गाउँका ‘सिंहदरबार’ आउजाउमै ५ दिन- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँका ‘सिंहदरबार’ आउजाउमै ५ दिन

विकट र सडक सञ्जालले नछोएको चुमनुव्रीका स्थानीयलाई पालिका केन्द्रदेखि अस्पताल, विद्यालय पुग्नै सकस
हरिराम उप्रेती

गोरखा — चुमनुव्री गाउँपालिका–१ सामागाउँका छेवाङ नुर्वु २ दिनको पैदल यात्रापछि सिर्दिवास, फिलिममा रहेको गाउँपालिका केन्द्र आइपुगे । जिल्ला समन्वय समितिको साझेदारीमा बनेको वडा कार्यालय भवनको भुक्तानीका लागि आएका नुर्वु भुक्तानीमा समय लाग्दा एक सातासम्म फिलिममा अलमलिए ।


‘बलियो र हिँड्न सक्नेलाई गाउँपालिका केन्द्र आउन मात्र २ दिन लाग्छ, सबै कागजपत्र पुगे एक दिनमा काम सकिन्छ, नत्र कति दिन बस्नुपर्छ थाहा हुँदैन,’ उनले भने, ‘गाउँ फर्कन चाहिँ दुई दिनले भ्याउँदैन, उकालो भएकाले ३ दिनसम्म लाग्छ ।’ गाउँपालिका केन्द्र आउन परे कम्तीमा एक साताका लागि ‘खर्च’ छुट्याएर निक्लिन पर्ने उनले दुखेसो पोखे । ‘बाटो राम्रो भए ५ दिनमा गाउँपालिका केन्द्र पुगेर फर्कन सकिन्छ, काम बनेन, बाटोमा पहिरो गयो भने साता दिन त्यसै लाग्छ, गाउँपालिका केन्द्र झरेको बेला कतिखेर घर पुगिन्छ ठेगान चाहिँ हुँदैन,’ नुर्वुले भने ।

देश संघीयतामा गएसँगै ‘गाउँ–गाउँमा सिंहदरबार’ नारा निकै लोकप्रिय बन्यो । तर दुर्गमको चुमनुव्रीवासीले भने सिंहदरबारको भरपुर उपयोग गर्न पाएका छैनन् । तिब्बत सीमा क्षेत्रको सामागाउँस्थित साम्दोका स्थानीयलाई गाउँपालिका केन्द्र पुगेर फर्कन ५ दिन लाग्छ । सदरमुकाम केन्द्रित अधिकांश सरकारी कार्यालय स्थानीय तहमा छन् । तर तिनै सरकारी कार्यालयको सेवा पाउन पनि स्थानीयलाई घण्टौं खर्चनुपर्छ ।

भौगोलिक विकटता र सडक सञ्जालको पँहुच बाहिर रहेको चुमनुव्रीवासी ‘गाउँको सिंहदरबार’ सम्म पुगेर आफ्नो काम फत्ते गर्नै समय लाग्ने बताउँछन् । आकस्मिक औषधि उपचारका लागि अस्पताल र सहर जाने मोटर चढ्न स्थानीयलाई बस्तीअनुसार २ देखि ४ दिनसम्मको पैदलयात्रा गर्नुपर्छ । तिब्बत सीमा क्षेत्रको अर्को गाउँ छेकम्पारबाट गाउँपालिका केन्द्र झर्न पनि कम्तीमा २ दिन यात्रा गर्नुपर्छ ।

सात वडा रहेको चुमनुव्रीमा सबैजसो वडावासीलाई वडा कार्यालय पुगेर फर्कन पनि एक दिन खर्चनुपर्छ । चुमनुव्री–३ को वडा कार्यालय फिलिममा छ । न्याक गाउँका स्थानीयलाई फिलिमको वडा कार्यालय पुगेर फर्कन कम्तीमा एक दिन लाग्ने स्थानीय बताउँछन् । पाङसिङका कान्छा गुरुङ एक बिहान खर्च गरेर जग्गाको तिरो तिर्न वडा कार्यालय आइपुगे । काम सकेर फर्कन उनि हतारोमा थिए । ‘१५ मिनेटको कामका लागि दिनै माया मार्नुपर्छ, बर्खाको बेला पानी परे रोकिनुपर्छ, गाउँ टाढा छ रात किन पार्ने ?,’ उनले भने, ‘आउँदा ओरालो र तेर्सो बाटो समय धेरै लागे पनि सजिलै छ, वडा कार्यालयबाट पाङसिङ फर्कन कस्सिएर हिँडे चार घण्टा लाग्छ, एउटा दिन माया मारेर वडा पुग्ने गर्छौं ।’ सात वडामध्ये ६ वडाका स्थानीयलाई गाउँपालिका केन्द्रमा कुनै सेवा लिनुपरे कम्तीमा एक रात फिलिममा वास बस्नुपर्ने बाध्यता छ । ल्हो र प्रोकबाट गाउँपालिका केन्द्र पुग्न कम्तीमा दुई दिन लाग्छ । सिर्दिवाससँगै जोडिएको अर्को चुम्चेतवासी पनि एक दिन पैदलयात्रा नगरी गाउँपालिका केन्द्र पुग्दैनन् ।

चुमनुव्री गाउँपालिकाभरिमा २ मात्र माध्यमिक विद्यालय छन् । फिलिमको बुद्ध माविमा टाढाका विद्यार्थी आवासीय सुविधासहित पढ्छन् । सिर्दिवास आसपासका देवल, पाती, सानो फिलिमका विद्यार्थीलाई विद्यालय पुग्नै सकस छ । कम्तीमा एकदेखि डेढ घण्टा पैदल हिँडेर मात्र बालबालिका विद्यालय पुग्ने वडाध्यक्ष रामकुमार गुरुङ बताउँछन् । ‘बाटो अप्ठेरो छ, पानी परेर खोला बढे विद्यार्थी रोकिन्छन्,’ उनले भने, ‘पाती, देवल र सानो फिलिमका बालबालिका र स्थानीयलाई सहजताका लागि युवङ खोलाको दुई ठाउँमा झोलुंगे पुल राख्न पाए सुबिस्ता हुन्थ्यो ।’

स्थानीयलाई स्वास्थ्य चौकीको सेवा लिन पनि घण्टौं यात्रा गर्नुपर्छ । चुमनुव्री–३ कै देवल गाउँमा स्वास्थ्य संस्था छैनन् । स्वास्थ्य सेवा लिनुपरे २ घण्टाको पैदल यात्रा गरेर सिर्दिवासको स्वास्थ्य चौकी पुग्नुपर्छ । देवलमा ‘हेलिप्याड’ पनि छैन । आकस्मिक उपचारका लागि हेलिकप्टरमार्फत झर्नुपरे सिर्दिवासको हेलिप्याड पुग्नुपर्छ । ‘सबै सेवाका लागि फिलिम नपुगी हुँदैन, जाने बाटो पनि राम्रो भइदिए पो,’ देवलकी मन्दरी गुरुङले भनिन्, ‘दुर्गमको गाम–ठाम यस्तै हो ।’

विगतको वर्ष चुमनुव्रीवासीलाई बैंकिङ सेवा लिन सदरमुकाम झर्नुपर्थ्यो । अहिले गाउँपालिका केन्द्रमा बैंकको शाखा छ । गत आर्थिक वर्ष भने यहाँका स्थानीय फिलिममा रहेको बैंकबाट योजना भुक्तानी लिएका थिए । अघिल्ला वर्ष जस्तै योजना फर्स्योटका लागि सदरमुकाम नै पुग्नुपर्ने बाध्यता भने हटेको सिर्दिवासका कुशमान गुरुङले बताए । ‘केही नभएको होइन, केही सजिलो पनि भएको छ, अघिल्ला वर्ष योजनाको पैसा लिन सदरमुकाम पुगेर फर्कन १० दिन लाग्थ्यो, यो वर्ष त गाउँमै बैंक भएपछि सजिलो बन्यो,’ उनले भने ।

दुर्गमका स्थानीयलाई सहजताका लागि सिर्दिवासको फिलिममा मालपोत र नापीको कार्यालय छ । सिर्दिवासमा इलाका प्रशासन कार्यालय पनि छ । माथिल्ला गाउँका स्थानीयलाई योजनाको बारे बुझ्न, नागरिकता बनाउन तथा सिफारिस लिन गाउँपालिकाको केन्द्र आउनुपर्ने बाध्यता छ । उत्तरी गोरखामा धान खेती हुँदैन । दैनिक उपभोग्य सामाग्री ढुवानीका लागि पनि गोरखाको तल्लो बजार आरुघाट, आर्खेत र माछाखोबाट ढुवानी हुने गर्छ । माछाखोलासम्म गाडीबाट पुगेको सामग्री गाउँपालिका केन्द्र रहेको फिलिमसम्म पुर्‍याउन डेढ दिन लाग्छ । उपल्लो बस्ती सामागाउँ खच्चडबाटै सामग्री पुग्न पाँच दिनसम्म लाग्छ ।

प्रकाशित : श्रावण २३, २०७९ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्

फेरि बढ्यो कोरोना संक्रमण

एक महिनामा संक्रमितको सख्यां १ सय ४३
चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ । करिब तीन महिना कोरोना संक्रमितको संख्या शून्य रहेको कर्णालीमा पछिल्लो चार सातामा संक्रमितको संख्या बढेको हो । गत असार २१ मा एक जनामा मात्रै संक्रमण देखिएको थियो । एक महिनाभित्र (साउन २१ सम्म) कुल संक्रमितको सख्यां १ सय ४३ पुगेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार शनिबार मात्रै आठ जनामा गरिएको आरटी–पीसीआर परीक्षणमा चार जनामा कोरोना पोजिटिभ देखिएको छ । ‘परीक्षण गराएका मध्ये ५० प्रतिशतमा संक्रमण देखिएको छ,’ निर्देशनालयका निर्देशक डा. रविन खड्काले भने, ‘हामी कोही व्यक्तिको मृत्यु नभएसम्म डराउँदैनौं तर अहिलेको अवस्था पनि डरलाग्दो हो ।’ आइतबार पत्रकारसँगको अन्तरक्रियामा उनले सामान्य लक्षण देखिएका व्यक्तिहरू परिक्षण गराउन नआएको बताए । ‘स्वास्थ्यकर्मी तथा कर्मचारी, विदेश जानेवाला मात्रै परीक्षण गराउन आएका छन्, अहिले कोही पनि परीक्षण गराउन नआउनु ठूलो चुनौती हो,’ उनले भने ।

हालसम्म कर्णालीमा कोरोना संक्रमणबाट ३ सय ९१ जनाको मृत्यु भएको छ । गत फागुन १८ यता कर्णालीमा कोरोना संक्रमित एक जनाको पनि मृत्यु भएको छैन । कर्णालीमा हालसम्म १ लाख ३० हजार दुई सय ९४ पीसीआर परीक्षण गर्दा २३ हजार २ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । निर्देशनालयका अनुसार ६७ हजार ४४ एन्टिजेन परीक्षण गर्दा १५ हजार ७ सय ५५ जनामा संक्रमण देखिएको छ ।

कोरोना संक्रमण ह्वात्तै बढेमा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले दरबन्दीअनुसार पर्याप्त दक्ष तथा तालिमप्राप्त जनशक्तिको अभाव हुने जनाएको छ । प्रदेशभर कुल ८ सय ८८ जना स्वास्थ्यकर्मीको स्थायी दरबन्दी रहेकामा ३ सय २५ मात्रै पूर्ति भएको छ । ५ सय ६७ जनाको स्थायी दरबन्दी रिक्त छ । हाल कर्णालीमा दरबन्दी करारमा २ सय ५५ र अन्य करारमा ५ सय ४२ कर्मचारी कार्यरत छन् । निर्देशक डा. खड्काले डोल्पा, मुगु र हुम्लामा विशेषज्ञ चिकित्सकको अभाव रहेको बताए । उनले नर्सिङ तथा प्यारामेडिक्स पदपूर्ति तथा थप जनशक्तिको आवश्यकता परेको जनाए । उनले सरकारले कोभिड करारका कर्मचारीका लागि बजेट पनि विनियोजन नगरेको बताए । ‘कुनै पनि सरकारले यसका लागि बजेट छुट्याएको छैन,’ उनले भने, ‘कोरोना बढेको खण्डमा हामीले कर्मचारी थप गर्नैपर्ने हुन्छ, त्यसका लागि बजेट आवश्यक पर्छ ।’

निर्देशक डा. खड्काले एम्बुलेन्स तथा शववाहनको पर्याप्त व्यवस्था हुन नसक्नु, नियमित विद्युत्को आपूर्ति र ऊर्जाको समेत भरपर्दो व्यवस्था नहुनु, दक्ष जनशक्तिको अभावमा अधिकांश जिल्लामा आईसीयू र एचडीयू भेन्टिलेटर सञ्चालन हुन नसक्दा कोभिड नियन्त्रणमा चुनौती देखा पर्ने बताए । उनले जुम्लामा कोल्ड चेन रुमको स्थापना गर्नुपर्ने, छिन्चु, कपुरकोट र कुइनेमा होल्डिङ स्क्रिनिङ सेन्टर सञ्चालनमा आएकोमा व्यवस्थित ढंगले सञ्चालन नभएकाले यसतर्फ स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने बताए ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णाली प्रदेशभर डोल्पाबाहेक अन्य नौ जिल्लामा १६ अक्सिजन प्लान्ट जडान गरिएको छ । प्रदेश अस्पताल सुर्खेत, कटकुवा हेल्थपोस्ट, मेहेलकुना अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र रुकुम पश्चिमको चौरजहारी अस्पतालमा जडान गरिएका एक/एकवटा अक्सिजन प्लान्ट प्रयोगमा नआएको निर्देशक डा. खड्काले बताए । उनका अनुसार हाल प्रदेशभर डोल्पाबाहेक अन्य जिल्लामा ११ वटा अक्सिजन प्लान्ट सञ्चालनमा छन् ।

प्रकाशित : श्रावण २३, २०७९ १०:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×