कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घट्टेखोलाको घट्ट

कुटानीपिसानी मिलमा भन्दा घट्टमा पिसेको पिठोको स्वाद मिठो हुँदा स्थानीय यसको दुःख भुल्छन्
हरिराम उप्रेती

गोरखा — चुमनुव्री गाउँपालिका–३ पाङसिङकी सर्किनी गुरुङ दुई साताको अन्तरालमा अन्न कुटानी पिसानीका लागि घट्ट पुग्छिन् । गुरुङलाई पाङसिङबाट घट्टेखोलाको घट्ट पुग्ने झन्डै ३ घण्टा पैदल हिँड्नुपर्छ । घट्टमा पिसेको अन्नको स्वादले आधा दिनको दुःख बिर्साउने उनले सुनाइन् । ‘दुःख छ, घट्ट जान/आउन ५ देखि ६ घण्टा लाग्छ,’ उनले भनिन्, ‘तर कुटानीपिसानी मिलमा भन्दा घट्टमा पिसेको पिठोको स्वाद मिठो ।’

घट्टेखोलाको घट्ट

पछिल्लो समय कुटानी पिसानीका लागि मिलको प्रयोग बढेर घट्ट लोप हुँदै जाँदा फाट्टफुट्ट सञ्चालनमा रहेका घट्टमा चाप बढेको छ । चुमनुव्री–३ घट्टेखोलाको ३ वटा घट्टमा फिलिम, पाङसिङ, नाग्चेत, सिर्दिवास, सल्लेरीबाटसमेत कुटानी पिसानीका लागि स्थानीय पुग्छन् । ‘पाँच पाथी पिठो कुट्यो भने एक घोग (पाथी) घट्ट चलाउनेलाई छाड्छौँ,’ गुरुङले भनिन्, ‘घट्टमा आउँदा पैसा पनि खर्च हुँदैन, ज्यालामा अन्न नै दिए पनि हुन्छ ।’ पानीबाट चल्ने घट्ट छाडेर फिलिमको मिलमा कुटानी पिसानीको प्रचलन पनि बढ्दो छ । चार घण्टासम्म पैदल हिँडेर स्थानीय फिलिमको मिलमा पुग्छन् । तर पाका पुस्ता भने मिलभन्दा घट्टमै कुटानी पिसानीमा जोड दिन्छन् । घट्टेखोलाकी ७० वर्षिया म्याल्मो गुरुङलाई घर नजिकैको घट्टमा अन्न पिसानीका लागि अरूको सहारा चाहिँदैन । मिलमा कुटानीपिसानी गर्दा स्वादै बेग्लै आएपछि ग्याल्मो अहिले घट्ट नै पुग्छिन् । बरु फुर्सदको बेला पनि घट्ट पुगेर आफ्नो र छिमेकीको पनि अन्न पिसानीमा सघाउँछिन् । ‘पहिल्यैदेखि देखेको जानेको भनेको घट्ट हो, घट्टधनी घट्टमा छैनन् भने पनि आफैं अन्न पिध्छौँ,’ उनले भनिन्, ‘सबै विश्वास हो, ज्याला डालीमा छाडेर गए भइहाल्यो ।’ मकै कोदो, गहुँ, जौ, सिबिको दालका लागि अन्न घट्टमा पिस्ने प्रचलन रहेको उनले सुनाइन् । ‘यहाँ धान खेती हुँदैन, चामल किनेर खाने हो,’ म्याल्मोले भनिन्, ‘मिलमा भन्दा घट्टमा पिसेको अन्नको स्वादै बेग्लै, बढो आनन्द आउँछ ।’ पछिल्लो समय घट्ट लोप हुँदै गएकोमा उनले चिन्ता जनाइन् । घट्ट लोप हुँदै जाँदा स्थानीयले झनै दुःख पाएको उनको भनाइ छ । ‘गाउँको घट्ट नचल्दा अन्त खोज्दै जान मान्छेलाई धेरै समय लागेको छ, धेरै हिँड्नुपरेको छ,’ उनले भनिन् ।

विद्युतीय सामग्रीको प्रयोग वढ्दै जादा परम्परागत घट्टहरू देखिन छाडेका छन् । एक दशकअघिसम्म घट्टेखोलामा ८ घट्ट सञ्चालनमा थिए । अहिले ३ वटा सञ्चालनमा छन् । सात वर्ष अघि घट्टेखोलाका बाढीले घट्ट बगाएपछि थार्चेन गुरुङले पुन अर्को घट्ट निर्माणमा चासो दिएनन् । ‘हिमालमा ठूलो पानी परेर मेरो खोला छेउको घट्ट लग्यो,’ उनले भने, ‘त्यो बेलामा मिल पनि खुल्न थालेका थिए, अब घट्ट चल्दैन झं लाग्यो, अर्को बनाउन चासो दिइन् ।’ पाका पुस्ताले घट्ट रोजे पनि नयाँ पुस्ता भने मिलतर्फ आकर्षित हुने गरेको उनले बताए । सञ्चालक पनि घट्टमा अन्न पिस्ने मान्छे कम हुँदै जाँदा उक्त पेसा छाड्दै गएका छन् ।

प्रकाशित : श्रावण २९, २०७९ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?