कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

टुक्रे बजेटले काम गर्नै गाह्रो

प्रकाश बराल

बागलुङ — व्यक्तिका नाममा खुलेका दर्जनौं संस्थालाई लाखौं रकम विनियोजन गरेको बागलुङ नगरपालिकाले पर्यटन प्रवर्द्धनमा भने टुक्रे बजेट दिएको छ । पर्यटन शीर्षकमा दर्जनबढी कार्यक्रम राखे पनि टुक्रे र सानो बजेटका योजनाले काम र लक्ष्य पूरा हुन नसक्ने अवस्था देखिएको छ ।

टुक्रे बजेटले काम गर्नै गाह्रो

पर्यटन गुरुयोजना निर्माणका लागि तयारी भन्दै १ लाख रुपैयाँ मात्रै विनियोजन भएपछि यो क्षेत्रका सरोकारवालाले पर्यटनमा सुधार गर्नै नसकिने बताए । बागलुङ नगरपालिकाले १ लाख रुपैयाँमा गुरुयोजना निर्माण तयारी भन्ने शीर्षक राखेको हो । ‘गुरुयोजना बनाउन विज्ञको अन्तरक्रिया राखे पनि दुई/चार लाख खर्च हुन्छ,’ पर्यटन समिति बागलुङका सचिव अर्जुन चोखालले भने, ‘टुक्रे बजेटले केही काम बन्दैन ।’ नगरपालिकाले भने अधिकांश शीर्षकमा टुक्रे बजेट राखेको छ ।

नगरपालिकाले पर्यटन सूचना केन्द्र बनाउन चालु आर्थिक वर्षका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ । कहाँ र कहिले त्यो सूचना केन्द्र बन्छ कार्यविधि र तयारी छैन ।

होमस्टे प्रवर्द्धनको नाममा भएको मात्र २ लाख बजेटले के गर्ने भन्ने भएको अतिथि सत्कार होमस्टेका अध्यक्ष यामबहादुर थापाले बताए । ‘शीर्षक भएर के गर्नु, एउटा होमस्टेमा कार्यक्रम गरे पनि दुई/चार लाख खर्च हुन्छ,’ उनले भने, ‘के गरेर प्रवर्द्धन हुन्छ भन्ने अन्योल छ ।’

संसारकोट पदमार्गलाई ४ लाख, वडा ५ को मालिका मन्दिर व्यवस्थापनमा ३ लाख, वडा ४ को गौरीधाम मन्दिर व्यवस्थापनमा ४ लाख, शालीग्राम संग्रहालयमा १० लाख, वडा ७ को सहिद स्मृति पार्क निर्माणमा १० लाख, मालढुंगामा गेट मर्मतमा १० लाख, कालीगण्डकी सभ्यता संरक्षण र पर्यटन प्रवर्द्धनका लागि गुरुयोजना बनाउन १ लाख बजेट छ । ‘यति सानो बजेटले के काम होला ? बरु थोरै योजनामा पर्याप्त बजेट लगाए राम्रो हुन्छ,’ कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले भने, ‘देखिने गरी काम नभए पैसा पनि बच्दैन, कामले गति पनि लिँदैन ।’ ५० लाखदेखि १ करोड बजेट खर्चेर आकर्षक पूर्वाधार बनाएमा पर्यटककै कारण असुल गर्नसमेत सकिन्छ ।’ नगरप्रमुख वसन्तकुमार श्रेष्ठले आन्तरिक आय नहुँदा साना कार्यक्रमले सम्बोधन गर्न बाध्य भएको बताए । ‘आम्दानी छैन, त्यसैले सबै क्षेत्रको सम्बोधन गर्दा टुक्रे बजेट भयो,’ श्रेष्ठले भने, ‘कतिपयलाई सानो सम्बोधनले पनि ठूलो आशा पलाउन सक्छ ।’ ऐतिहासिक हनुमान नाँच संरक्षणमा ५ लाख रकम विनियोजन गरेको उनले बताए ।

प्रकाशित : भाद्र २८, २०७९ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?