कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

पल शाहविरुद्ध मुद्दाको पेसी दोस्रो पटक पनि स्थगित

सम्झना रसाइली

तनहुँ — नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा थुनामा परेका पल (पूर्णविक्रम) शाहको पेसी दोस्रोपटक स्थगित भएको छ । जिल्ला अदालत तनहुँमा आइतबारका लागि पेसी तोकिएकोमा न्यायाधीश अनुपस्थित भएपछि पेसी स्थागित भएको अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले बताए । 

पल शाहविरुद्ध मुद्दाको पेसी दोस्रो पटक पनि स्थगित

उनका अनुसार आइतबार बिहान गोलाप्रथा गर्दा शाहको मुद्दाको सुनुवाइ पहिलो नम्बरमा परेको थियो । उनले भने, ‘पहिलो नम्बरका न्यायाधीश हरिश्चन्द्र ढुंगाना काठमाडौंमा भएकाले सुनुवाइ स्थगित भएको हो । अर्को पेसीको मिति बेलुकासम्म आउँछ ।’

गत भदौ १५ गतेका लागि तोकिएको पेसी पनि स्थगित भएको थियो । गोलाप्रथा गर्दा न्यायाधीश दलबहादुर केसीको नाम परेको र केसी बिदामा रहेकाले स्थगित गरी आज (असोज २) गतेका लागि पेसी दिइएको थियो ।

जिल्ला अदालतमा दुई जनामात्रै न्यायाधीश छन् । न्यायाधीश ढुंगाना भने शुक्रबारदेखि बिदामा छन् । एक जना न्यायाधीश काजमा आउने भनिए पनि हालसम्म उपस्थित नभएको सूचना अधिकारी गौतमले बताए । उनले भने, ‘कार्यरतमध्ये जो कोही बिदामा रहे पनि दुवैको नाम लेखेर गोलाप्रथा गर्नै पर्ने हुन्छ । बिदामा बस्नुभएको न्यायाधीशको नाम आए सुनुवाइ स्थगित गरिन्छ ।’

यस्तै, सोही प्रकृतिको मुद्दामा गत भदौ २१ गते नवलपुर जिल्ला अदालतले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय र १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । शाहलाई जिल्ला अदालत तनहुँले गत चैत १० गते पुर्पक्षका लागि कारागार चलान गरेको हो । उनी अहिले जिल्ला कारागार तनहुँमा छन् ।

प्रकाशित : आश्विन २, २०७९ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?