पर्वतमा पुलले ल्याएको परिवर्तन

अग्ला पहाडै पहाडले घेरिएको जिल्लामा उचाइमा बनाइएका झोलुंगे पुलका कारण गाउँदेखि सदरमुकामको दूरी छोट्टिएको हो
अगन्धर तिवारी

पर्वत — ज्ञादीको डिलबाट कुश्मा जोड्ने ३ सय ४४ मिटर लामो पुल बनेपछि स्थानीयको जीवनमा नसोचेको परिवर्तन नै ल्याइदियो । ज्ञादीको डिलबाट मोदीबेनी झरेर कुश्मासम्म उकालो बाटो चढ्न करिब डेढ घण्टा लाग्थ्यो ।

पर्वतमा पुलले ल्याएको परिवर्तन

पुलले उक्त यात्रा ४ मिनेटमै छोट्याएपछि कटुवा र आसपासका सयौं परिवारको आर्थिक, शैक्षिक, सामाजिक जीवनमा चामत्कारिक परिवर्तन आएको छ । ज्याला मजदुरी गर्ने परिवारले एउटा गाई पालेर दूध बिक्री गर्न थाले । विद्यालय टाढा भएर बिचैमा पढाइ छोड्ने विद्यार्थी बिहानै सदरमुकाममा पढेर खाना खान घरमै फर्किन सक्ने भए ।

उक्त पुल बनाउने अवधारणा २०५८ तिर कुश्मा–१२ का सूर्यप्रकाश पौडेलले ल्याउँदा धेरैले पत्याएनन् । ‘३ सय ३५ मिटर लामो, १ सय ४४ मिटर उचाइमा पुल बन्छ भन्दा कसैले पत्याएनन्,’ पौडेल सम्झन्छन्, ‘जान्ने बुझ्नेले नै खिल्ली उडाएपछि कसैलाई नभनी आफ्नो ढंगले लागें । करिब ७ वर्ष खटेपछि सपना पूरा भयो ।’ २०६६ फागुनमा कुश्मा–ज्ञादी पुल बनेपछि मोदी र कालीगण्डकीले अँगालो मारेको कुश्मालाई वरपरका गाउँ जोड्न आकाशे पुल बनाउने बाटो खुल्यो । लगत्तै मुडिकुवावासी, बागलुङको बलेवालगायत स्थानीयले आकाशे पुल बनाउन कस्सिए । २०७१ मा बलेवा जोड्ने ३ सय ४७ लामो र १ सय ५१ मिटर अग्लो तथा ०७३ मा मुडिकुवा जोड्ने ३ सय ५९ मिटर लामो र १ सय ५७ मिटर उचाइको पुल बन्यो ।

त्यति मात्रै होइन, कुश्माकै खरेहा र ज्ञादीको अधिकारीफाँट जोड्न मोदीखोलामा ३ सय ५६ मिटर लामो तथा कुश्मा–१ पाङको अदुवाबारीबाट बागलुङको बागलुङकालिका मन्दिर नजिकै ५ सय ६७ मिटर लामो पुल निर्माण भयो । यी झोलुंगे पुल बनेपछि बागलुङ बजार, बलेवा, मुडिकुवा र ज्ञादी क्षेत्रका सर्वसाधारणको जनजीविकामा एकाएक परिवर्तन आएको छ । ‘जीविकापार्जनका लागि धेरै संघर्ष गरें,’ मुडिकुवाका विदुर लामिछानेले भने, ‘पुल बनेपछि जीविकोपार्जनका लागि धेरै बाटा खुलेका छन् ।’ उनले हाल घरनजिकैको बारीमा अस्थायी टहरो बनाएर होटल चलाएका छन् । परिवारसँगै बस्नु, छोराछोरीलाई राम्रा विद्यालयमा पढाउन पाउनु अब उनका लागि ठूलो खुसी हो ।

लामिछानेको अहिले डेढ दर्जन दुधालु गाईभैंसी छन् । उनले दैनिक एक सयदेखि डेढ सय लिटर दूध सदरमुकाममा बिक्री गर्छन् । ‘झम्के साँझ परेपछि दूध लिएर कुश्मा जान्छु,’ उनले भने, ‘टर्च बालेर एक घण्टामा घरमै फर्किन्छु ।’ पुल नबन्दासम्म मोदीबेनी झरेर जंगल हुँदै उकालो बाटो कुश्मा पुगेर फर्किन मात्रै चार घण्टा लाग्थ्यो । कटुवाका सयौं युवा अहिले पुल हुँदै दूध र तरकारी बिक्री गर्न सदरमुकाम आउँछन् । ‘पहिला धेरै दुःख गरियो,’ किसान शिवनारायण तिवारीले भने, ‘अहिले घरको सबै काम भ्याएर पनि कुश्मा आएर तरकारी बेचेर फर्किन सजिलो छ ।’ उनले तरकारीबाटै बर्सेनि ४ लाख बढी आम्दानी गर्छन् । पुल बनेपछि व्यावसायिक तरकारी खेती सुरु गरेकी विष्णुमाया अधिकारीले अहिले ६/७ लाख आम्दानी गरिसकेको बताइन् ।

पुल बनेपछि पशुपालन र तरकारी मात्रै नभएर अन्य व्यवसायबाट जीविकोपार्जन गर्नेको संख्या पनि ह्वात्तै बढेको छ । त्यससँगै ज्ञादी, मुडिकुवा, बलेवा क्षेत्रबाट उच्च शिक्षाका लागि कुश्मा अध्ययन गर्न आउने विद्यार्थी उत्तिकै छन् । बजारमा डेरा लिएर बस्नुपर्ने बाध्यता हटेपछि विद्यार्थीका परिवारमा आर्थिक भार घटेको छ । ‘एक जनालाई पढाउँदा महिनामै १०–१२ हजार खर्च हुन्थ्यो,’ फलेवास नगरपालिका–४ का थानेश्वर भुसालले भने, ‘पुल बनेपछि घरबाटै आउजाउ गर्छन् । छोराहरूको पढाइमा लाग्ने सबै खर्च बचेको छ । घरको काम पनि सघाएकै छन् ।’ बिहान क्याम्पस जाँदा झोलामा तरकारी बोकेर जाने विद्यार्थीले उल्टै आम्दानी गरेर घर फर्किने गरेको धेरै अभिभावक बताउँछन् ।

त्यति मात्रै होइन, कुश्मामा डेरा गरी बस्ने निजामती कर्मचारी, शिक्षक, बैंकरसमेत घरायसी काम सकेर कार्यालयमा आउजाउ गर्न भ्याएका छन् । फुर्सदको समयमा पशुपालन, कृषि, उद्यमलगायतबाट आम्दानीसमेत बढाएका छन् । ‘कुश्मा बस्नुपर्दा तलब जति खाँदा बस्दा ठिक्क हुन्थ्यो,’ फलेवास–३ का विष्णु लामिछानेले भने, ‘अहिले साँझबिहान घरको काम सकेर बेलैमा अफिस पुगेर फर्किन्छु । भैंसी पालेर आम्दानी पनि बढाएको छु ।’ बजारमा कोठा खोजेर बस्दा हुने मासिक १५ हजारसम्म खर्च जोगिएपछि कर्मचारीको समेत आर्थिक स्तरमा सुधार आएको छ । पुलसम्म पुग्ने सडक बिस्तार र स्तरवृद्धि भएको छ । गाउँका कुनाकन्दरामा पुग्ने अटोरिक्साले घरघरैबाट दूध, तरकारीलगायत उपज र यात्रु अग्ला पुलसम्म ल्याउँछन् । चार–पाँच मिनेटमा पुल तरेपछि कुश्मातर्फ पुलको छेवैमा तैनाथ अटोरिक्साले उनीहरूलाई बजार र हरेक कार्यालयका ढोकासम्मै पुर्‍याइदिन्छन् ।

पुलले किसान, विद्यार्थी, कर्मचारीलगायतलाई मात्रै नभएर होटल व्यवसाय, कुखुरापालन, फर्निचर उद्योग, घरेलु हस्तकलाका सामाग्री उत्पादन, सिलाइ–कटाइ, होजियारी उद्योगसमेत गाउँमा फस्टाएका छन् । पुल हेर्नकै लागि देश–विदेशबाट आउने पर्यटकको लर्को लाग्छ । विद्यार्थी, संघसंस्था, कर्मचारी तथा विदेशीसमेत गरी दैनिक एक हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । पुल बनेपछि कुश्मा र आसपासमा ५० भन्दा बढी साना र दर्जनजति सुविधा सम्पन्न होटल तथा रिसोर्ट खुलेका छन् । पुलको अवलोकन गर्न हरेक दिनजसो ठूला बसदेखि जिपको लर्को लाग्छ । मुक्तिनाथको प्रवेशद्वार र प्रदेश तथा पर्यटकीय राजधानी पोखराको नजिक भएकाले पनि पोखरा र मुक्तिनाथ आउने पर्यटक यहाँका पुल हेर्न छुटाउँदैनन् । त्यति मात्रै होइन, पर्वतमा २ वर्षअघि सञ्चालन भएको बन्जी र गतवर्षदेखि सञ्चालनमा आएको जिप लाइनका कारण पनि आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन बढिरहेको छ ।

पर्वतको कुश्मा र आसपासमा निर्मित आधा दर्जन बढी पुल मुलुककै अग्ला र लामा हुन् । बागलुङको रामरेखादेखि पर्वतको पाङ जोड्ने ५६७ मिटर लम्बाइको पुललाई सिंगल स्पानको एसियाकै लामो दाबी गरिएको छ । फलेवास–६ देवीस्थान र फलेवास–१० कुर्घा जोड्न २०७१ मा बनेको २७८ मिटर लामो पुलले दुई गाउँवासीलाई ठूलो राहत मिलेको छ । पुलमा मोटरसाइकलसमेत वारपार गर्न सकिने भएपछि आउजाउ गर्न निकै सहज छ । सुरुमा कुश्मा–ज्ञादी पुलको चर्चा बढी भए पनि हाल रामरेखा–पाङ, कुश्मा–बलेवा र कुश्मा–मुडिकुवा, फलेवास–कुर्घा पुलले थप आकर्षण बढाएका छन् । मोदीखोला, कालीगण्डकी किनार र माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिसहितका हिमालको रमणीय दृश्यावलोकन एकैसाथ गर्न पाइने यहाँको थप आकर्षण हो । यहाँ आउने पर्यटक कम्तीमा एक दिनको बसाइ कुश्मा आसपासमा गर्छन् । जसका कारण यहाँका होटल व्यवसायीको आम्दानी र स्तरमा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षयता पर्वतमा होटल व्यवसायमा लगानी पनि बढेको छ ।

अग्ला झोलुंगे पुल, कुश्मा–बलेवा केबलकार, कुश्मा–बलेवा बन्जी जम्प, कुश्मा आसपासका गुप्तेश्वर र अलपेश्वर गुफा, मोदीवेणीधामको दर्शन गर्न आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुन थालेको छ । व्यवसायी नेत्र पराजुलीले भूगोल सुहाउँदो व्यवसायमा लगानी गरेर सम्भावना खोज्न सके कुश्मा आउने पर्यटकलाई ३ दिनको प्याकेज बिक्री गर्न सकिने बताउँछन् । ‘यहाँका सम्भावनालाई प्रचार गर्न सकिएकै छैनौं,’ उनले भने, ‘यहाँका पूर्वाधारको मात्रै राम्रो प्रचार गर्न सके दैनिक लाखौंको सेवा बेच्न सकिन्छ ।’ केही वर्ष पहिलासम्म मुक्तिनाथ जाने, पोखरा आउने पर्यटकले कुश्मा नपसी फर्किने गरेकोमा अग्ला पुलकै कारण यहाँ पर्यटकको चाप बढेको स्थानीय अगुवा बताउँछन् । पछिल्लो ५ वर्षमा कुश्माको पर्यटकीय व्यवसायमा मात्रै करिव दुई अर्ब बढी लगानी थपिएको छ । सुविधासम्पन्न होटल, लज, रिसोर्टलगायतमा लगानी बढेको छ ।

कीर्तिमानी पुल थपिने क्रम बढ्दो

अग्ला र लामा पुलको कीर्तिमान बनाएको पर्वतमा उस्तै प्रकृतिका अन्य पुल पनि थपिने चरणमा छन् । कुश्माकै चाक्लेको डिलबाट बलेवा जोड्ने मोटरेबल पुल चर्चामा छ । कुश्मा–ज्ञादी मोटरेबल पुल निर्माणका लागि पनि सरोकारवालाले सर्भे थालनी गरिसकेका छन् । कुश्माका नगरप्रमुख रामचन्द्र जोशीले कुश्मा–ज्ञादी मोटरेबल पुल निर्माण गर्न सके कुश्माको बजार अहिलेको तुलनामा दसौं गुणा बढी विस्तार हुन सज्ञक्ने बताए । कुश्माकै बडागाउँस्थित लभ्लीडाँडादेखि बाग्लुङ नगरपालिका–१४ नारायणस्थानस्थित कुकुरगाढेमा अर्को पुल बन्न लागेको हो । करिब ५ सय २५ मिटर लम्बाइ र २ सय मिटर उचाइमा निर्माण हुने पुलको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभागले सर्वेक्षण गरेको छ । कुश्माको ३ स्थानमा सर्वेक्षण गरिएकोमा उपयुक्त स्थानमा पुलको स्टमेट गरिने सर्वेक्षणमा खटिएका इन्जिनियर हेमराज शर्माले बताए । ‘तीनवटै स्थानबाट ५ सय मिटरभन्दा धेरै लम्बाइ देखिएको छ,’ उनले भने, ‘उपयुक्त लोकेसन छनोट गरेर डिजाइन दिन्छौं ।’ उनले कुश्माका विभिन्न स्थानमध्ये लभ्लीडाँडास्थित माउन्टेन भ्यु होटल साइडको क्षेत्र उपयुक्त हुन सक्ने प्राविधिकले बताएका छन् ।

पुराना पुल र ऐतिहासिक क्षेत्र ओझेलमा

अग्ला पुलले सुविधा बढाएसँगै यी स्थानमा पुस्तौं पहिला निर्मित पुल र त्यहाँका धार्मिक तथा ऐतिहासिक संरचना भने ओझेलमा परेका छन् । मोदीवेणीमा करिब डेढ सय वर्षअघि निर्माण गरिएको लठ्ठेपुल जीर्ण बनेको छ । दैनिक तीन/चार ओटासम्म शवको अन्त्येष्टिका लागि कालीगण्डकी किनारसम्म मलामी आउजाउ गर्ने पुल जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको छ । त्यस्तै मोदीवेणीकै ऐतिहासिक नृसिंह मन्दिरमा समेत भक्तजनको आउजाउ घटेको मोदीवेणीधाम व्यवस्थापन समितिका अध्यक्ष केशवदास बैरागी बताउँछन् ।

‘पहिला यो बाटो नहिँडी सुखै थिएन, आउजाउ गर्दा मन्दिरमा पस्थे । यस क्षेत्रको महत्त्व बुझेर फर्किन्थे,’ उनले भने, ‘अहिले पुलले बाटो छोटियो । मन्दिरको दर्शन गर्न मात्रै यहाँसम्म दुःख किन गर्थे ।’ पुलको सहजताकै कारण मोदी र कालीगण्डकी किनारका सयौं रोपनी जग्गामा खेतीबालीसमेत हुन छोडेको उनले बताए । मोदीवेणीकै शिव मन्दिर, मोदीवेणी बजार, झाप्रेबगरको बजार, कालीगण्डकी किनारको कल्लेरी बजारलगायत अस्तित्व लोप भइसकेको छ ।

प्रकाशित : आश्विन ३, २०७९ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?