१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बढ्यो चुनावी सरगर्मी

हेभिवेट नेतादेखि गुन्डा नाइके ‘चक्रे मिलन’ सम्मको चर्चा
हेभिवेट नेता देखाएर क्षेत्र दाबी गर्दै गठबन्धन
प्रदेश ब्युरो

पोखरा — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चुनावी सरगर्मी सुरु भएको छ । राजनीतिक दलले निर्वाचनमा दुवै सभामा उम्मेदवार छनोट प्रक्रिया चलाइरहेका छन । उम्मेदवारमा हेभिवेट नेतादेखि गुन्डा नाइकेसम्मको चर्चा छ । 

बढ्यो चुनावी सरगर्मी

२ प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको गोरखामा उम्मेदवार छनोटको प्रक्रिया सुरु भइसकेको छ । नेपाली कांग्रेसले दुवै सभामा आकांक्षीको नाम प्रदेश समितिमा सिफारिस गरिसकेको छ । नेकपा एमाले र माओवादी केन्द्रले पनि आकांक्षीको प्रारम्भिक सूची तयार पारेका छन् । राप्रपा, राप्रपा नेपाल, जनता समाजवादी पार्टी (जसपा) लगायत दलले पनि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा गोरखामा हेभिवेट नेता पुष्पकमल दाहाल, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठदेखि गुन्डा नाइके मिलन गुरुङ (चक्रे) सम्म उम्मेदवार बन्ने चर्चा सुरु भएको छ । गोरखा क्षेत्र नम्बर १ मा कांग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठसहित ९ जनाले प्रत्यक्षतर्फ र समानुपातिकतर्फ ५ जनाले आकांक्षा राखेका छन् । यसैगरी क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ कांग्रेस केन्द्रीय सुरेन्द्रराज पाण्डेको मात्र आवेदन परेको छ । जिल्ला समितिले रायसहित क्षेत्रीय समितिमा आकांक्षीहरूको नाम सिफारिस गरेको कांग्रेस सभापति नन्दप्रसाद न्यौपानेले बताए ।

गोरखा–२ बाट प्रतिनिधिसभा निर्वाचन लड्न हेभिवेट नेताले आकांक्षा जनाएका छन् । नेपाल समाजवादी पार्टी (नेसपा) बाट क्षेत्र २ मा उम्मेदवारका लागि बाबुराम भट्टराईको मात्र नाम समावेश छ । क्षेत्र १ मा भने यानप्रसाद भट्ट र रुपनारायण श्रेष्ठले आकांक्षा राखेका छन् । चुनावी तालमेलको तयारीमा रहेको मुख्य दुई शक्ति कांग्रेस र माओवादीमध्ये क्षेत्र नम्बर २ मा कसको पल्ला भारी होला भनेर चासोका साथ हेरिएको छ । भट्टराईले माओवादी केन्द्रको चुनाव चिह्नबाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।

एमालेबाट भने क्षेत्र २ मा ‘गुन्डा नाइके’ ले चिनिएका विवादास्पद छवि भएका मिलन गुरुङ (चक्रे) सहित ३ जनाको नाम प्रस्ताव गरिएको छ । निर्वाचन समन्वय कमिटीको बैठकमा गुरुङले उम्मेदवार बन्ने आकांक्षा राखेका थिए । गुरुङसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमालले क्षेत्र २ बाट उम्मेदवारका लागि इच्छा जाहेर गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङले बताए । त्यस्तै गोरखा क्षेत्र नम्बर १ मा रामशरण बस्नेत र आरसी लामिछानेको नाम क्षेत्रीय निर्वाचन समन्वय कमिटीको बैठकले सिफारिस गरेको छ । चारवटै प्रदेशसभाका आकांक्षीको नाम संकलन भएको एमालेले जनाएको छ ।

माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ क्षेत्र १ बाट उम्मेदवारीका लागि पार्टी अध्यक्ष पुष्कमल दाहाल, केन्द्रीय सदस्य हरिराज अधिकारी र सुशीला सिम्खडाको नाम प्रस्ताव गरेको छ । २०७४ को निर्वाचनमा यो क्षेत्रबाट अधिकारी विजयी बनेका थिए । जिल्लाको प्रस्ताव भने प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पुगेर अन्तिम निर्णय हुने माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखबहादुर थापा बताउँछन् । यसअघि पनि केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारीसहितको टोलीले दाहाललाई भेटेर चुनाव लड्न औपचारिक प्रस्ताव गरेका थिए । दाहालले भने चितवन–३ बाटै चुनाव लड्ने बताउँदै आएका छन् । त्यस्तै गोरखाको निर्वाचन क्षेत्र नम्बर २ मा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, केन्द्रीय सचिव हितराज पाण्डे, केन्द्रीय सदस्य चूडामणि खड्का र लेखनाथ न्यौपानेको नाम प्रस्ताव गरिएको थापाले जानकारी दिए ।

पार्टीहरूले नाम टुंग्याए

प्रमुख प्रतिपक्षी दल एमाललेले एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनमा हरिकृष्ण श्रेष्ठलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । लामो समय जिल्ला अध्यक्ष सम्हालेका र दुईपटक पार्टीभित्र आकांक्षी बनेका श्रेष्ठको उम्मेदवार बनाउन जिल्ला कमिटीले माथिल्लो निकायलाई सिफारिस गरेको हो । एमालेबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ पूर्वराज्यमन्त्री नरदेवी पुन र द्वन्द्वपीडित तथा अपांगता कोटाबाट केपी अधिकारीको नाम सिफारिस गरेको छ ।

कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा जिल्ला सभापति खमबहादुर गर्वुजा, पूर्वसभापति रेशम बानियाँ, उपसभापति केबी भण्डारी र नेत्रबहादुर महतको नाम सिफारिस गरेको छ । गर्वुजा र महत देउवा र बानियाँ र भण्डारी रामचन्द्र खेमाका हुन् । माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्य उम्मेदवारका आकांक्षीको नाम सर्वसम्मत गर्न नसकेपछि जिल्ला इन्चार्ज गोविन्द पौडेल, जिल्ला संयोजक रेशम जुग्जाली, विनोद केसी र चन्द्रबहादुर घिमिरेको नाम सिफारिस गरेको छ । नेकपा एकीकृत समाजवादीले गोविन्द सुवेदी र याम श्रेष्ठलाई उम्मेदवार बनाउने गरी दुई जनाको नाम सिफारिस गरेको छ । प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा प्रत्यक्षतर्फ एमालेले जिल्ला अध्यक्ष देवेन्द्र केसीसहित ११ जना र ‘ख’ मा ६ जनाको नाम सिफारिस गरेको एमाले जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले बताए । कांग्रेसले प्रदेश निर्वाचन क्षेत्र ‘क’ प्रत्यक्षतर्फ ४ जना र ‘ख’ मा एक मात्र नाम सिफारिस गरेको छ । माओवादी केन्द्रले प्रदेश ‘क’ र खमा ५/५ जनाको नाम पठाएको छ ।

‘हेभिवेट’ नेता देखाएर क्षेत्र दाबी गर्दै गठबन्धन

बागलुङमा ‘हेभिवेट’ का उम्मेदवार देखाएर दलहरूले आफ्ना लागि क्षेत्र सुरक्षित बनाउन खोजेका छन् । गठबन्धन दलबीच कसले प्रतिनिधिसभा सदस्य पद पाउने भन्ने होड चलिरहेको बेला उनीहरूले हेभिवेट नेता देखाएर प्रचार गर्ने र आफ्नो पक्षमा पार्ने दाउ गरेका हुन् ।

गठबन्धन दलभित्र यो होडबाजी चलेको हो । गठबन्धनमध्ये बागलुङमा कांग्रेस, राष्ट्रिय जनमोर्चा, माओवादी र नेकपा एसले संघ र प्रदेश क्षेत्रको उम्मेदवार दाबी गर्दै आएका छन् । कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई क्षेत्र २ बाट पहिलो नम्बरमा उम्मेदवार सिफारिस गरेको छ । प्रत्यक्षतर्फ १० जना उम्मेदवार आकांक्षी छन् । कांग्रेस क्षेत्रीय सभापति जोकलाल बुढाले सबैको नाम सिफारिस गरिएको बताए ।

राजमोले अध्यक्ष चित्रबहादुर केसीलाई बागलुङ क्षेत्र १ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि २०५४ र २०६४ प्रत्यक्ष र २०७० मा समानुपातिक सांसद बनेका केसी फेरि उम्मेदवार बन्न खोजेका हुन् ।

राजमोले पनि केसीलाई अगाडि सार्दा बागलुङ क्षेत्र १ सुरक्षित हुने दाउ रोजेको टिप्पणी भएको छ । केसी अगाडि सरेपछि क्षेत्र १ मा कांग्रेसपछि पर्ने सम्भावना छ । माओवादीले क्षेत्र २ मा अध्यक्ष पुष्पकमल दाहालको नाम अगाडि सारेको छ । पार्टीको बैठकले दाहाललाई निर्वाचन लड्न निम्तो दिने निर्णय गरेको जिल्ला संयोजक राजीव घिमिरेले बताए । अघिल्लो निर्वाचनमा एमालेसँगको सहकार्यबाट माओवादीका देवेन्द्र पौडेल विजयी भएका थिए । शिक्षामन्त्री रहेका पौडेल फेरि पनि गठबन्धनको आडमा चुनाव जित्ने दाउमा छन् ।

माओवादीले पनि यो क्षेत्र आफ्नो दलका लागि सुनिश्चित बनाउन हेभिवेटको कार्ड प्रयोग गरेको कांग्रेस क्षेत्रीय सभापति चण्डीप्रसाद शर्माले बताए । ‘युवा अगाडि बढाऔं, जनताको मतको कदर गरौं भन्ने हैन, हेभिवेट नेता देखाएर दलको कब्जामा राख्ने काम भयो,’ शर्माले भने, ‘जुनसुकै दलका नेताको चाकरी गर्नेले यस्तो काम गरेका छन् ।’ नेकपा एकीकृत समाजवादीले पनि बागलुङकै एक क्षेत्र दाबी गर्दै आएको छ । प्रतिनिधिसभा सदस्य पाएमा पूर्व राज्यमन्त्री रामजीप्रसाद शर्मालाई उठाउने, प्रदेश पाए पनि नछाड्ने गरी तयारी गरेको एक नेताले बताए । कांग्रेस महाधिवेशन प्रतिनिधि डिल्लीराम सुवेदीले युवा र केही काम गरौं भन्नेलाई उम्मेदवार बनाउन छाडेर दलहरूले हेभिवेटको हाउगुजी देखाएको बताए । एमालेले स्थानीय निर्वाचनमा असन्तुष्ट भएर कांग्रेसबाट प्रवेश गरेकी मञ्जु शर्मा चालिसेलाई क्षेत्र २ बाट सिफारिस गरेको छ । क्षेत्र १ मा भने पुरानै नेताहरू सिफारिसमा परेका छन् ।

कोइरालाको क्षेत्रमा दाहाललाई उम्मेदवार बन्न आग्रह

कांग्रेस नेता डा. शशांक कोइराला लगातार तेस्रो पटक निर्वाचित भएको क्षेत्रमा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिनिधिसभामा उम्मेदवार हुन आग्रह गरेको छ । आइतबार देवचुलीमा सम्पन्न बैठकले पूर्वी नवलपरासी क्षेत्र नम्बर १ मा उम्मेदवार बन्न आग्रह गरेको पार्टी अध्यक्ष धनप्रसाद सापकोटाले बताए । कोइरालाले लगातार तेस्रो पटक निर्वाचन जिते पनि लोकप्रियतामा कमी आएको र दाहाल ०३४ सालमै इन्चार्ज रहेर काम गरिसकेको पृष्ठभूमिका कारण अध्यक्ष दाहाललाई उठाउने निर्णय भएको सापकोटाले सुनाए । उनले दाहालसँग यस विषयमा सल्लाह भइसकेको बताए । गठबन्धन दलबीच सिट बाँडफाँडको विषय मिल्न नसकेको अवस्थामा कोइरालाकै निर्वाचन क्षेत्रमा दाहाललाई उम्मेदवार बनाउने रणनीतिलाई अर्थपूर्ण मानिएको छ । माओवादी केन्द्र जिल्ला कमिटीले दुई वटा प्रतिनिधिसभा सदस्य र ४ प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार बन्ने आकांक्षा राखेका ४४ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ ।

३ निर्वाचन क्षेत्रबाट विनोद चौधरीको नाम सिफारिस

उद्योगपति विनोद चौधरीलाई दुईवटा जिल्लाका तीनवटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवार बन्न नाम सिफारिस भएको छ । पूर्वी र पश्चिम नवलपरासीका छुट्टाछुट्टै ३ निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्न चौधरीको नाम सिफारिस भएको हो । पूर्वी नवलपरासीको क्षेत्र नम्बर १ र २ का क्षेत्रीय समितिले चौधरीलाई उम्मेदवार बन्न सिफारिस गरेको छ । दुवै स्थानवाट उम्मेदवार बन्न चौधरीले पार्टीमा निवेदन दर्ता गराएको कांग्रेस स्रोतको भनाइ छ ।

क्षेत्र १ कांग्रेसका प्रभावशाली नेता डा. शशांक कोइरालाले लगातार तेस्रोपटक निर्वाचन जितिसकेको क्षेत्र हो । कोइरालाकै क्षेत्रमा आँखा लगाएपछि कोइरालाका समर्थकहरू झस्किएका छन् । चौधरीले २०७४ असारमा देवचुली नगरपालिका–२ मा आफ्नो मतदाता नामावली सारेका हुन् । त्यतिबेलैदेखि उनी यहाँबाट प्रत्यक्षतर्फ निर्वाचन लड्ने भन्दै उनका समर्थक खटेका छन् ।

त्यसैगरी पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा पनि प्रतिनिधिसभाको उम्मेदवार बन्न चौधरीले रुचि देखाएका छन् । क्षेत्रीय समितिको बैठकमा चौधरीले आफ्ना विश्वासपात्र अशोक बस्ताकोटीमार्फत उम्मेदवार बन्न निवेदन दर्ता गराएका थिए । पूर्वी नवलपरासी कांग्रेस जिल्ला उपसभापति बालकृष्ण घिमिरेले विनोद चौधरीलाई जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा प्रत्यक्ष उम्मेदवार बनाउन मिल्ने गरी नाम सिफारिस गर्ने जेन्टल सहमति भएको बताए ।

शशांक कोइरालालाई समानुपातिकमा राख्न चौधरीले कसरत गरेको राजनैतिक वृत्तमा चर्चा छ । १२ हजारभन्दा बढी चौधरी समुदायको मत रहेको पश्चिम नवलपरासीको क्षेत्र चौधरीले बढी सुरक्षित ठानेका छन् । चौधरीले त्यहाँबाट उम्मेदवार हुँदा आफ्नो पोजिसन के हुने भनेर डेढ वर्षअघि नै मत सर्वेक्षणसमेत गराएका थिए ।

एमालेबाट तिलक महत सर्वसम्मत

पूर्वी नवलपरासीको क्षेत्र नम्बर २ वाट एमालेले दोस्रो कार्यकालका लागि तिलक महतलाई प्रतिनिधिसभामा एक्लो उम्मेदवार सिफारिस गरेको छ । महत हालका पनि निर्वाचित सांसद हुन् । महत एमाले केन्द्रीय सदस्य एवं नवलपरासीका पार्टी इन्चार्ज पनि हुन् । त्यसैगरी क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका प्रत्यक्षतर्फका लागि ३ जनाको नाम सिफारिस भएको छ । त्यहाँबाट कृष्ण पौडेल, नारायण तिमिल्सिना र रवीन्द्र अधिकारीको नाम सिफारिस भएको छ ।

हरिराम उप्रेती (गोरखा), प्रकाश बराल (बागलुङ), घनश्याम खड्का (म्याग्दी) र नारायण शर्मा (पूर्वी नवलपरासी)

प्रकाशित : भाद्र २१, २०७९ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?