ७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

डेंगी संक्रमित बढेका बढ्यै

ज्वरो आएका बिरामीमा परीक्षण गर्दा डेंगी संक्रमण देखिएको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठले बताए । उनका अनुसार केन्द्रबाट भदौमा २ सय १८ जनाको डेंगी परीक्षण गरिएकामा ७८ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २७ जना उपचारपश्चात् निको भएर घर फर्किएका छन् । केन्द्रका अनुसार संक्रमण हुनेमा १० देखि ६० वर्षका छन् । ‘केन्द्रमा ओपिडी सेवा लिन आएका बिरामीमा डेंगी संक्रमण देखिएको हो’, उनले भने, ‘सामान्य अवस्थामा रहेकालाई औषधि दिएर घरमै आराम गर्न भनि पठाइयो र जोखिम भएकालाई केन्द्रमै भर्ना गरी उपचारपछि घर पठाएका छौं ।’

बन्दीपुर अस्पतामा ७ जनामा डेंगी संक्रमण देखिएकामा ४ जना निको भएका छन् भने दमौली अस्पतालमा ३ जनामा संक्रमण देखिएकोमा १ जना निको भएका छन् । विशेष गरी ज्वरो आएर अस्पताल पुगेका बिरामीमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । उनले भने, ‘ज्वरो आएपछि एक दुई दिन सिटामोल खाएर निको नभएपछि अस्पताल आउने र परीक्षण गर्न डेंगी पुष्टि भएको छ । संक्रमितमा टाउको दुख्ने, शरीर गल्नेजस्ता समस्या देखिएका छन् ।’ डेंगी एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्छ । ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने, शरीर दुख्ने/गल्ने, आँखाको गेडी दुख्ने आदि डेंगीका लक्षण हुन् । डेंगीबाट सुरक्षित रहन राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरको झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, पानी जम्न नदिने, पूरा बाहुला भएको लुगा लगाउनेजस्ता सावधानी अपनाउनुपर्ने प्रमुख अधिकारीले बताए ।

जिल्ला अस्पतालमै छैन परीक्षण कीट

पूर्वी नवलपरासीमा डेंगी परीक्षण गर्ने कीट अभाव भएको छ । मध्यबिन्दु जिल्ला अस्पताल र अन्य सरकारी स्वास्थ्य संस्थामा कीट नहुँदा बिरामी चितवन र निजी अस्पतालमा जान बाध्य छन् । ‘बिरामीको चाप बढेपछि स्टकमा रहेको कीट सकिएको छ । प्रदेशमा पनि पर्याप्त नभएकाले आउन ढिलाइ भएको होला,’ मध्यबिन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले भने, ‘छिट्टै कीट ल्याउन लागिपरेका छौं ।’

कावासोती–१५ की लक्ष्मी पाण्डेले लक्षण डेंगीको जस्तै देखिए पनि कीट अभावमा परीक्षण गर्न नपाएको गुनासो गरिन् । टाउको दुख्ने र ज्वरो आउने भएपछि उनी आइतबार मध्यबिन्दु अस्पताल पुगेकी थिइन् । चिकित्सकले डेंगी परीक्षण गर्न भने पनि प्रयोगशालामा कीट थिएन । चिकित्सकले सिफारिस गरेको ज्वरोको औषधि मात्र लिएर उनी घर फर्किइन् । ‘तत्काल भरतपुर जान सम्भव नभएपछि ज्वरोको औषधि खाएर बसेकी छु,’ उनले भनिन्, ‘जिल्लाकै ठूलो सरकारी अस्पतालमा अहिलेको मुख्य रोगको परीक्षण नै हुन नसक्नु विडम्बना हो ।’ कीटको अभावमा जिल्ला अस्पतालबाट दैनिक २०/२५ जना बिरामी डेंगी परीक्षणका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता छ । स्वास्थ्य संस्थामा दैनिक ५० जना ज्वरोका बिरामी आउने गरेकामा १० जनालाई डेंगीसँग मिल्दो लक्षण देखिने चिकित्सकहरू बताउँछन् ।

दुई सातामा ११ जनामा डेंगी

म्याग्दी– बेनी अस्पतालमा पछिल्लो दुई साताको अवधिमा ११ जनामा डेंगी संक्रमण भेटिएको छ । सन् २०२२ सम्म फेला परेका १३ डेंगी संक्रमितमध्ये सेप्टेम्बर १ देखि १५ तारिखमा मात्रै ११ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितमध्ये ८ जना सदरमुकाम बेनीका हुन् । डेंगी संक्रमणको जोखिम बढेपछि स्वास्थ्य कार्यालयले डेंगी संक्रमण गराउने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान थालेको छ । लामखुट्टेको लार्भा हुर्कने उपयुक्त वातावरण मिल्ने भएकाले असार–असोज डेंगी संक्रमणको सिजन हो । ‘सेप्टेम्बरको पहिलो १५ दिनमै डेंगीका बिरामी ह्वात्तै बढेपछि संक्रमण रोक्न स्थानीय तहसँगको सहकार्यमा विद्यार्थीसमेत परिचालन गरी ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान थालेका छौं,’ स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले भने, ‘सदरमुकाम बेनीबाहेक तातोपानी, पोखरेबगर, तिप्ल्याङ, सिंगा तातोपानी, बाबियाचौर, दरबाङसमेतका पालिका मुकाम र बजार क्षेत्रमा पनि लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान भइरहेको छ ।’

प्रकाशित : आश्विन ३, २०७९ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?