तीन महिनादेखि सडकमा सास्ती

प्रकाश बराल

बागलुङ — गत असारमा खसेको पहिरोले बन्द भएको बागलुङको मालढुंगादेखि कुश्मीसेरा जाने सडक भदौ पहिलो सातामा अस्थायी रुपमा तीन दिन खुल्यो ।

तीन महिनादेखि सडकमा सास्ती

भदौ ७ गतेको वर्षात्‌ले गर्दा सडक फेरि अवरुद्ध भयो । त्यसपछि अझैिसम्म कहिले खुल्ने भन्नेबारे निश्चित छैन । गलुवा भन्ने स्थानमा खसेको पहिरोले गर्दा चार वर्षअघि कालोपत्रे गरिएको यो सडक हरेक वर्ष तीन महिनासम्म अवरुद्ध हुने गरेको छ । अघिल्लो वर्षदेखि खस्न थालेको पहिरोले गत वर्ष पनि तीन महिना सवारी चल्न सकेनन् । यो वर्ष पनि असारदेखि सञ्चालनमा आउन नसकेको यो सडक कहिले खुल्छ भन्ने अन्योल हुँदा दक्षिण बागलुङबासीले सास्ती खेपेका छन् ।

खुल्दा पनि अस्थायी ट्य्राकमा जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता छ । यहाँको पहिरोले मालढुंगा कुश्मीसेरा सडक खण्डको दुईवटा घुम्ती पूरै बगेको छ । सडक भित्ताको तारजालीसमेत बगेपछि सडकको नयाँ ट्य्राक खोल्नै सास्ती हुने भएको हो । झन्डै ५० मिटर चौडाको दुईवटा घुम्ती बग्दा पैदलयात्री पनि हिँड्न नसकी पर्वतको कुश्मादेखि घुमाउरो बाटो हिँड्न बाध्य छन् ।

पहिरोले करिडोरमा समेत जोखिम बढाएको छ । दैनिक उपभोग्य सामग्री ढुवानीदेखि बिरामी बोक्ने एम्बुलेन्स पनि हिँडाउन नसकेपछि बागलुङको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाबासीले सास्ती खेपेका हुन् । बलेवा क्षेत्रका विद्यार्थी र शिक्षकसमेत आफ्नै सवारी साधन भएर पनि पैदलै हिँड्न बाध्य छन् । ‘घरैसम्म कालोपत्रे सडक छ तर आफ्नो सवारी सदरमुकाममै छाडेर पैदल यात्रा गर्न बाध्य छौं‚’ बागलुङ नगरपालिका-१३ का बालकृष्ण शर्माले भने, ‘यो सास्ती कहिलेसम्म ?’ बिरामी भएकी आमालाई बोकाएर अस्पताल लाने ल्याउने गर्न बाध्य भएको उनले गुनासो गरे ।

यो सडकको विकल्पको रुपमा रहेको कालीगण्डकी करिडोरसमेत पटक पटक अवरुद्ध भैरहेको छ । पानी पर्दा निरन्तर ढुंगा खस्ने समस्याले करिडोरको बाटो सवारी चल्न सकेका छैनन् । गलुवादेखि नेपानेतर्फको भीरमा निरन्तर ढुंगा खस्ने समस्या हुँदा विकल्पको बाटो पनि प्रयोग गर्न नसकिएको बागलुङ नगरपालिका- १४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताए ।

तीन वर्षअघि गलुवादेखि भकुण्डे जाने नयाँ ट्रयाक खोल्ने क्रममा खसेको पहिरो अहिले बस्ती र सयौं रोपनी खेतसमेत बगाएको छ । यहाँका चार घर विस्थापित भैसकेका छन् भने कतिपय घरगोठ जोखिममा छन् ।

गत वर्ष दसैँमा पनि बागलुङ नगरपालिकाले २० लाख रुपैयाँ खर्चेर सडकको ट्य्राक खोलेको थियो । उक्त ट्य्राकमा हिउँदमा समेत जोखिम थियो । ‘पानी पर्नासाथ पहिरो खस्छ, सडक त बँच्दै बँच्दैन‚’ स्थानीय उमाकान्त रिजालले भने, ‘घर जाने छोटो बाटो छाडेर घुमाउरो हिँडेका छौं ।’

लाखौं खर्चेर पनि सडक बनाउन कठिन हुने उनले बताए । बागलुङ नगरपालिकाले दसैँका लागि सडकको अस्थायी ट्य्राक खोल्ने पहल गरेको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए । ‘जनताले चाडपर्वमा घर जान पाउनुपर्छ भनेर केही खर्चेर अस्थायी ट्य्राक बनाउन खोजेका छौं‚’ सापकोटाले भने, ‘त्यसका लागि पनि ५ लाख खर्च होला ।’

स्थायी संरचना बनाउनुपरेमा करोडौं खर्च लाग्ने उनले बताए । पहिरो संरक्षणका लागि भने बिरुवा रोप्ने काम नगरपालिकाले गर्ने भन्दै उनले यो पहिरो पन्छाएर सडक सडक सञ्चालन गर्ने जिम्मा सडक डिभिजनको भएको बताए ।

प्रकाशित : भाद्र ३०, २०७९ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?