मनाङमा स्याउ पाक्यो, बेच्ने चटारो

‘जिल्लाको तल्लो क्षेत्र कम उचाइका कारण हिउँ कम पर्ने भएकोले तापमान छिटो बढ्छ, छिट्टै पाक्छ’
आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङको तल्लो क्षेत्रमा स्याउ पाक्न थालेको छ । स्याउमा गुलियोपन भरिएसँगै कृषकले बिक्री गर्न थालेका हुन् । नासों गाउँपालिका–८ ताचैका सोमराज गुरुङले बगानको स्याउ टिपेर बिक्री गर्न थालिएको बताए । उनले गाला, गोल्डेन, फुजी र जोनाप्रिन्स जातका स्याउ लगाएका छन् ।

मनाङमा स्याउ पाक्यो, बेच्ने चटारो

इटालीबाट ल्याएर लगाइएको ४ वटै जातको स्याउलाई हाइडेन्सिटी प्रविधिमा लगाइएको छ । उनले २ सय बोट लगाएका छन् । ‘गाला जातको स्याउ पाक्न थालेको छ । हामीले १ सातादेखि प्रतिकेजी १ सय ७० मा बिक्री सुरु गरेका छौं,’ उनले भने, ‘गाउँकै युवाले बाहिर लाने गरेका छन् । काठमाडौंसम्म पुग्छ ।’ करिब २ सय किलो बिक्री गरिसकेका उनले अब बगानमा ४ सय किलो जति उत्पादन हुने अनुमान गरे ।

कृषक अर्बिन गुरुङका अनुसार गाला जातकोमा गुलियोपन बसिसकेको छ । ६ रोपनीमा उनले १ हजार ५ सय बोट लगाएका छन् । १ सय २५ किलो बिक्री भइसकेको उनले बताए । उनका अनुसार बगानमा करिब ६ सय किलो स्याउ फलिरहेको छ । अरू जातमा गुलियोपन आइसकेको छैन । ‘हामीले अर्डरअनुसार बिक्री गर्ने हो । अहिले लमजुङ र काठमाडौं जान थालेको छ,’ उनले भने । उनका अनुसार स्याउ जोनबाट ५० प्रतिशत अनुदानमा बिरुवा ल्याएर किसानले स्याउ खेती गरेका छन् । किसानले प्रतिबिरुवा ५ सय ७५ रुपैयाँ तिरेका हुन् ।

फुजी स्याउ २० दिनपछि गुलियो भरिने उनले बताए । गोल्डेन भदौ अन्तिमतिरमात्रै टिप्ने बेला हुन्छ । जोनाप्रिन्स भने फुजी पाकिसकेपछि एक सातापछि पाक्छ । इटालीबाट ल्याएको बिरुवा २ हजार ३ सय मिटर उचाइमा लगाइएको उनले बताए । स्थानीय सोलबहादुर गुरुङले १ हजार बोट लगाएकामा कुनै फल्ने क्रममा रहेको बताए । ‘यसपटक ११ क्विन्टल फल्ने अपेक्षा छ,’ उनले भने, ‘अनुदानमा लगाएको बोटबाट ८ क्विन्टल जति फल लाग्ला । लोकल १५ वटा जति बोट छ । त्यसमा पनि ३ क्विन्टल जति उत्पादन होला ।’ ताचैमा अजयराज गुरुङले करिब ६ सय बोट स्याउ रोपेका छन् । लालबहादुर गुरुङले ४ सय ५० बोट रोपेका छन् । किसानका अनुसार तल्लो क्षेत्रका नासों गाउँपालिका २ ताचै, ४ ओडार, ७ तिल्चे, ९ दानक्युलगायत क्षेत्रमा स्याउ खेती गरिएको छ । ती क्षेत्रमा पनि स्याउ खेती गरिए अहिले नै टिप्ने समय भएको छैन ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङ–मनाङ स्याउ जोन प्राविधिक इकाइ मनाङका कृषि प्राविधिक सहायक यमुना तिवारीका अनुसार तल्लो क्षेत्रमा स्याउ पाक्न थालेको छ । अरूभन्दा गाला जातका स्याउमा छिटो गुलियोपन भरिने उनले बताइन् । ‘तल्लो क्षेत्रमा चाँडै चिसो हराउँछ । तापक्रम वृद्धि छिट्टै हुन्छ । कम उचाइको ठाउँ, हिउँ कम पर्ने भएकाले छिटो पाक्ने हो,’ उनले भनिन् । उनका अनुसार गतवर्ष इटालीबाट गाला, गोल्डेन, फुजी र जोनाप्रिन्स जातका स्याउका बोट ल्याएर कृषकलाई ९ हजार ३ सय ९३ वटा बिरुवा वितरण गरेको उनले बताइन् । गतवर्ष ३.५ हेक्टर क्षेत्रफलमा रोप्नका लागि बिरुवा वितरण गरिएको हो ।

मनाङमा यी ४ वटै स्याउ इटाली र सर्बियाबाट प्रतिनिधिसभा सांसद पोल्देन छोपाङ गुरुङले पहिलोपटक भित्र्याएका थिए । उनको कम्पनी एग्रो मनाङ प्रालिले भ्राताङमा ७ सय ३५ रोपनी क्षेत्रफल लिजमा लिएर स्याउ खेती गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङ–मनाङका वरिष्ठ कृषि अधिकृत दीपक अधिकारीले मनाङको तल्लो क्षेत्रमा स्याउ खाने बेला भएको बताए । ‘स्याउको गुलियोपन रिफ्य्राक्टोमिटरबाट नाप्दा १२ प्रतिशतदेखि माथि देखिएमा खानलायक हुन्छ । तल्लो क्षेत्रको गाला जातका स्याउ खानालायक देखिन थालेका छन्,’ उनले भने ।

उनका अनुसार तापक्रम र उचाइले स्याउलाई प्रभाव पार्छ । ‘हामी तल्लो क्षेत्रको घेलाञ्चोकमा स्याउको दाना लागिसक्दा सदरमुकाम चामेमाथिको भ्राताङमा स्याउ फुल्दै थियो । भ्राताङमा दाना लाग्दा माथिल्लो क्षेत्र हुम्डेतिर फूल फुल्दै थियो,’ उनले भने, ‘अहिले माथिल्लो क्षेत्रमा स्याउ बढ्दै छ । तल्लो क्षेत्रमा खाने भइसक्यो ।’ परियोजनाका अनुसार गतवर्ष मनाङमा २ हजार ८ सय ८० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यो वर्ष बढ्ने सम्भावना रहेको प्राविधिकहरूले बताएका छन् । गतवर्ष उत्पादन दिने क्षेत्रफल २ सय ७८ हेक्टर थियो । यसवर्ष थप बढ्ने परियोजनाले जनाएको छ । मनाङमा पछिल्लो समय हाइडेन्सिटी प्रविधिमार्फत स्याउ खेती गर्न थालिएपछि उत्पादन बढ्दै गएको कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण २९, २०७९ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?