कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

पोखराको वन क्याम्पसले पायो ‘क्यूएए’

दीपक परियार

पोखरा — विश्वविद्यालय अनुदान आयोगले पोखराको वन विज्ञान अध्ययन संस्थानलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्रदान गरेको छ । पोखरा क्याम्पसले गुणस्तर मूल्यांकनका सबै चरण सफलतापूर्वक पूरा गरेपछि भदौ २६ मा क्यूएए प्राप्त गरेको हो । 

पोखराको वन क्याम्पसले पायो ‘क्यूएए’

उच्च शिक्षामा कृषि तथा वनतर्फ क्यूएए पाउने पोखराको वन क्याम्पस नेपालकै पहिलो हो । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमा हाल स्नातक (बीएससी फरेस्ट्री) र स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा ५ सय ४८ विद्यार्थी अध्ययनरत छन् । स्नातकोत्तर तहमा वन, सामुदायिक वन, प्राकृतिक स्रोत व्यवस्थापन तथा ग्रामीण विकास र जलाधार व्यवस्थापन कार्यक्रम सञ्चालनमा रहेका छन् ।

क्याम्पसले बिहीबार एक कार्यक्रम गरी क्यूएए प्रमाणपत्र पाएको खुसी साटेको छ । कार्यक्रममा क्याम्पस प्रमुख विनोदप्रसाद हेयजुले लामो प्रयासपछि क्यूएए प्रमाणपत्र पाएकोमा खुसी व्यक्त गरे । उनका अनुसार सन् २०१६ देखि क्यूएएको यात्रा सुरु गरे पनि गति लिन सकेको थिएन । पुन: २०१८ मा क्यूएएको प्रक्रियामा प्रवेश गर्‍यो । प्रक्रियामा गएको चार वर्षपछि क्याम्पसले क्यूएए पाएको हो । ‘शिक्षक, कर्मचारी, विद्यार्थी सबैले आ-आफ्नो ठाउँबाट काम गरेकाले क्यूएए पाउन सफल भयौं,’ उनले भने, ‘अब यसको दिगोपन कायम राख्ने चुनौती छ ।’

सहप्राध्यापक अर्जुनप्रसाद बास्तोलाले स्थापनाको ४१ वर्षमा क्यूएए पाउनु महत्त्वपूर्ण उपलब्धी भएको बताए । उनले भने, ‘अनुसन्धान कौशल, व्यावहारिक ज्ञान, सीप र आचरणको विकासले एक्काइसौं शताब्दीको प्राविधिक शिक्षाको सार्थकतालाई पुष्टि गर्ने भएकाले यसको सम्बोधनतर्फ आगामी कार्ययोजना केन्द्रित गर्नुपर्छ ।’

देशभरका १ हजार ४ सयभन्दा बढी उच्च शिक्षा प्रदायक शैक्षिक संस्थामध्ये हालसम्म ७४ वटाले क्यूएए प्रमाणपत्र पाएका छन् । भदौ २६ मा थपिएका चारमध्ये वन क्याम्पस बाहेक पोखराकै नर्सिङ क्याम्पस, विराटनगर नर्सिङ क्याम्पस र कन्काइ बहुमुखी सामुदायिक क्याम्पस छन् ।

वन, प्राकृतिक स्रोत व्यवस्थापन एवं जैविक विविधता सम्बन्धी विषयमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले ०३८ असोज ६ मा वन क्याम्पस स्थापना भएको हो । क्याम्पसमा शिक्षणतर्फ ४४ शिक्षक र प्रशासनिकतर्फ ४२ कर्मचारी कार्यरत छन् ।

वनसँग सम्बन्धित प्राविधिक जनशक्ति उत्पादनमा यस क्याम्पसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । क्याम्पसले स्थापनाकालदेखि प्राज्ञिक एवं अनुसन्धानका लागि स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूबीच सञ्जाल विस्तार र सहकार्य गर्दै आएको छ ।

क्याम्पसमा विद्यार्थीको उत्तीर्ण दर प्रतिवर्ष ९० प्रतिशत भन्दा माथि छ । प्रारम्भिक समयमा वन शिक्षामा शून्य अवस्थामा रहेको महिला विद्यार्थीको सहभागिता वृद्धि भई हाल ४५ प्रतिशत पुगेको छ । वन विज्ञानबाट उच्च शिक्षा प्राप्त जनशक्ति संघ, प्रदेश र स्थानीय तहमा वन, वातावरण, वन्यजन्तु, जलाधार, स्थानीय विकासजस्ता क्षेत्रमा दक्ष प्राविधिकदेखि नीति निर्माण तहजस्तो उच्च तहमा कार्यरत छन् । यसबाहेक गैरसरकारी संस्था, स्वरोजगार र विकसित देशका विभिन्न विश्वविद्यालयमा अध्ययन, अध्यापन तथा अनुसन्धानमा संलग्न छन् ।

पोखरा-१५ स्थित हरियोखर्कमा वन क्षेत्रसहित १ हजार ५ सय ७० रोपनी क्षेत्रफलमा फैलिएको यो आवासीय क्याम्पस हो । क्याम्पसभित्र विद्यार्थीको बसोबासका लागि १० वटा छात्रावास, शिक्षक तथा कर्मचारीका लागि एकल र सामूहिक गरी ३८ आवास छन् । यसै वर्ष पुनर्निर्माण प्राधिकरणमार्फत १५ करोड रुपैयाँको लागतमा दुईवटा महिला छात्रावास र स्नातकोत्तर तहको एक शैक्षिक भवन निर्माण हुँदैछ । निर्माण कार्यका लागि परामर्शदाता छनोट भई गुरुयोजनासहित आवश्यक सर्भेको काम पूरा भइसकेको छ ।

पाहुनाको आवास सुविधाका लागि अतिथिगृह छन् । खाना र खाजाका लागि क्याम्पसभित्रै चमेनागृह सञ्चालित छ । डिप बोरिङ प्रविधिमार्फत भूमिगत पानीलाई प्रशोधन गरी पिउने व्यवस्था गरिएको छ । शैक्षिक तथा प्रशासनिक प्रयोजनका लागि शैक्षिक, प्रशासनिक, पुस्तकालय, प्रयोगशाला, वन पैदावार संग्रहालय छन् । सभाहल, विभागीय भवन, विद्युत्, पानी, सवारी साधन पार्किङस्थल खेलमैदान छन् । क्याम्पसले वन अनुसन्धान नर्सरीमा डिभिजन वन कार्यालय कास्कीलगायत संस्थासँगको सहकार्यमा वार्षिक रुपमा विभिन्न प्रजातिका बिरुवा उत्पादन गरी नि:शुल्क वितरण गर्छ । विद्यार्थीहरुलाई वनसम्बन्धी अनुसन्धान तथा प्रयोगात्मक अभ्यासका लागि क्याम्पस परिसरदेखि कास्कीका विभिन्न ठाउँ र अन्य जिल्लामा अनुसन्धान स्थल स्थापना गरिएको छ ।

क्याम्पसले वन तथा प्राकृतिक स्रोत व्यवस्थापन क्षेत्रका बदलिँदा सवालको सम्बोधन गर्न अनुसन्धानमा आधारित शिक्षणलाई महत्त्व दिन्छ । प्राज्ञिक एवं अनुसन्धानात्मक क्रियाकलापहरूको सुधारका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारबीच सञ्जाल विस्तार गर्दै आएको छ ।

बुधबार मात्रै क्याम्पसको अनुसन्धान समितिमार्फत इसिमोडबाट ३० हजार डलरको अनुसन्धान अनुदान प्राप्त गरेको छ । सन् २०२२–२०२५ को उक्त कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको बाँझो जमिन तथा कृषि वनको उपयुक्तताको बारेमा अध्ययन अनुसन्धान गरिनेछ ।

प्रकाशित : भाद्र ३०, २०७९ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?