१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कोरोना संक्रमण बढेपछि भिमसेन थापा गाउँपालिकाका ५ विद्यालय बन्द

गोरखा जिल्लाभर सक्रिय संक्रमित ८३ पुगे
हरिराम उप्रेती

गोरखा — कोरोना संक्रमण फैलिएपछि भिमसेन थापा गाउँपालिकाका ५ वटा विद्यालयको पठनपाठन बन्द गरिएको छ । भिमसेन थापा गाउँपालिका–१ को दुल्लभ मावि घ्याम्पेसाल, विन्द्रवती मावि, कनकामना आधारभूत विद्यालय, चण्डेश्वरी आधारभूत विद्यालय र वडा नम्रब ६ को नवजागृती चण्डी मावि अश्राङको पठनपाठन बन्द गरिएको हो ।

एन्टिजेन विधिबाट गरिएको परीक्षणमा पाँच विद्यालयका ३८ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना जाखिम न्यूनिकरणका लागि स्वास्थ्यकर्मीको सुझाव अनुसार विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर विद्यालय बन्द गरिएको हो । दुल्लभ माविमा ६४ जनामा गरिएको परीक्षण गरिएकोमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए ।

त्यस्तै बिन्द्रवतीको ५० जनामा कोरोना परीक्षण गर्दा ७ जना, कनकामना आधारभूत विद्यालयको ४० जनाको कोरोना परीक्षण गर्दा दुइ जना, चण्डेश्वरी आधारभूत विद्यालयको ३३ जनाको कोरोना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै नवजागृति चण्डी मावि अश्राङमा ५६ जनाको कोरोना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको खनालले बताए । ‘सामान्य रुघाखोकीको लक्षण देखिएपछि कोरोना परीक्षण गरेका हौँ,’ उनले भने ।

संक्रमण पुष्टि भएकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले बताए । भिमसेन थापा गाउँपालिकामा मात्र कोरोना संक्रमितको संख्या ४१ पुगेको छ ।

जिल्लाभर हाल ८३ जना सक्रिय संक्रमित छन् । गोरखा नगरपालिकामा ५ जना, पालुङटार नगरपालिकामा ७ जना, सहिद लखन गाउँपालिकामा १ जना, अजिरकोट गाउँपालिकामा १३ जना, सिरानचोक गाउँपालिकामा ८ जना, आरुघाट गाउँपालिकामा ७ जना र धार्चे गाउँपालिकामा १ जना सक्रिय संक्रिमित रहेको स्वास्थ्य कार्यालयको अभिलेखमा छ । साउन महिनामा मात्र ६ सय ३७ जनाको कोरोना परीक्षण गर्दा १ सय ४१ जनामा संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये ५८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित : श्रावण ३०, २०७९ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?