२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

पर्वतमा करेन्ट लागेर एकको मृत्यु, चार घाइते

अगन्धर तिवारी

पर्वत — सोमबार बिहान पर्वतको जलजला गाउँपालिका–७ मा एक्कासि अत्यधिक मात्रामा बिजुली वितरण भई विद्युत् 'सर्ट' हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

पर्वतमा करेन्ट लागेर एकको मृत्यु, चार घाइते

पर्वत प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीका अनुसार धाइरिङको धारापानीमा बिहान करिब ७ बजे एकैपटक उक्त घटना भएको हो । करेन्ट लागेर स्थानीय ५० वर्षीया सीता केसीको मृत्यु भएको छ । करेन्ट लागेर अन्य चार जना घाइते भएकोमा उनीहरुलाई उपचारका लागि म्याग्दीस्थीत बेनी अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार विद्युत्‌को मुख्य लाइन र घरघरमा वितरित लाइनका तार एकै पोलमा टाँगिएको र सोही मुख्य लाइनको तार वितरण लाइनमा जोडिँदा ‘हाईभोल्टेज’ लाइन बगेका कारण घटना भएको हो । घटनामा परी एक बाख्रा फर्ममा रहेका दर्जनबढी बाख्रा मरेको घटना प्रहरीले बताएको छ ।

विद्युत् लाइनको भोल्टेज नियन्त्रणभन्दा बाहिर जाँदा बस्तीका करिब दुई सय घरमा एकै साथ आगो सल्किएको गाउँपालिका अध्यक्ष एवं स्थानीय राजु आचार्यले बताए । स्थानीयको सक्रियताका कारण घरहरुमा भने कुनै भौतिक क्षति हुन पाएन । ती घरका मिटरबक्स र सबै वायरिङ जलेको स्थानीय राज आचार्यले बताए । उनका अनुसार गाउँका अन्य पशुचौपायासमेत मरेको भएपनि एकिन विवरण आइसकेको छैन ।

नेपाल विद्युत् प्राधिकरणको पर्वत वितरण केन्द्रले घटनाको पुष्टि गरेको छ । केन्द्र प्रमुख शिवनाराण गोशलीले बाँस ढलेर मेनलाइनको तार वितरण लाइनमा छोइएका कारण यो घटना घटेको प्रारम्भिक जानकारी आएको बताए । ‘अहिले हामीले त्यहाँ प्राविधिक पठाइसकेका छौं,’ उनले भने, ‘वास्तविकता के हो जानकारी आएपछि भनौंला ।’ प्राधिकरणको कमजोरी भए कार्यविधि अनुसार प्राधिकरणले क्षतिपूर्ति दिने उनले बताए ।

प्रकाशित : श्रावण २३, २०७९ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?