प्रहरी र अदालतबीच समन्वय र विश्वास आवश्यक : महानिरीक्षक सिंह

लालप्रसाद शर्मा.

पोखरा — प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले फौजदारी न्याय प्रणालीका तीन खम्बा प्रहरी, सरकारी वकिल र अदालतबीच आपसी सहयोग, समन्वय र विश्वास आवश्यक रहेको बताएका छन् । कहिलेकाहीँ अपराध अनुसन्धान (प्रहरी), अभियोजन (सरकारी वकिल) र न्यायालयबीच एकापसमा अविश्वास उत्पन्न भएको विषय सार्वजनिक हुने गरेको उनले बताए ।

प्रहरी र अदालतबीच समन्वय र विश्वास आवश्यक : महानिरीक्षक सिंह

‘तीनवटै निकायबीच आपसी समन्वय, सहयोग र विश्वास आवश्यक छ,’ गण्डकी प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा आइतबार पोखरामा उनले भने, ‘यस्तो अवस्थामा मात्र दोषीलाई कारबाही र पीडितलाई न्याय दिन सकिन्छ ।’ एकले अर्कोलाई आरोप लगाउने, अपराध अनुसन्धान राम्रो नभएको, सही अभियोजन नभएको र कहिलेकाहीँ न्यायालयबारे विभिन्न टिप्पणी हुने गरेको भन्दै उनले यो तीनवटै निकायका लागि राम्रो नभएकाले यसको निराकरणका लागि विश्वास, समन्वय र सहयोग आवश्यक रहेकोमा जोड दिए ।

नेपाल प्रहरीको मुख्य दायित्व अपराध अनुसन्धान रहेको र यसलाई अझ बढी निखार्दै अघि बढ्ने भन्नेमा विषयमा प्रहरी सधैं दत्तचित्त भएर लागेको उनले बताए । प्रहरीलाई स्रोतसाधन सम्पन्न गराउन सके उच्च मनोबलका साथ अघि बढ्ने उनको भनाइ थियो ।

सिंहले मंसिरमा हुन लागेको संघ र प्रदेशको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र तरिकाले सम्पन्न गर्ने वातावरण बनाउने प्रहरीको मुख्य दायित्व रहेकाले सोही अनुसार काम गर्न प्रहरीका जिल्ला प्रमुखहरुलाई निर्देशन दिए । ‘राजनीतिक दल र अन्य सुरक्षा निकायबीच समन्वय र सहकार्य गरी अघि बढ्न निर्देशन दिन्छ,’ उनले भने । गोष्ठीले आपसी समन्वय बढाएर अपराध अनुसन्धानमा दक्ष बनाउने विश्वास उनले व्यक्त गरे ।

गोष्ठीको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले पछिल्लो समय अपराधका स्वरुप फरकफरक ढंगले अघि बढेको सन्दर्भमा प्रहरीले पनि सोही अनुसार रणनीति बनाइ अपराध अनुसन्धानमा लाग्नुपर्ने बताए । मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाले राजनीति र भनसुनको प्रभावलाई कम गर्नसके प्रहरीले अझै धेरै सफलता हासिल गर्न सक्ने बताए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी उत्तमराज सुवेदीले अपराध अनुसन्धानलाई भरपर्दो, पारदर्शी र विश्वासिलो बनाउन गोष्ठीको आयोजना गरिएको बताए । अपराधका प्रकृति र प्रवृत्ति फरकफरक हुँदै गएको उनले उल्लेख गरे । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले घरपरिवार बिखण्डन हुन पुगेको अर्थात् घरबाटै अपराध हुने गरेको उनको भनाइ थियो । पहिला ८० प्रतिशत अपराध अपरिचितबाट हुन्थ्यो भने अहिले ८५ प्रतिशत अपराध चिनेजानेका व्यक्तिबाट हुन थालेको तथ्यांक उनले जनाए ।

‘सामाजिक सञ्जालको दुरुपयोग अपराधको प्रमुख कारण बनेको छ । विद्यालयमा नैतिक शिक्षाको पढाइ नहुँदा पनि समस्या भएको होकी भन्ने लागेको छ,’ उनले भने, ‘स्कुलको पढाइ सकिँदा नसकिँदा विभिन्न अपराधमा संलग्न हुने देखिएकाले यसतर्फ ध्यान दिन जरुरी छ ।’ साइबर क्राइम पनि बढ्दो भएकाले अब प्रहरीलाई प्रविधियुक्त हिसाबले अपराधको अनुसन्धान गर्न सक्षम बनाउन आवश्यक रहेको उनले बताए ।

नेपाल प्रहरीको अन्वेषण योजना तथा विकास निर्देशनालयका नायब महानिरीक्षक भीमप्रसाद ढकालले अपराध अनुसन्धान जटिल हुँदै गएको अवस्थामा यसको समीक्षा र अनुसन्धानलाई कसरी सशक्त बनाउने विषयमा गोष्ठीमा छलफल हुने बताए । गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी रामदत्त जोशीले फौजदारी न्याय प्रणालीका तीन खम्बा सुदृढ भएमात्रै अपराध अनुसन्धानको सार्थकता हुने भन्दै प्रहरीलाई दबाव, प्रभाव र अभावमुक्त बनाउनु पर्नेमा जोड दिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले अध्यारोमा बत्तीको महत्त्व भएजस्तै नेपाल प्रहरी पनि जनताका लागि बत्ती भएकाले सोही अनुसार काम गर्नुपर्ने बताए ।

प्रकाशित : श्रावण २२, २०७९ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?