अस्पताल स्थापनाको ४८ वर्षपछि मुस्ताङमा पहिलो शल्यक्रिया

लालप्रसाद शर्मा

पोखरा — सञ्चालनमा आएको ४८ वर्षपछि मुस्ताङ जिल्ला अस्पतालमा बुधबार पहिलोपटक प्रसूतिको सफल शल्यक्रिया भएको छ ।

अस्पताल स्थापनाको ४८ वर्षपछि मुस्ताङमा पहिलो शल्यक्रिया

बिहान ६ बजेर ३६ मिनेटको जाँदा मुस्ताङको थासाङ गाउँपालिका-३ लेते कालोपानीकी २४ वर्षीया अनीता परियारको शल्यक्रियामार्फत सुत्केरी गराइएको हो । उनले २ किलो ८ सय ग्रामको बच्चा (छोरा) जन्माएकी छन् । आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. विशाल तिवारीका अनुसार अस्पतालको इतिहासमै यौ नै पहिलो शल्यक्रिया हो । डाक्टर कुन्दन कर्ण (एमडीजीपी) को नेतृत्वमा डा. तिवारी, राजीव सापकोटा, नर्सद्वय सुनीता श्रीमल र नीता घर्तिमगर र सहयोगी सनीलाल परियारको टीमले शल्यक्रिया गरेको हो ।

तिवारी ६ महिनाअघिमात्रै स्थायी नियुक्ति लिएर अस्पताल गएका थिए । संघीय सरकारबाट केही रकम ल्याएर शल्यक्रियाका लागि आवश्यक उपकरण जडान गरिएको अस्पतालले जनाएको छ । ‘दुई महिना लगाएर उपकरण सेटअप गरियो‚’ डा. तिवारीले भने, ‘त्यसैका परिणाम बुधबार प्रसूति शल्यक्रिया गर्न सफल भयौं ।’ उनले यो सेवालाई निरन्तरता दिइने बताए ।

तिवारीका अनुसार अबदेखि अस्पतालमा हाडजोर्नी, एपेन्डिसाइटिस, हाइड्रोसिल, ठूला घाउ चिरफारलगायत सामान्य खालका सबै शल्यक्रिया सेवा उपलब्ध हुने छ । संघ र प्रदेश सरकारबाट आवश्यक सहयोगको निरन्तरता भने हुनुपर्ने उनको भनाइ छ ।

२०३१ सालमा स्थापना भएको अस्पताल २०७५ देखि गण्डकी प्रदेश सरकारमातहत २५ शय्या क्षमतामा सञ्चालित छ ।

प्रकाशित : भाद्र १, २०७९ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?