२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सुकुम्बासीलाई ‘सेतो पुर्जा’

पुर्जा वितरण गर्नु चुनावी आकर्षण नभएको बताउँदै नगरप्रमुखले पुर्जा पाउनु अधिकारको कुरा भएको बताए
प्रतीक्षा काफ्ले

कास्की — बुधबार सभागृह पोखरामा भेटिएकी भूमिहीन सुकुम्बासी पोखरा–७ घारीपाटनकी अञ्जु शेर्पा जग्गाधनीको पुर्जा नभएपछि सरकारी सेवासुविधा (विद्युत्, टेलिफोन, खानेपानी) सुविधाबाट पनि वञ्चित भएको गुनासो गर्छिन् । राष्ट्रिय भूमि आयोग कास्कीले उनलाई बुधबार सेतो पुर्जा (अस्थायी निस्सा) दिएको छ । सेतो पुर्जापछि अब केही प्रक्रिया पुर्‍याएर उनले रातो पुर्जा पाउने छिन् । 

सुकुम्बासीलाई ‘सेतो पुर्जा’

अञ्जु पुर्जा पाउनुमा भन्दा पनि छोराछोरी विदेश जाने बाटो खुलेको भन्दै हर्षित भइन् । ‘अब त पुर्जा बैंकमा राखेर पनि ऋण पाइन्छ,’ उनले भनिन्, ‘अब मेरा छोराछोरी पनि विदेश जाने भए ।’ अवका दिनमा सरकारी सेवासुविधाबाट पनि वञ्चित हुनु नपर्नेमा खुसी भइन् । सोही ठाउँकी छत्रमाया सुनुवार पनि सेतो पुर्जा पाएपछि खुसी देखिन्थिइन् । उनको परिवार २०४२ सालदेखि नै सरकारी जग्गामा बस्दै आएको थियो ।

६५ वर्षीया भुजामति पुन पहिलो पटक जग्गा धनी हुन पाएकोमा हर्षित देखिन्थिइन् । ‘खुसीले मन गद्गद् भइरहेको छ, खुलेर हाँस्न पनि दाँत छैनन्,’ पुन भन्छिन्, ‘सधैंका सुकुम्बासी हुन्छौं कि भन्ने लाग्थ्यो, आज अस्थायी निस्सा पाउँदा पनि धेरै खुसी लागेको छ । अब रातो पुर्जा पनि पाइन्छ भन्नेमा ढुक्क छु ।’ उनले पोखरा–७ प्रगतिमार्ग जहाँ बस्दै आएकी छन् त्यहीको सेतो पुर्जा पाएकी हुन् ।

पोखरा–७ कै अशोक मल्लले आफू जस्तै अन्य सुकुम्बासीले पनि छिट्टै पुर्जा पाए ढुक्क हुने बताए । मल्लले ३४ वर्षदेखि सरकारी जग्गामा बसोबास गर्दै आएको बताए । पोखरा महानगर र राष्ट्रिय भूमि आयोगले बुधबार औपचारिक कार्यक्रम सुरु गरेर भूमिहीन दलित र भूमिहीन सुकुम्बासी २ सय जनालाई सेतो पुर्जा वितरण गरेको थियो । मिस्त्री आइतबहादुर राईले पनि ६० वर्षपछि लालपुर्जा पाएको बताए । पोखरा–३ नदीपुरकी बत्तु परियार पनि लालपुर्जा पाउँदा मख्ख छिन् ।

‘घर रिनमा थियो’ बत्तुले भनिन्, ‘साहुले कहिले लखेट्छन् भन्ने मात्र पीर । अब त ढुक्क लागेको छ ।’ पोखरा महानगरपालिकामा १९ हजार ८ सय ५६ जना सुकुम्बासीले निवेदन दिएको मेयर धनराज आचार्यले बताए । बुधबारसम्म महानगरमा ७ हजार २ सय १७ वटा निवेदन कम्प्युटरमा इन्ट्री भएको मेयर आचार्यले बताएका छन् ।

नजिकिँदै गरेको निर्वाचनका कारण आचारसंहिता लागू भएपछि वितरण गर्न नपाइने बताउँदै नगरप्रमुख आचार्यले बुधबार औपचारिक कार्यक्रमबाट सुरु गरेपछि प्रत्येक दिन प्रत्येक वडाबाटै सेतो पुर्जा बाँडिने बताए । भने, ‘सुकुम्बासी समाधान आयोग गठन भए पनि दिन सकेन । अहिले राष्ट्रिय भूमि आयोगले फिल्डमै सुकुम्बासी पहिचान गरेको छ । आयोगले पालिकालाई दिएको निर्देशनअनुसार हामीले पनि काम गर्‍यौं ।’ उनले अहिले बसोबास गरेकै ठाउँको पुर्जा दिइने बताए । ‘सरकारले जोखिम पहिचान गरेका ठाउँ रहेछन् भने अन्यत्रै व्यवस्थापन गर्नेछौं,’ उनले भने ।

सुकुम्बासी बस्तीमा बिजुली, खानेपानीको पनि छिट्टै व्यवस्थापन गर्ने महानगरले जनाएको छ । निर्वाचनको मुखमा पुर्जा वितरण गर्नु भनेको चुनावी आकर्षण नभएको बताउँदै प्रमुख आचार्यले पुर्जा अधिकारको कुरा भएकाले जहिले पनि लिन सकिने बताए । महानगरका अनुसार ३३ वटै वडाका १९ हजार ८ सय ५६ जनाले नै पुर्जा पाउनेछन् । राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोखरेलले सेतो पुर्जापछि बाँकी प्रक्रिया पूरा गरेर रातो पुर्जा दिने बताए ।

‘हामी रातो पुर्जा पनि छिट्टै दिन्छौं,’ उनले भने, ‘रातो पुर्जा पाउने आधार नै सेतो पुर्जा हो । ७ या १५ दिने सूचना प्रकाशन गरेर जमिन प्रमाणीकरण गर्छौं । नापी कार्यालयबाट नाँपजाँच हुन्छ, अनि रातो पुर्जा दिन्छौ ।’ उनले सेतो पुर्जा आयोगमा सवै विवरण राखेर प्रमाणित गरेपछि मात्र दिएकाले सुकुम्बासीलाई सुरक्षित रूपमा राख्न आग्रह गरे ।

भूमि आयोगका सदस्य एवं नापी कार्यालय कास्कीका प्रमुख दिनेश काफ्लेले भूमिसम्बन्धी ऐन २०२१ अनुसार गठन भएको राष्ट्रिय भूमि आयोग आदेश २०७८ को लगत संकलन कार्यविधि २०७८ अनुसार सुकुम्बासी पहिचान गरी अस्थायी निस्सा दिएको बताए । विभिन्न पालिकामा लगत संकलन गरी राष्ट्रिय भूमि प्रणालीमा प्रविष्ट गरेपछि मात्र सेतो पुर्जा दिएको उनले बताए ।

प्रकाशित : भाद्र ३०, २०७९ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?