फेरि मुख्यमन्त्री बन्छु : गुरुङ

आश गुरुङ

लमजुङ — नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले फेरि मुख्यमन्त्री बन्ने चाहना रहेको बताएका छन् । मुख्यमन्त्री बनेर अपूरा काम पूरा गर्ने धोको रहेको उनले बताए ।

फेरि मुख्यमन्त्री बन्छु : गुरुङ

प्रेस चौतारी नेपाल लमजुङ र एमाले प्रचार विभागद्वारा आइतबार बेंसीसहरमा आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘अहिलेको सरकारले कुनै पनि काम गर्न सकेन । गण्डकी प्रदेशले मेरो नेतृत्व खोजेको छ । म अघि बढेको छु ।’ उनले गण्डकी प्रदेश सरकारमा करिब साढे ३ वर्षसम्म मुख्यमन्त्री भएर काम गर्दा केही काम अपूरा रहेकाले पूरा गर्नुपर्ने बताए ।

संघीय संसद्‌मा पुगेर मन्त्री बन्नुभन्दा मुख्यमन्त्री बनेर नै प्रदेशको विकास सम्भव रहेको उनले बताए । उनले मंसिर ४ गतेको निर्वाचनपछि संघ र प्रदेशमा एमाले नेतृत्वमा सरकार बन्ने दाबी गरे । ‘गण्डकीमा विगतभन्दा अहिले एमाले झन् बलियो बनेको छ । गण्डकीमा मात्रै होइन, देशभर एमाले सबैभन्दा बलियो छ । अझ एमालेमा प्रवेशको लहर नै चलेको छ,’उनले भने, ‘निर्वाचनपछि हामी संघीय र प्रदेश सरकार बनाउँछौं ।’

जनताले ५ वर्षका लागि काम गर्न म्यान्डेट दिए पनि न्यायालयको परमादेशले सत्ता टिक्न नदिएको भन्दै उनले आफ्ना योजना पूरा गर्न नपाएको बताए । ‘सुरुमा प्रदेश शुन्य थियो । कानुन, स्रोतसाधन, बजेट, भवन केही थिएन । कोभिड त्यही बेला आयो,’ उनले भने, ‘यस्तो विषम परिस्थितिमा हामीले जनतालाई प्रदेश सरकार रहेको अनुभूति गरायौं । यो नै ठूलो उपलब्धि थियो ।’ उनका अनुसार अहिले सरकार भए/नभएको अनुभूति जनतालाई छैन । ‘जनतालाई सरकार भएको अनुभूति दिलाउन पनि म नै मुख्यमन्त्री बन्नुपर्ने अवस्था देखिएको छ,’ उनले भने ।

‘मेरो कार्यकालमा आवधिक योजना बनाएका छौं । ५/१०/२५ वर्षमा के–के काम गर्ने भनेर योजना बनाएका छौं । यो योजना दक्षिण एसियामै उत्कृष्ट छ,’ उनले भने, ‘सबै योजना सफल बन्न र बनाउन प्रदेश सरकारले मेरो नेतृत्व खोजेको छ, जनताले एमाले सरकार खोजेको छ ।’ उनका अनुसार प्रदेशका सबै पालिका केन्द्रसम्म हिउँद-बर्खा मोटर चल्ने सडक निर्माण थालेकोमा अहिले अलपत्र अवस्थामा छन् । ‘मैले नै उज्यालो प्रदेश र एक घर एक धाराको अवधारणा ल्याएको हुँ । म नभएपछि केही अघि बढेको छैन,’ उनले भने ।

उनले सबै पालिकामा अस्पताल, गण्डकी विश्वविद्यालय, कृषि उत्पादनमा जोड, ताल संरक्षण, सिँचाई, युवालाई सीपमूलक साथै रोजगार, छोरीलाई प्राविधिक शिक्षा, सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार, घरवासलगायत कार्यक्रम अझै पूरा गर्न बाँकी रहेको बताए । ‘हामीले समृद्ध प्रदेश बनाउन आवश्यक सबै योजना बनाएका छौं । अहिलेको सरकार बनेको योजनामा टेकेर अघि बढ्नुभन्दा कार्यकर्ता पक्षपोषण गर्ने, बजेटलाई बालुवामा पानी हालेजस्तो बनाउने, दीर्घकालीन नीति नलिने, लिइएको नीतिमा काम नगर्ने देखियो,’ उनले भने ।

प्रकाशित : भाद्र २६, २०७९ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?