१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

धमाधम मर्दै याक र चौंरी

तीन चरन क्षेत्रमा गरी हालसम्म ३० वटा मरे, ४२ वटा बिरामी, भ्यागुते रोग भएको पुष्टि, खोप कार्यक्रम अघि बढाइने
आश गुरुङ

लमजुङ — मनाङको माथिल्लो क्षेत्र मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित प्रिप्चे चरन क्षेत्रमा कान्छा गुरुङले पालेकामध्ये ७ वटा चौंरी एकैसाथ मरे । यो साउन तेस्रो साताको घटना हो । सोनाम छिरिङ घलेको गोठ पनि यस्तै घटना घट्यो । समुद्री सतहदेखि ४ हजार ३ सय मिटर उचाइमा छ यो चरन क्षेत्र ।

धमाधम मर्दै याक र चौंरी

यहाँ पालिएका याक र चौंरीमा धेरै र्‍याल काढ्ने, खान मन नगर्ने, घाँटी सुन्निने, श्वास फेर्न गाह्रो भएर कराउने आदि लक्षण देखिएको छ । पशु प्राविधिकलाई बोलाएर परीक्षण गराउँदा १०६ डिग्री सेल्सियससम्मको ज्वरो आएको पाइएको कान्छाले सुनाए ।

मनाङ ङिस्याङ–२ घ्यारुस्थित ४ हजार ६ सय ५० मिटरमा रहेको लेक घ्योरकङ क्षेत्रमा पेम्वाडिन्जी गुरुङले पालेकामध्ये ३ वटा याक र ३ वटा चौंरी मरे । साउन तेस्रो साता घ्यारुका मात्रै नभएर वडा–३ ङावलका झ्याम्पा गुरुङ, ओङ्गेल लामालगायतले पालेका याकचौंरी पनि मरेका थिए ।

यही समयमा मनाङ ङिस्याङ–५ भ्राकामा पर्ने ४ हजार ५ सय मिटर उचाइमा रहेको आइसलेकमा सेते विकले पालेका ३ वटा चौंरी र एउटा याक मरे । सोनाम र सम्डु छिरिङका गोठमा पनि याकचौंरी मरेका थिए । यहाँका याक र चौंरीमा खुट्टा र याकको अण्डकोष सुन्निनेबाहेक अन्य सबै लक्षण उस्तै थिए । एउटा याक वा चौंरी मरेमा किसानलाई ५० हजारदेखि डेढ लाख रुपैयाँसम्मको क्षति पुग्छ ।

धमाधम याक र चौंरी मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख पशु चिकित्सक नारायण कुसुमसहितको टोली लेकका चरन क्षेत्रमा खटिएको थियो । उनका अनुसार परीक्षणका लागि बिरामी याक र चौंरीको नोजल स्वाब, रेक्टल स्वाब, रगतको नमुना ईडीटीए, सिरम स्याम्पल लिइएको थियो ।

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–५, भ्राकाको आइसलेकमा बिरामी चौंरी । तस्बिर : कान्तिपुर

मृत्यु भएकाबाट टिस्यु स्वाब, मुटु, फोक्सो, कलेजो, मिर्गौला र बोन म्यारोको नमुना लिइएको थियो । घ्यारु र ङावलको लेक घ्योरकङमा मात्रै १२ वटा याक र चौंरी मरेका छन् । भ्राकाको आइस लेकमा १० वटा र प्रिप्चेमा ८ वटा याक र चौंरी मरेका छन् । तीन वटा क्षेत्रमा ७ सय २२ वटा याक र चौंरी रहेकामा अहिले ४२ वटा बिरामी छन् ।

पशु प्राविधिकले विस्तृत रूपमा भेटेरिनरी इपिडिमियोलोजिकल अध्ययन सर्वेक्षण गर्दा रोग पत्ता नलागेपछि परीक्षणका लागि नमुनालाई पोखरा पठाइएको थियो । टंकी र भ्राकामा पशु चिकित्सक नारायण कुसुमका साथमा मनाङ ङिस्याङ गाउँपालिका पशु सेवा शाखा प्रमुख राजीव दाहाल खटिएका थिए । घ्यारु र ङावलमा नायब पशु सेवा प्राविधिक हरि तामाङ र भक्त रावत खटिएका थिए । ‘हामीले रोगको लक्षणअनुसार भ्यागुते भएको आशंका गर्‍यौं ।

रोगको निदानका लागि संकलन गरेको नमुना पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा पठायौं,’ उनले भने । भदौ ७ मा पहिलो पटक नमुना पठाएकोमा रोगको पुष्टि हुन नसकेपछि पुनः नमुना संकलन गरी भदौ १२ मा पोखरा पठाइएको उनले जनाए । पोखराको प्रयोगशालामा पनि रोग निदान नभएपछि हाल नमुनालाई काठमाडौंको त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइएको छ ।

‘केन्द्रीय प्रयोगशालाबाट भ्यागुते रोग भएको पुष्टि भएको छ,’ उनले भने, ‘अब याक र चौंरीको उपचारमा लाग्छौं । हामीले प्राथामिक उपचार गरेपछि अहिले रोग फैलिनबाट भने रोकिएको छ ।’ उनका अनुसार रोग फैलिएको क्षेत्रमा भ्यागुते र चरचरे रोगविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ । रिङ भ्याक्सिनेसनको रूपमा पूर्ण खोप कार्यक्रमअन्तर्गत भ्याक्सिन लगाइनेछ ।

पशु अचानक मरेमा उक्त पशु सुरक्षितसाथ गाड्नुपर्नेमा जथाभावी फालिएको र मरेको पशु गिद्धले खाएको पाइएको छ । ‘रोग फैलिन नदिन मरेको पशु सुरक्षित गाड्नुपर्ने हुन्छ । रोग फैलिएको क्षेत्रमा र बाहिर जान तथा लसपस रोक्न व्यवस्थित पशु क्वारेन्टाइन आवश्यक छ । त्यो भएको पाइएन,’ उनले भने, ‘हामीले किसानलाई सतर्क हुन सुझाव दिएका छौं ।’

प्रकाशित : भाद्र २६, २०७९ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?