कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

लमजुङमा लागूऔषधसहित २ युवक पक्राउ

आश गुरुङ

लमजुङ — लमजुङ प्रहरीले ३ सय ११ एम्पुल लागूऔषधसहित २ जना युवकलाई पक्राउ गरेको छ । उनीहरूले कारोबारका लागि नै लागूऔषध ओसारपोसार गरेको प्रहरीले दाबी गरेको छ ।

लमजुङमा लागूऔषधसहित २ युवक पक्राउ

मर्स्याङदी गाउँपालिका ३, बुद्धबजार बस्ने पेटी ठेकेदारको काम गर्दै आएका २९ वर्षीय ‘दोर्जे’ नामले चिनिने भीमबहादुर तामाङ र बेंसीसहर नगरपालिका ८ का ४२ वर्षीय ‘कवाडी बमे’ भनेर चिनिने बमबहादुर बस्नेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार भेटघाट गरी उनीहरूलाई सोमबार सार्वजनिक गरेको हो ।

डीएसपी प्रकाश श्रीमलका अनुसार तामाङ पहिलोपटक पक्राउ परेका हुन् । बस्नेत यसपटक समेत गरी ५ पटक पक्राउ परेर मुद्दा खेप्दै आएका व्यक्ति हुन् । २०६७ सालयता उनीविरुद्ध लमजुङ प्रहरीले ३ पटक र तनहुँ प्रहरीले १ पटक मुद्दा चलाइसकेको छ ।

आइतबार साँझ साढे ७ बजे आफ्नै घरबाट पक्राउ परेका तामाङको साथबाट प्रहरीले २ मिलिग्रामको डाइजेपाम एम्पुल ९० थान, फेनरगन ८९ थान बरामद गरेको छ । उनको साथमा रहेको २ वटा मोबाइल र नागरिकतासमेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार तामाङले घरमा लागूऔषध लुकाई छिपाइ राखेर बिक्री वितरण गर्दै आएको सूचना प्राप्त भएपछि कोठाको खानतलासी गर्दा लागूऔषध भेटिएको हो । ‘उनी सुत्ने कोठाभित्र खाटमाथि कपडा राख्ने केही ठूलो झोलाभित्र कपडाको बीचमा पहेंलो प्लाष्टिक रहेछ । त्यही प्लाष्टिकभित्र पोको पारेर राखेको अवस्थामा लागूऔषध भेटिएको हो’ उनले भने ।

कवाडी संकलन तथा बिक्रीवितरण गर्ने बस्नेतको कोठाबाट शुक्रबार २ मिलिग्रामको डाइजेपाम एम्पुल १५ थान, फेनरगन एम्पुल १५ थान र नुफिन एम्पुल १५ थान बरामद गरिएको प्रहरी निरीक्षक विष्णु विकले बताए । उनका अनुसार घरकोठा खानतलासी गर्ने क्रममा बस्नेत सुत्ने कोठाको रेनकोटभित्र लुकाइ छिपाइ राखेको अवस्थामा लागूऔषध भेटिएको हो । दुवै जनालाई लमजुङ जिल्ला अदालतबाट १ साताको म्याद थपेर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

डीएसपी श्रीमलका अनुसार जिल्ला प्रहरी कार्यालय लमजुङको कार्य प्राथामिकता अनुसार लागूऔषध दुर्व्यसनी, ओसारपसार र नियन्त्रण कार्यलाई प्राथामिकता दिँदै प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो । लागूऔषधसहित पक्राउ परेका तामाङ र बस्नेतविरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ६, २०७९ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?