कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढोरपाटनमा नेपालीले पनि बँदेल सिकार गर्न पाउने

घनश्याम खडका,

म्याग्दी — देशकै एक मात्र सिकार खेल्ने ठाउँ ढोरपाटन सिकार आरक्षमा यस वर्षदेखि नेपालीले पनि सिकार खेल्न पाउने भएका छन् । राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो सिजन (असोज–मंसिर)देखि नेपाली सिकारीलाई बँदेल सिकारमा सहभागी गराउन लागेको हो ।

ढोरपाटनमा नेपालीले पनि बँदेल सिकार गर्न पाउने

तर नेपाली सिकारीले नाउर, झारल लगायत अन्य वन्यजन्तुको भने सिकार गर्न पाउने छैनन् । ढोरपाटन सिकार आरक्षमा २०४४ सालदेखि विदेशी सिकारीले मात्र नाउर (निलभेडा) र झारल (हिमाली थार) बाहेक पुरक सिकारको रुपमा एक–एक वटा बँदेल र रतुवा तथा १० वटासम्म चराको निःशुल्क सिकार गर्दै आएका थिए ।

आरक्षभित्र पर्ने र सीमावर्ती बस्तीका बासिन्दाले बँदेलले बालीनालीमा ठूलो क्षति पुर्‍याउने र खेतबारीमा काम गर्न गएका कृषकलाई समेत आक्रमण गर्ने गरेको गुनासो आउन थालेपछि सिकार खुला गरिएको ढोरपाटन सिकार आरक्षको कार्यालयले जनाएको छ । यस्तै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने तथा राजश्वसमेत वृद्धि गर्ने उद्देश्य रहेको ढोरपाटन सिकार आरक्षको कार्यालयले जनाएको छ ।

‘आन्तरिक पर्यटक बढाउन, राजश्व वृद्धि गर्न र मध्यवर्ती क्षेत्रका कृषकको कृषिबाली संरक्षण गर्न आउने सिजनदेखि नेपाली सिकारीलाई पनि बँदेलको सिकारमा सहभागी गराउने निर्णय भएको छ । एक–दुई दिनमा सिकार खेल्न टेण्डर खुल्दैछ’ढोरपाटन सिकार आरक्षको कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कंडेलले भने, ‘यस अघि पनि राजश्व तिरेर अनुमति प्राप्त विदेशी सिकारीले तोकिएका वन्यजन्तु बाहेक सप्लीमेन्ट्रीको रुपमा एक बँदेल, एक रतुवा र १० वटा चरा मार्न पाउँथे । कसैले सप्लिमेन्ट सिकार गर्थे, कसैले गर्दैनथे । बँदेलको संख्या बढी देखिएकोले नेपाली सिकारीलाई पनि सहभागी गराउन लागेका हौं ।’

प्रमुख संरक्षण अधिकृत कंडेलका अनुसार बँदेल पाइने संख्याको आधारमा उच्च घनत्व, मध्य घनत्व र न्यून घनत्वको आधारमा छुट्टै बँदेल सिकार ब्लक बनाइएको छ । ढोरपाटन उपत्यका र म्याग्दीको गुर्जा क्षेत्र बँदेलको उच्च घनत्व क्षेत्रमा पर्छन् । धौलागिरि हिमश्रृंखलाभित्र रुकुम, म्याग्दी र बाग्लुङ तीन जिल्लामा १ हजार तीन सय २५ वर्ग किमी क्षेत्रफलमा फैलिएको क्षेत्रलाई वि सं २०४० सालमा स्थापना भएको ढोरपाटन सिकार आरक्षको एक तिहाइ भाग हिमाली चरन क्षेत्र/खर्कले ओगटेको छ । एक तिहाइ बन तथा पहाडले र बाँकी क्षेत्र मध्यवर्ती क्षेत्र हो ।

मुलुकको एक मात्र वैधानिक सिकार क्षेत्र ढोरपाटनमा नाउर, झारल सिकार खेल्न विश्वभरका नामुद सिकारी ढोरपाटनमा हरेक वर्ष आउने गर्छन् । ढोरपाटन सिकार आरक्षको मुख्य आकर्षण नाउर अर्थात नीलभेडा हो । राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण विभागले भदौ चौंथो हप्ता ढोरपाटन सिकार आरक्षमा सिकार खेल्न इच्छुक सिकारीलाई टेण्डर गराउने गर्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति लिएरु सेङ, घुस्तुङ, दोगाडी, बार्से, फागुने, सुनदह र सुर्तीवाङ ब्लकमा नाउर, झारल र बँदेलको सिकार खेल्न पाइन्छ । तर सिकारीलाई एकै स्थानमा सिकार गर्न भने निषेध गरिएको छ ।

सभ्यताको प्रारम्भकालमा मान्छेले भोक मेट्न सुरु गरेको जंगली जनावरको सिकार गर्ने संस्कृति आधुनिक विश्वमा महंगो सोखको माध्यम बनेको छ । पछिल्लो समय ढोरपाटनमा सिकार खेल्न आर्थिक रुपमा महंगो पनि मानिन्छ । कतिपय विदेशी सिकारीहरू हेलिकोप्टर चार्टर गरी ढोरपाटनमा सिकार खेल्न आइपुग्छन् ।

ढोरपाटन सिकार आरक्षका अनुसार ढोरपाटन क्षेत्रमा ३२ प्रजातिका स्तनधारी वन्यजन्तु र एक सय ३० प्रजातिका चराचुरुङगी पाइन्छ । यस्तै ८ सय ५२ नाउर, दुई सय झारल रहेको छ । ढोरपाटनमा हिउँ चितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, हिमाली कालो भालु, झुक्ने मृग, रातो पाण्डा लगायत लोपुन्मुख वन्यजन्तुको भने सिकार गर्न निषेध गरिएको छ ।

ढोरपाटन पुग्न बाग्लुङ सदरमुकामबाट बुर्तिवाङसम्म गाडीमा पुग्न सकिन्छ । बुर्तिबाङबाट एक दिनको उकालो हिँडेपछि सुन्दर ढोरपाटन बुकी पुग्न सकिन्छ । सिकार आरक्षले नजिकै क्याम्पिङ ग्राउण्डको समेत व्यवस्था गरेको छ ।

ढोरपाटन सिकार आरक्षमा असोज–कात्तिक र चैत–वैशाख गरी दुई सिजनमा सिकार गर्न सकिन्छ । अनुमति प्राप्त सिकारीले राति सिकार खेल्न, बच्चा र पोथी प्रजातिका वन्यजन्तुको सिकार गर्न पाउने छैनन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को दफा ७ को (क), (ख) र (ग) मा उल्लेख भए अनुसारका हतियार खजनाको मात्र प्रयोग गर्न पाइन्छ ।

प्रकाशित : भाद्र २५, २०७९ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?