२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

आइपरे एक्लै चुनाव लड्नुपर्छ तयारी अवस्थामा बस्नुस् : माधव नेपाल

'हामी इमानदारीपूर्वक भोट दिन्छौं, कांग्रेसले दिँदैन । कांग्रेसका नेता मिले पनि कार्यकर्ता इमानदारिता देखाउँदैनन् ।'
प्रतीक्षा काफ्ले

कास्की — नेपाल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा एक्लै चुनाव लड्ने अवस्था आउने भन्दै कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

आइपरे एक्लै चुनाव लड्नुपर्छ तयारी अवस्थामा बस्नुस् : माधव नेपाल

उनले गठबन्धनमा कांग्रेसले सम्मानपूर्वक सिट नदिए एक्लै पनि चुनाव लड्ने अवस्था आउने बताएका हुन् । शनिबार पोखरामा पत्रकारसँग भेटघाटको क्रममा उनले चित्तबुझ्दो सिट बाँडफाँट भए गठबन्धनबाटै चुनाव लड्ने बताएका हुन् । उनले आफूहरूको माग कति सिट भन्ने विषयमा भने खुलाएनन् ।

आगामी निर्वाचनको लागि तयारीमा जुटेको भन्दै नेपालले कार्यकर्तालाई भने, ‘पार्टी संगठन बलियो बनाउनुस् । उम्मेदवार खडा गर्नुस् ।’ माओवादीसँगै समाजवादी पार्टी पनि नेपालको राजनीतिमा तेस्रो स्थानमा रहेको उनको तर्क छ । उनले गठबन्धनबाट चुनाव लड्दा कसलाई कति सिट भन्ने विषयमा छलफल भइरहेको बताए ।

यद्यपि ५ दलीय गठबन्धन मिलेर नै चुनाव लड्ने उनको भनाइ थियो । तर, स्थानीय तहको निर्वाचनपछि आफूहरू झस्किएको उनको भनाइ थियो । ‘कांग्रेसका नेता मिले पनि कार्यकर्ता इमानदारिता देखाउँदैनन्,’ उनले भने, ‘गठबन्धन गरेर चुनाव लडिरहँदा वडा तहमा मिल्न सकिएन । हामी इमानदारपूर्वक भोट दिन्छौं कांग्रेसले दिँदैन ।’ देशभर सहमति नहुँदा अबको निर्वाचनमा पनि के हुन्छ भनेर झस्किएको उनले तर्क गरेका थिए । उनले छोटो समयमा पार्टी राम्रो बन्दै गएको पनि दाबी गरे ।

यस्तै अध्यक्ष नेपालले एमसीसीको विषयमा पनि टिप्पणी गरेका थिए । व्याख्यात्मक टिप्पणी गर्न सकिने अवस्था रहँदा रहँदै पनि विरोधीले विरोधका लागि मात्रै विरोध गरेको जनाए ।

‘एमालेले कुनै पनि बुँदा संशोधन नगरी पास गर्ने तयारीमा थियो,’ उनले थपे, ‘हामी देशको हितमा नरहँका बुँदा सच्चाएर पास गर्ने भनेका थियौँ । सोही सहमति अनुसार एमसीसी पारित भएको हो ।’

उनले देशको हित विपरीत भएमा व्याख्यात्मक टिप्पणी गरी पुनः उल्टाउन पनि सकिने बताए । नागरिकता विधेयकको सन्दर्भमा भने उनले यसलाई पारित गर्नु स्वभाविक रहेको बताए ।

यसवाहेक नेपालमा वामपन्थी आन्दोलनलाई जोगाउने दायित्व आफूहरूको रहेको बताए । संचारकर्मीले एमालेसँगको एकता कति सम्भव छ भनेर प्रश्न गर्दा उनले एमालेले ५ जना नेतालाई देशद्रोही घोषण गरेको एमालेसँग एकता सम्भव नरहेको बताए । बरु एमालेमा अब भविष्य नरहेको भन्दै शिक्षित नेताहरूलाई बेलैमा समाजवादीमा आउन पनि उनको आग्रह थियो ।

प्रकाशित : श्रावण २१, २०७९ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?