२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सहिद र बेपत्ताका परिवारलाई मासिक १२ सय

कान्तिपुर संवाददाता

बागलुङ — नीतिगत व्यवस्था गरिसकेको ताराखोला गाउँपालिकाले सशस्त्र द्वन्द्वका सहिद परिवार, बेपत्ता परिवार, घाइते र अपांगलाई मासिक भत्ता दिने निर्णय गरेको छ । गत सोमबारको कार्यपालिका बैठकले सहिद परिवार, घाइते र अपांगलाई राहत उपलब्ध गराउने कार्यविधि पारित गरेको हो ।

उक्त कार्यविधि पारित भएपछि लक्षित वर्गलाई भत्ता दिने बाटो खुलेको गाउँपालिका अध्यक्ष धनबहादुर विकले बताए । सशस्त्र द्वन्द्वमा ताराखोला बढी प्रभावित क्षेत्र हो । कार्यविधिअनुसार तत्कालका लागि सहिद र बेपत्ता परिवारका लागि मासिक १२ सय, घाइते र अपांगता भएकालाई प्रकृति हेरेर ५ सयदेखि १ हजार रुपैयाँसम्म दिने कार्यविधि बनेको उनले जानकारी दिए । ताराखोलाबाट मात्रै सशस्त्र द्वन्द्वमा २१ जना सहिद भएका थिए । २ जना बेपत्ता छन् ।

उनीहरूको सम्झानामा गत वर्षदेखि नै सहिद स्मृति पार्क निर्माणसमेत थालिएको छ । सहिद र बेपत्ताको तस्बिर संकलन गरेर गाउँपालिकाले सभाहलमा राखिएको छ । सहिदको सम्मान गर्न गाउँपालिकाकै अगुवाइमा सहिद सप्ताह मनाउने गरिन्छ ।

निर्माणाधीन पार्कमा २३ जनाको मूर्ति राख्ने योजना छ । द्वन्द्वमा मारिएकाको न्यायका लागि भन्दै यसअघि नै पार्क तयारी थियो । बैठकले बेपत्ता र सहिद परिवारलाई स्वरोजगार बनाउने कार्यक्रमसमेत सञ्चालन गरिने निर्णय गरेको छ ।

प्रकाशित : श्रावण २२, २०७९ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?