विद्यार्थीलाई शशांकको सुझाव : पढाइ सकेपछि मात्रै राजनीतिमा लाग्नुपर्छ


पूर्वी नवलपरासी — नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले विद्यार्थीले पढाइ नसकेसम्म राजनीतिमा प्रवेश गर्न नहुने बताएका छन् ।

विद्यार्थीले राजनीति गर्ने होइन भन्ने कुरा आफूले कांग्रेसका नेता बीपी कोइरालाबाट सिकेको उनको भनाइ थियो । 'विद्यार्थीले राजनीति गर्ने होइन भन्ने कुरा मैले बीपी कोइरालाबाट सिकेको हो । पहिले पढ्ने अनि पढाइमा उत्कृष्ट बनेपछि मात्र राजनीतिमा लाग्नुपर्छ,' कोइरालाले भने ।
यसपटकको एसईई परीक्षा उत्तीर्ण विद्यार्थीलाई गैंडाकोटमा शनिबार आयोजित सम्मान कार्यक्रममा डा. कोइरालाले यस्तो बताएका हुन् । विद्यालय राजनीति गर्ने ठाउँ नभएको भन्दै पहिला विद्यार्थीहरू पढाइमा दक्ष हुन जरुरी रहेको सुझाव दिए।
आफूले पनि विद्यार्थी जीवनमा राजनीति नगरेको स्मरण गर्दै नेता कोइरालाले भने, 'मैले पहिला पढाइलाई उत्कृष्ट गराएँ । त्यसपछि राजनीतिमा लागेँ । अहिले पनि म राजनीतिमा उत्कृष्ट नै छु जस्तो लाग्छ ।'
यस सन्दर्भमा उनले जसले जे काम गर्छ त्यसलाई उत्कृष्ट बनाउनुपर्ने दायित्व पनि उसैको हुने भन्दै विद्यार्थीहरूलाई उनले पढाइमा अब्बल हुनुपर्ने सुझाव दिएका थिए ।
एसईई सकेका विद्यार्थीलाई बधाइ तथा सम्मान दिँदै कोइरालले पहिला पढाइलाई उत्कृष्ट गराएर मात्र राजनीतिमा आउन पटकपटक आग्रह गरेका थिए ।
गैंडाकोट नगरपालिकाभित्रका विद्यालयबाट यसपटक एसईई उत्तीर्ण गरेका करिब १३ सय विद्यार्थीमध्ये ६ सयभन्दा बढीलाई शनिबार सम्मान गरिएको थियो । एसईईमा सामेल हुने विद्यार्थीहरू अधिकांश आगामी मंसिरको निर्वाचनका मतदाता समेत हुनसक्ने अपेक्षा गरिएको छ । डा कोइराला पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट लगातार तेस्रोपटक प्रतिनिधिसभा सदस्यको रुपमा विजयी भइसकेका सांसद हुन् ।
प्रकाशित : श्रावण २१, २०७९ १८:०७