नवलपरासीमा अब 'नेचुरोप्याथी एन्ड योगा साइन्स' पढाइने

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई ब्याच्लर इन नेचुरोप्याथी एन्ड योगा साइन्सेस (बीएनवाईएस) पढाउने शिक्षण अस्पतालको रुपमा रुपान्तरण गरिने भएको छ ।

नवलपरासीमा अब 'नेचुरोप्याथी एन्ड योगा साइन्स' पढाइने

११ वर्षअघि स्थानीय प्रयासमा सुरु भएको चिकित्सालयलाई योग तथा प्राकृतिक चिकित्सा अध्ययन गर्ने शिक्षालय बनाइने भएको हो । योग तथा प्राकृतिक चिकित्सा अध्ययन गराउने यस्तो शिक्षण अस्पताल नेपालकै पहिलो हुने विश्वविद्यालयका रजिस्ट्रार माधव अधिकारीले बताए ।

दाङको बेलझुण्डमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको अनुमतिमा सञ्चालनमा रहेको यो चिकित्सालयमा आगामी वर्षदेखि एमबीबीएस सरह (बीएनवाईएस) अध्ययन गर्न मिल्ने चिकित्सालयमा रुपान्तरण गर्नेगरी काम अघि बढाइएको छ ।

विश्वविद्यालयका रजिस्ट्रार अधिकारीका अनुसार यहाँ अर्को वर्षदेखि (बीएनवाईएस) कक्षा सञ्चालन हुने छ । हाल २५ शय्या क्षमतामा सञ्चालित यो चिकित्सालयमा आगामी ६ महिनामा थप २ सय शय्या बनाइने भएको छ । चिकित्सा विज्ञान पढाउन २ सय शय्याको चिकित्सालय आवश्यक पर्छ । यो कोर्स अध्ययन-अध्यापनका लागि त्यहाँ २ सय शय्या थप्ने गरी भवन निर्माणको काम धमाधम भइरहेको बताइएको छ । यी सबै नयाँ भवन निर्माण कार्य त्यसैका लागि भइरहेको चिकित्सालयले जनाएको छ । भवन निर्माणको काम आगामी ६ महिनाभित्र पूरा गर्ने लक्ष्य रहेको चिकित्सालयले बताएको छ ।

चिकित्सालयका व्यवस्थापक हरि सापकोटाका अनुसार चिकित्सालय हातामा रहेका ३ वटा ब्लकमा थप २ सय शय्याको अत्याधुनिक भवन निमार्णाधीन छन् । भवन निर्माणको काम आगामी ६ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । यहाँ संघीय सरकार र गण्डकी प्रदेश सरकारको ४ करोड रुपैयाँ लगानीमा अत्याधुनिक प्राकृतिक चिकित्सा उपचार भवन निर्माण भइरहेको छ । दुवै सरकारले गत वर्ष दिएको २/२ करोड रकमले भवनको काम सुरु भएको हो ।

चिकित्सालयका व्यवस्थापक सापकोटाका अनुसार चिकित्सालयमा एमबीबीएस सरहको कक्षा सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । भवन निर्माण र जनशक्ति व्यवस्थापन गरेर २ सय २५ शय्याको चिकित्सालय सञ्चालन छिट्टै गर्ने तयारीअनुसार काम भइरहेको छ । कम्तीमा २ सय २५ शय्याको चिकित्सालय सञ्चालनमा आएपछि (बीएनवाईएस) पढाउन मिल्ने व्यवस्थापक सापकोटाले बताए ।

प्रकाशित : भाद्र ५, २०७९ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?