घ्याब्रे सिक्न झापाबाट घलेगाउँ- गण्डकी - कान्तिपुर समाचार

घ्याब्रे सिक्न झापाबाट घलेगाउँ

‘हामी भाषा र संस्कारविहीन छौं, मरणकार्यमा घ्याब्रे नपाउँदा समस्या भो । त्यसैले घ्याब्रे पढाउन किशोरलाई लिएर आएका हौं’
कान्तिपुर संवाददाता

लमजुङ — गुरुङ समुदायको आदिमथलो मानिने दशथर डाँडाको घलेगाउँका घ्याबे गुरु काशी गुरुङको गत वैशाख २७ गते निधन भयो । अब टेकजंग गुरुङमात्रै बाँकी छन् । घलेगाउँमा स्थापित तमु प्ये ल्हु संघ पोंचो कों क्वोइँबो धीं दशथरले घ्याब्रे, पच्यु र पैंडी पढ्ने पाठाशाला स्थापना गर्‍यो ।

त्यही पाठशालामा घ्याब्रे पढ्न पूर्वी नेपालको झापाको बिर्तामोड नगरपालिका–१० सैनिकबस्तीका ९ वर्षीय होमबहादुर गुरुङ आए । उनीसँगै झापाकै अर्जुनधारा नगरपालिका–६ सालडाँगीका १७ वर्षीय सुजन गुरुङ र बुट्टाबारीका १७ वर्षीय अमन गुरुङ पनि घ्याब्रे पढ्न घलेगाउँ आएका छन् । तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष हितकाजी गुरुङसँगको समन्वयमा संघका झापा शाखा अध्यक्ष रामकुमार गुरुङले उनीहरूलाई लिएर आएका हुन् । ‘हामी भाषा र संस्कारविहीन छौं’ उनले भने, ‘मरणकार्यमा घ्याब्रे नपाउँदा समस्या भो । त्यसैले घ्याब्रे पढाउन किशोरलाई लिएर आएका हौं ।’

तमु प्ये ल्हु संघ पोंचो कों क्वोइाबो धीं दशथरका अध्यक्ष आसवीर गुरुङका अनुसार गुरुङ संस्कारमा घ्याब्रेले अन्तिम संस्कार गर्छ । पच्युले पूजापाठ गर्छ । पैंडीले दिन, साइत हेराउने गर्छ । यही कार्य गर्न एउटा गाउँका बासिन्दा अर्को गाउँसँग गुहार माग्नुपर्ने अवस्था छ । घ्याब्रेको अभावमा लामा र ब्राह्मण समेतलाई बोलाएर अन्तिम संस्कार गर्ने गरेको जानकारीमा आएको उनले सुनाए । ‘हामीले नेपालमै पहिलो पटक घ्याब्रेको पठनपाठन सुरु गरेका छौं । झापाबाट ३ जना र गाउँकै २ जना छन् । भुजुङ, घनपोखरा, नायु साथै वरपरका इच्छुकले पनि आउने जमर्को गरिरहेका छन् । यो सुरुवात हो,’ उनले भने, ‘पुस्तान्तरण भएन भने यस्ता संस्कार हराउँदै छ जान्छन् । त्यसैले एउटा जोखिम उठाएका छौं ।’

घलेगाउँका ३४ वर्षीय पदमराज गुरुङ र २० वर्षीय अर्जुन गुरुङ पनि अहिले घ्याब्रे सिक्दै छन् । झापाका ३ जनालाई भाषाको समस्या छ । उनीहरू गुरुङ भाषा बोल्न सक्दैनन् र बुझ्न पनि । घ्याब्रे शास्त्र (वेद) लिखित रूपमा तयार पारिएको छ । गुरुङ भाषामा र चों क्योइ (पौराणिक भाषा) सम्मिलित छ । उनीहरूलाई घ्याब्रे गुरु टेकजंग गुरुङले सिकाइरहेका छन् ।

झापामा २ कक्षा पढ्दै गरेका होमबहादुर घलेगाउँमा पनि २ कक्षामा पढ्छन् । फुर्सदको समय उनी घ्याब्रे सिक्छन् । ८ कक्षा पढेपछि छोडेका सुजन र एसईई दिएर बसेका अमन भने साँझ, बिहान र दिउँसो सिक्छन् । ‘पढाइ पनि खासै भएन । घरमा पनि यस्तै यस्तै भयो । अहिले घ्याब्रे सिक्न मन लागेर आएको छु,’ सुजनले भने । अमनले भने भाषा, संस्कार र संस्कृतिको अभावमा पूर्वी क्षेत्रका गुरुङ समुदाय समस्यामा परेकाले घ्याब्रे सिक्न आएको बताए । ‘भाषा आउँदैन । संस्कार आउँदैन । दुवै सिक्न आएको हुँ,’ उनले भने ।

झापाबाट आएका तीन जनाको बसोबास गाउँलेले व्यवस्थापन गरेका छन् । घलेगाउँका अगुवा प्रेमबहादुर घलेले झापाबाट आएका ३ जनालाई ५ महिनासम्म खानाको व्यवस्था पर्यटन समितिले गरेको बताए । एक महिनाको व्यवस्थापन आमा समूहले गर्ने उनले बताए । ‘हामी सहयोग जुटाउने प्रयासमा छौं,’ उनले भने । उनका अनुसार क्वाइँबो धीं निर्माण र पाठशालाको लागि बेलायतस्थित तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष रनबहादुर गुरुङ नेतृत्वमा सहयोग मिलेको थियो । घलेका अनुसार गाउँ वरपरका घ्याब्रे गुरुलाई पनि बोलाएर प्रशिक्षण दिइने बताए । यसका लागि दैनिक १ हजार रुपैयाँको व्यवस्था गरिएको छ ।

प्रकाशित : श्रावण २९, २०७९ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्

घट्टेखोलाको घट्ट

कुटानीपिसानी मिलमा भन्दा घट्टमा पिसेको पिठोको स्वाद मिठो हुँदा स्थानीय यसको दुःख भुल्छन्
हरिराम उप्रेती

गोरखा — चुमनुव्री गाउँपालिका–३ पाङसिङकी सर्किनी गुरुङ दुई साताको अन्तरालमा अन्न कुटानी पिसानीका लागि घट्ट पुग्छिन् । गुरुङलाई पाङसिङबाट घट्टेखोलाको घट्ट पुग्ने झन्डै ३ घण्टा पैदल हिँड्नुपर्छ । घट्टमा पिसेको अन्नको स्वादले आधा दिनको दुःख बिर्साउने उनले सुनाइन् । ‘दुःख छ, घट्ट जान/आउन ५ देखि ६ घण्टा लाग्छ,’ उनले भनिन्, ‘तर कुटानीपिसानी मिलमा भन्दा घट्टमा पिसेको पिठोको स्वाद मिठो ।’

पछिल्लो समय कुटानी पिसानीका लागि मिलको प्रयोग बढेर घट्ट लोप हुँदै जाँदा फाट्टफुट्ट सञ्चालनमा रहेका घट्टमा चाप बढेको छ । चुमनुव्री–३ घट्टेखोलाको ३ वटा घट्टमा फिलिम, पाङसिङ, नाग्चेत, सिर्दिवास, सल्लेरीबाटसमेत कुटानी पिसानीका लागि स्थानीय पुग्छन् । ‘पाँच पाथी पिठो कुट्यो भने एक घोग (पाथी) घट्ट चलाउनेलाई छाड्छौँ,’ गुरुङले भनिन्, ‘घट्टमा आउँदा पैसा पनि खर्च हुँदैन, ज्यालामा अन्न नै दिए पनि हुन्छ ।’ पानीबाट चल्ने घट्ट छाडेर फिलिमको मिलमा कुटानी पिसानीको प्रचलन पनि बढ्दो छ । चार घण्टासम्म पैदल हिँडेर स्थानीय फिलिमको मिलमा पुग्छन् । तर पाका पुस्ता भने मिलभन्दा घट्टमै कुटानी पिसानीमा जोड दिन्छन् । घट्टेखोलाकी ७० वर्षिया म्याल्मो गुरुङलाई घर नजिकैको घट्टमा अन्न पिसानीका लागि अरूको सहारा चाहिँदैन । मिलमा कुटानीपिसानी गर्दा स्वादै बेग्लै आएपछि ग्याल्मो अहिले घट्ट नै पुग्छिन् । बरु फुर्सदको बेला पनि घट्ट पुगेर आफ्नो र छिमेकीको पनि अन्न पिसानीमा सघाउँछिन् । ‘पहिल्यैदेखि देखेको जानेको भनेको घट्ट हो, घट्टधनी घट्टमा छैनन् भने पनि आफैं अन्न पिध्छौँ,’ उनले भनिन्, ‘सबै विश्वास हो, ज्याला डालीमा छाडेर गए भइहाल्यो ।’ मकै कोदो, गहुँ, जौ, सिबिको दालका लागि अन्न घट्टमा पिस्ने प्रचलन रहेको उनले सुनाइन् । ‘यहाँ धान खेती हुँदैन, चामल किनेर खाने हो,’ म्याल्मोले भनिन्, ‘मिलमा भन्दा घट्टमा पिसेको अन्नको स्वादै बेग्लै, बढो आनन्द आउँछ ।’ पछिल्लो समय घट्ट लोप हुँदै गएकोमा उनले चिन्ता जनाइन् । घट्ट लोप हुँदै जाँदा स्थानीयले झनै दुःख पाएको उनको भनाइ छ । ‘गाउँको घट्ट नचल्दा अन्त खोज्दै जान मान्छेलाई धेरै समय लागेको छ, धेरै हिँड्नुपरेको छ,’ उनले भनिन् ।

विद्युतीय सामग्रीको प्रयोग वढ्दै जादा परम्परागत घट्टहरू देखिन छाडेका छन् । एक दशकअघिसम्म घट्टेखोलामा ८ घट्ट सञ्चालनमा थिए । अहिले ३ वटा सञ्चालनमा छन् । सात वर्ष अघि घट्टेखोलाका बाढीले घट्ट बगाएपछि थार्चेन गुरुङले पुन अर्को घट्ट निर्माणमा चासो दिएनन् । ‘हिमालमा ठूलो पानी परेर मेरो खोला छेउको घट्ट लग्यो,’ उनले भने, ‘त्यो बेलामा मिल पनि खुल्न थालेका थिए, अब घट्ट चल्दैन झं लाग्यो, अर्को बनाउन चासो दिइन् ।’ पाका पुस्ताले घट्ट रोजे पनि नयाँ पुस्ता भने मिलतर्फ आकर्षित हुने गरेको उनले बताए । सञ्चालक पनि घट्टमा अन्न पिस्ने मान्छे कम हुँदै जाँदा उक्त पेसा छाड्दै गएका छन् ।

प्रकाशित : श्रावण २९, २०७९ ०८:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×