कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पूर्वी नवलपरासीबाट फेरि चुनाव लड्छु : नेता कोइराला

नारायण शर्मा

पूर्वी नवलपरासी — नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आगामी मंसिरमा हुने निर्वाचनमा पूर्वी नवलपरासी १ मा उम्मेदवार बन्ने घोषणा गरेका छन् । यस क्षेत्रबाट लगातार ३ पटक निर्वाचन जितिसकेका कोइरालाले चौंथोपटक उम्मेदवार बन्ने आइतबार घोषणा गरेका हुन् । 

पूर्वी नवलपरासीबाट फेरि चुनाव लड्छु : नेता कोइराला

प्रेस यूनियनको केन्द्रीय महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई आइतबार कावासोतीमा आयोजित सम्मान कार्यक्रममा कोइरालाले जिल्लाको विकासका लागि चार योजना अघि सार्दै फेरि उम्मेदवारी दिने निर्णयमा पुगेको सुनाएका हुन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको खेलमैदान, ट्रमा सेन्टर, त्रिवेणीदेखि देवघाटसम्म नारायणीको किनारैकिनार पक्की सडक संजाल र विपन्नको जीवनस्तर उकास्न कृषि कार्याक्रम लागू गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

'पूर्वी नवलपरासीलाई उत्कृष्ट जिल्ला बनाउन मैले अघि सारेका यी ४ वटा कुरा पुरा गर्न फेरि चौंथो पटक उम्मेदवारी दिने निर्णय गरेको छु,' कोइरालाले भने, 'नवलपरासीमा लागू गरिने यी योजनाबाट जिल्लाको कायापलट हुन्छ ।'

उनले बीपी अन्तर्राष्ट्रिय खेल मैदानका स्वदेशको बजेटले मात्रै अपुग हुने भएकोले छिमेकी देशका साथीहरुसँग यसबारे छलफल भइरहेको पनि दाबी गरे । 'यो परियोजना नेपाल सरकारको बजेटबाट मात्र सम्भव हुँदैन,' उनले भने, 'त्यसका लागि मेरा भारतीय मित्रहरुसँग कुरा गरेको छु ।' उक्त खेल मैदान निर्माणका लागि अर्थ मन्त्रालयले गैंडाकोट नगरपालिकामा प्रस्ताव गरेर बजेटसमेत विनियोजन गरेको छ ।

लगातार तीन पटकसम्म संघीय सांसदमा निर्वाचित सांसद कोइरालाले देखिने काम नगरेको भन्दै मतदाताले आलोचना भइरहँदा चौंथो पटक चुनाव लड्ने घोषणा गरेका हुन् । सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्न मिति तोकेको छ ।

प्रकाशित : श्रावण २२, २०७९ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?