३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

दुई शिक्षकमाथि यौन दुर्व्यवहार आरोप

बागलुङ — विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि दुई जना शिक्षकले राजीनामा दिएका छन् । सप्तरी घर भई बागलुङको गलकोट नगरपालिका–१० को पाण्डवखानी माविका गणित शिक्षक देवकुमार साह र अंग्रेजी शिक्षक रोशनकुमार साहले विद्यालय छाडेका हुन् ।

०७६ देखि यो विद्यालयमा पढाउँदै आएका दुवै शिक्षकले पटकपटक माथिल्लो कक्षाका बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

गत शनिबार बिहान भएको कोचिङ कक्षामा आएका छात्राले शिक्षकबाट दुर्व्यवहार सहनुपरेको गुनासो गरेका थिए । ‘एसईई दिने विद्यार्थीलाई कक्षा चलाएका थियौं, उनीहरूले पटकपटक दुर्व्यवहार भएको बताए,’ प्रधानाध्यापक नवीन भावुकले भने, ‘शिक्षकको व्यवहार नराम्रो पाइयो, भोलि हुन सक्ने दुर्घटनासमेतबाट बचाउन उनीहरूलाई राजीनामा दिन लगाइयो ।’ पीडित किशोरीका अभिभावकले भने कानुनी प्रक्रियामा जाने आक्रोश पोखेकै बेला राजीनामा बुझाएर उनीहरू हिँडेका हुन् ।

उनीहरूले राजीनामा दिएपछि कता गए भन्ने विद्यालय व्यवस्थापन समिति र प्रअलाई समेत जानकारी छैन । दुवै शिक्षकले यहाँ अध्यापनमा आएदेखि नै ट्युसन कक्षा र कोचिङ कक्षाको नाममा विद्यार्थीको सानो–सानो समूह बोलाएको र सोहीअनुसार दुर्व्यवहार गरिरहेको प्रअ भावुकले जानकारी दिए । विद्यालयमा होहल्ला भएपछि शनिबार र आइतबार दिनभरि व्यवस्थापन समिति पदाधिकारी, वडाध्यक्ष र नगर कार्यपालिका सदस्यसमेतको बैठक बसेको थियो । ‘सुरुमा उनीहरूले आरोप स्विकारेका थिएनन्, पछि पीडित पक्षको आक्रोशपछि स्विकारेर राजीनामा दिन तयार भए,’ वडाध्यक्ष भक्तबहादुर काउचाले भने, ‘रातारात गाडी खोजेर भागेछन् ।’ उनीहरू भागे पनि पीडितले कानुनी उपचार चाहेमा बाटो खुला रहेको उनले बताए ।

प्रकाशित : भाद्र १, २०७९ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?