१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

घरेलु हिंसाका घटना बढ्दै

बढ्नुको कारण आधुनिकतासँगै विकसित संस्कार, पश्चिमा संस्कृतिको प्रभाव, वैदेशिक रोजगारी, विलासिताको जीवनशैली, आर्थिक समस्या रहेको समाजशास्त्रीको तर्क
अगन्धर तिवारी

पर्वत — जिल्ला प्रहरी कार्यालय पर्वतको महिला सेल प्रमुख प्रहरी नायब निरीक्षक पूर्णिमा थापालाई केही वर्षयता ‘ड्युटी’ को ठेगान छैन । आठ घण्टा मात्रै ड्युटीमा खट्नुपर्ने उनलाई हरेक दिनजसो कुनै न कुनै समस्याका फोन, लिखित उजुरी र झैंझगडाका घटनाले व्यस्त बन्नुपरेको छ ।

घरेलु हिंसाका घटना बढ्दै

करिब डेढ दशक लामो प्रहरी सेवाको अनुभवमा थापाले गएको वर्ष सबैभन्दा धेरै घरेलु तथा लैंगिक हिंसाका उजुरीको सामना गर्नुपर्‍यो । त्यसो त, घरेलु हिंसालाई न्यूनीकरण गर्न विभिन्न प्रयास तथा सचेतनाका कार्यक्रम नभएका होइनन् । स्थानीय तहदेखि विभिन्न सामाजिक समूह, सरोकारवाला कार्यालयलगायतले सचेतना अभियान, गोष्ठी, भेला, दिवस मनाउन लाखौं बजेट खर्चिरहेकै छन् । तर पनि घरेलु हिंसाका घटनामा भने वृद्धि हुँदै गएको प्रहरी तथ्यांकले देखाएको छ ।

प्रहरीको महिला सेलमा दर्ता भएका उजुरीलाई आधार मान्दा बर्सेनि घरेलु हिंसाको ग्राफ बढ्दो छ । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को तुलनामा आव २०७८/७९ मा दोब्बरभन्दा बढीले वृद्धि भएको देखिन्छ । आव ०७६/७७ मा विभिन्न शीर्षकमा हिंसाका २६ उजुरी दर्ता भएकोमा ०७७/०७८ मा ३८ जनाले हिंसाको उजुरी दर्ता गराएका थिए ।

पर्वत प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक प्रकाश राउतका अनुसार गतवर्ष खान, लाउन नदिएको १७, कुटपिट, झैंझगडाका ५०, गाली बेइज्जतका १३ र अमानवीय व्यवहारका नौ गरी ८९ वटा उजुरी परेका हुन् । प्रहरीले सामान्य घरायसी विवाद मिलापत्रबाटै टुंग्याउने गरेको छ । तर, गम्भीर प्रकृतिका र मिलाउनै नसकिनेखालका घटना अदालती प्रक्रियामा पठाइने महिला थापाले बताइन् । उनका अनुसार ०७६/७७ मा एउटा मात्रै घटना अदालती प्रक्रियामा गएकोमा ०७७/७८ मा दुईवटा उजुरी अदालत पठाइयो । गतवर्ष भने ११ उजुरीका घटना प्रहरीकोमा मिल्न नसकेपछि अदालत पठाउनुपर्‍यो । ‘यो ग्राफ हेर्दा हाम्रो समाज बिस्तारै विकसितसँगै स्वतन्त्रताउन्मुख भएको पनि मान्नुपर्छ,’ थापा भन्छिन्, ‘सानातिना घटना सहेर बस्ने बानी बिस्तारै हट्दै छ । कहिलेकाहीं सामान्यभन्दा सामान्य विवादका केस आउँदा एकातिर समाज यतिसम्म सक्षम भएछ भन्ने पनि हो, अर्कोतिर फेरि समाज विखण्डनतर्फ धकेलिएछ भन्ने पनि लाग्छ ।’ विगतमा प्रायः महिलामाथि हुने हिंसाका घटना मात्रै आएकोमा अचेल पुरुष पीडामा परेका घटना पनि आउने गरेको थापा बताउँछिन् । गतवर्षका ८९ वटामध्ये १५–१६ वटा घटना पुरुष पीडित भएका दर्ता भएको तथ्यांक छ ।

प्रहरी निरिक्षक राउत प्रहरीमा मुद्दा आए पनि अधिकांश केसमा पारिवारिक सम्बन्धको महत्त्व, त्यसले बालबालिकामा पर्ने असर, सम्बन्ध चिसिएपछि भोग्नुपर्ने मानसिक पीडा र बौद्धिक क्षतिलगायत बारेमा सम्झाइबुझाइ गरेर मिलापत्र गराउनेमा ध्यान दिने गरेको बताउँछन् । ‘सकारात्मक पाटोबाट हेर्दा यस्ता उजुरी बढ्नुले व्यक्तिमा सचेतनाका अवस्था वृद्धि भएको पनि भन्न सकिन्छ,’ उनले भने, ‘तर, त्यसले स्वयं व्यक्ति र परिवारमा पार्ने दीर्घकालीन असरबारे बुझ्नुपर्छ ।’

पछिल्ला ३ वर्षको तथ्यांक हेर्दा प्रहरीमा आउने ठाडो उजुरीमा पनि वृद्धि भएको छ । आव २०७६/७७ मा २० वटा ठाडो उजुरी दर्ता भएकोमा १७ वटाको मिलापत्र र ३ वटा मिल्न बाँकी छन् । २०७७/७८ मा १८ उजुरी परेकोमा ११ वटाको मिलापत्र भएको र ७ वटा बाँकी छन् । गत आवमा दर्ता भएका २५ ठाडो उजुरीमध्ये २० वटाको मिलापत्र गराइएको र पाँचवटा अझै मिल्न बाँकी रहेको थापा बताउँछिन् । पछिल्लो समय खुल्ला र स्वतन्त्र जीवनशैली, वाक स्वतन्त्रता, सञ्चार प्रविधिको पहुँच लगायतका कारण अति सामान्य कुरा आपसमा सहन नसक्नाले हिंसाका गतिविधि बढेको हुन सक्ने पर्वतका प्रहरी प्रमुख डिएसपी मधुसूधन न्यौपाने बताउँछन् । समाजशास्त्रका प्राध्यापक राजेन्द्र पहाडी आधुनिकतासँगै विकास भएको संस्कार, पश्चिमा संस्कृतिको प्रभाव, वैदेशिक रोजगारी, विलासिताको जीवनशैली, कोभिडपछि देखिएका आर्थिक समस्या लगायत कारण घरेलु तथा लैंगिक हिंसा बढ्दो क्रममा रहेको तर्क गर्छन् । यस्ता समस्या समाधानका लागि तीनै तहका सरकारले स्थानीयस्तरमै रोजगारी, शिक्षा, स्वास्थ्य र अवसरको सिर्जना गर्नुका साथै मनोचिकित्सकको व्यवस्था गर्नुपर्ने प्रसनि थापाको तर्क छ ।

प्रकाशित : भाद्र ६, २०७९ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?