२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

धान खेती छोडी कागती

प्रकाश बराल

बागलुङ — युवा गाउँमा बस्न छाडे । बुढापाकाले खेतीपाती गर्न सक्दैनन् । टाढाको खेतबारीमा लगाएको अन्न स्याहार्न झनै सास्ती भएपछि यहाँका किसानले परम्परागत खेती त्यागे । बागलुङ नगरपालिका–१४ नारायणस्थानको अर्माहावासीले अमलाचौरमा रहेको जग्गा कमाउन नसकेपछि परम्परागत बाली फेरेका छन् ।

धान खेती छोडी कागती

धान र मकै खेती हुने सँहेलाको फाँटमा किसानले सामूहिक कागती खेती गरेका हुन् । सँहेलाको २ सय २३ रोपनीमा ५४ किसानले सामूहिक कागती लगाएका हुन् । दुई वर्षअघि लगाएको कागतीमा छिटफुट फूल र फल लागेको छ । आगामी वर्षदेखि नियमित उत्पादन हुने चासो कृषि समूहका अध्यक्ष केशवप्रसाद सुवेदीले बताए । ‘हामीले २ करोड लगानी गरेर कागती लगाएका छौं, अर्को वर्षदेखि फल चाख्न पाइन्छ,’ सुवेदीले भने, ‘धान र मकै बाँदरबाट जोगाउन कठिन थियो । कागती लगाएपछि धान र मकैभन्दा ५ गुणासम्म फाइदा लिन सकिएको छ ।’

यहाँ ४० घरको जग्गा थियो । तर नारायणस्थानका ५४ घरधुरीले लगानी गरेर कागती खेती थालेका हुन् । २ वर्षअघि ४ हजार बिरुवा रोपिएको हो । खाली रहेका अन्य स्थानमा १ हजार २ सय थप बिरुवा लगाउन सकिने गरी उनीहरूले जग्गा तयार गरेका छन् । २ सय ५० बिरुवा त थपिसके । पूर्वको धनकुटाबाट तेह्रथुम लोकल जातको कागतीका बिरुवा ल्याएर रोपिएको हो । केही बिरुवा भने गुल्मीमा उत्पादन भएका स्थानीय जात पनि रहेको अर्का किसान डिल्लीप्रसाद सुवेदीले बताए ।

एक घरले एक लाख रुपैयाँ लगानी गरेका छन् । उनीहरूको अभियानमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि लगानी गरेको परियोजना बागलुङका निमित्त प्रमुख सुजित पौडेलले बताए । ‘औषधि र प्रविधिका लागि १० लाख रुपैयाँ सहयोग गरेका छौं,’ पौडेलले भने, ‘किसानको मिहिनेत नै महत्त्वपूर्ण हो, हामीले प्राविधिक ज्ञान र तालिममा अझै सहयोग गर्नेछौं ।’ किसानको उत्साह देखेर कृषि ज्ञान केन्द्र बागलुङले पनि यो फर्ममा ५ लाख लगानी गरेको केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए ।

यहाँका कागती बिरुवालाई ३० वटा ब्लकमा विभाजन गरिएको छ । अत्यावश्यक समयमा ४ जनालाई थप रोजगारी दिने गरिएको छ । जैविक मल प्रयोग गरेर उत्पादन गर्ने लक्ष्य राखिएकोले किसानले कागती फर्म नजिकै एउटा पशु फर्म पनि चलाउने निधो गरेका छन् । ‘कम्तीमा १० देखि १५ गाईभैंसी पाल्ने हो भने कागतीलाई कम्पोस्ट मल पुग्छ,’ अध्यक्ष सुवेदीले भने, ‘एक/दुई वर्षभित्रै कृषि पर्यटनको गन्तव्यसमेत बनाउने लक्ष्य राखेका छौं ।’

भट्टराईले कागतीले उत्पादन दिन थालेमा वर्षमा कम्तीमा २ करोडको बिक्री गर्न सकिने बताए । ‘किसानले अहिलेसम्म २ करोड लगानी गर्नुभएको रहेछ, अझै ५० लाख लगानी आवश्यक छ, तर उत्पादन सुरु भएपछि दुई/तीन वर्षमै लगानी उठाउन सकिन्छ,’ भट्टराईले भने ।

प्रकाशित : भाद्र २, २०७९ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?