२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सहकारीमा पनि मिटरब्याज आतंक

अगन्धर तिवारी

पर्वत — देशभरबाट मिटरब्याजीका समाचार आइरहेका बेला पर्वतमा भने सहकारीले नै यसरी चर्को ब्याज असुली गरिरहेको भन्दै कारबाहीका लागि उजुरी परेको छ । गृह मन्त्रालयले गत साउन २८ मा जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै २९ साउनदेखि ५ भदौसम्म मिटरब्याजपीडितको उजुरी लिने र आवश्यक कारबाही गर्ने गरी परिपत्र गरेको थियो ।

सहकारीमा पनि मिटरब्याज आतंक

परिपत्रबमोजिम पर्वत प्रशासनले सूचना जारी गर्दै मिटरब्याज पीडितबाट उजुरी आह्वान गरेको थियो । तोकिएको मितिभित्रै पर्वतको कुश्मा नगरपालिकाभित्रका पाँच सहकारीविरुद्ध मिटरब्याज असुल गरेको भन्दै उजुरी दर्ता भएको छ ।

जसमा कुश्माको शुभकामना कृषि सहकारी संस्था, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, शिवशक्ति बचत तथा ऋण सहकारी संस्था, दक्षिणा बचत तथा ऋण सहकारी संस्था, शुभकामना बचत तथा ऋण सहकारी संस्था र जहरेखोला बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले प्रशासनले गृहको निर्देशनबमोजिमका प्रक्रिया अघि बढेको बताए । उनले भने, ‘हामीले कुश्मा नगरपालिकालाई विवरण मागेर वास्तविकता छानबिन गर्न पठाइसकेका छौं ।’ प्रशासनले ९ साउनमा कुश्मा नगरपालिकालाई उजुरी परेका सहकारीको विवरण मागेको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङका अनुसार शुभकामना बचत तथा ऋण सहकारी संस्थाबाहेकका सबै सहकारी कुश्माभित्रै कार्यक्षेत्र बनाएर कारोबार गरिरहेका छन् । उजुरीकर्ताले साँवाको दसौं गुणसम्म रकम तिर्दासमेत रकम चुक्ता नभएको भन्दै पुनः पटकपटक पैसा मागेकाले सहकारी तथा सञ्चालक समितिका पदाधिकारीलाई विपक्षी बनाई कारबाहीको माग गरेका छन् ।

‘अहिले मेरो नाम नभनिदिनुहोला,’ एक उजुरीकर्ताले भने, ‘मसँग धेरै प्रमाण छन् । त्यस्ता सहकारीको दर्ता खारेज नै गर्नुपर्छ । परिआउँदा सबै बिस्तार गरौंला ।’ सहकारी सञ्चालक समितिका पदाधिकारीहरूले खाली चेक लिएर मोटो रकम तिर्न छ भन्दै पटकपटक धम्की दिने गरेको पीडितहरूको गुनासो छ ।

सहकारीविरुद्ध उजुरीको विषयमा कुश्मा नगरपालिकाले भने कानुनबमोजिम कारबाही हुने जनाएको छ । कार्यक्षेत्र बाहिर गरिएको लगानी, सेयर सदस्य बाहिर गरिएको लगानी व्यक्तिगत कारोबारसरह हुने र अन्यथा ऐनबमोजिम हुने सहकारी शाखाका स्रोतव्यक्ति ऋषिराम शर्माले बताए ।

‘ऐनमा स्पस्ट व्यवस्था छ,’ उनले भने, ‘हामीले ऐनअनुसार कारबाही गर्ने हो । हामी स्पष्ट हुन नसके माथिल्लो निकायमा लेखिपठाउँछौं ।’ सहकारीविरुद्ध मिटरब्याजको आरोपमा परेको उजुरी पर्वतमा पहिलो भएकाले यस विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : भाद्र १८, २०७९ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?