१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बल्ल बन्दै वडा र स्वास्थ्य चौकी

प्रकाश बराल

बागलुङ — बागलुङ नगरपालिका-७ कालीमाटीमा चालु वर्षभित्रै सक्ने गरी स्वास्थ्य कार्यालय र वडा भवन बन्ने भएको छ । दाताले जग्गा दिएपछि मात्रै वडा र स्वास्थ्य चौकी बन्न लागेको हो । 

बल्ल बन्दै वडा र स्वास्थ्य चौकी

पूर्वशिक्षक ८२ वर्षीय मेघराज पाण्डेयले ४ रोपनी जमिन दिएपछि कालीमाटीमा स्वास्थ्य चौकी भवन निर्माण सुरु भएको छ । सडकले नछोएको र पुरानो भवनमा सञ्चालित स्वास्थ्य चौकी पायक नपरेपछि नगरपालिकाले चालु वर्ष भवन बनाउन लागेको हो ।

बिरामीलाई लैजानै सास्ती हुने ठाउँको जीर्ण भवनमा स्वास्थ्य चौकी छ । यहाँ समस्यामा परेका बिरामी लैजानुपर्दा बोकाएर मात्रै पुर्‍याउन सकिन्छ । भिरालो र साँघुरो भएकाले स्ट्रेचरमा बोकाएर लैजानसमेत समस्या परेको स्थानीयले बताए ।

‘बिरामी पर्दा स्वास्थ्य चौकी पुग्नुभन्दा गाडी खोजेर सदरमुकाम कुद्न सजिलो थियो‚’ स्थानीय शारदा सापकोटाले भनिन्, ‘सडक अभावले बिरामीले दु:ख पाएका थिए ।’ पुरानो भवनमा उपकरण समेत नहुँदा सेवा बढाउनसमेत नसकिएको स्वास्थ्यचौकीका प्रमुख महेन्द्र शर्माले बताए ।

आगामी २०८० को जेठसम्ममा भवन बनाइसक्नुपर्ने सम्झौता छ । जुम्ली निर्माण सेवा प्रालिले १ करोड ७० लाख ५६ हजार रुपैयाँमा भवन निर्माणको जिम्मा लिएको वडाध्यक्ष मेघनाथ गैरेले बताए ।

पुरानो भवनमा शौचालयदेखि प्रशासनिक र उपचार सेवा दिनसमेत अप्ठ्यारो थियो । नयाँ बन्ने भवनमा स्वास्थ्यकर्मीको आवाससहित शौचालय, खानेपानी र आकस्मिक सेवा समेतको व्यवस्था हुनेछ । ‘सडकबाट बिरामी बोकेर ल्याउनै कठिन स्थानमा भवन छ; त्यसैले धेरै सास्ती थियो‚’ स्वास्थ्य चौकीका प्रमुख महेन्द्र शर्माले भने, ‘नयाँ भवन बनेपछि जनताले दु:ख पाउन पर्दैन ।’

केही समयमा वडा र स्वास्थ्य चौकी भवन निर्माण कार्य पूरा भयो भने आधारभूत सेवा सहजै दिन सकिने उनले बताए । गत साता एकीकृत घुम्ती शिविर सञ्चालन गर्दा भवन अभावमा विद्यालय बन्द गरेर सेवा दिनु परेको थियो । यो वडा कार्यालय सदरमुकामदेखि ८ किमि पश्चिममा पर्छ ।

प्रकाशित : भाद्र २९, २०७९ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?