लमजुङमा आगलागीले एउटा घर जल्यो

आश गुरुङ

लमजुङ — आगलागीबाट लमजुङको बेंसीसहर नगरपालिका ११, रामचोक बेंसीमा एउटा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

लमजुङमा आगलागीले एउटा घर जल्यो

आइते सार्की र उनकी पत्नी उजेली सार्की गरी पतिपत्नी मात्रै बस्दै आएको घरमा मंगलबार बिहान आगलागी भएको हो । वृद्धवृद्धा मात्रै बस्दै आएको घरमा बिहान १० बजेको आसपासमा आगलागी भएको नजिकै रहेको बालविकास माविका प्रधानाध्यापक मदनराज सेढाइँले बताए । उनका अनुसार २ छोरा रहेकोमा उनीहरू छुट्टिएर बसेपछि वृद्धवृद्धा मात्रै घर बस्दै आएका थिए ।

‘बिहान सवा १० बजेतिर आगलागीको खबर आयो । स्कुलबाट ३ सय मिटर जति टाढा छ घर । हामी शिक्षक, विद्यार्थी, स्थानीय सबै गएर आगलागी निभायौं,’ उनले भने । वडाअध्यक्ष शिवप्रसाद जोशीले घर जलेपछि वृद्धवृद्धाको बस्ने ठाउँ नभएकाले विभिन्न संघसंस्थासँग समन्वय गरी तत्कालको लागि वासास्थान र खानपिनको व्यवस्था मिलाइने बताए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले मंगलबार बिहान अन्दाजी साढे ९ बजेको समयमा बेंसीसहर नगरपालिका ११ चिती रामचोक कोलडाँडास्थित ७० वर्षीय आइते सार्कीको घरमा खाना पकाउने क्रममा अचानक आगलागी भइ घर पूर्ण रुपमा जलेको बताए ।

आगलागीपछि प्रहरी निरीक्षक विष्णु विकसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो । उनका अनुसार घर सबै जल्दा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । मानवीय तथा पशु चौपायको क्षति नभएको र उक्त आगो स्थानीय तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको उनले बताए ।

प्रकाशित : श्रावण २४, २०७९ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?