लागूऔषध ओसारपसारमा महिला- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लागूऔषध ओसारपसारमा महिला

‘महिलालाई कसैले झट्टै शंका नगर्ने हुँदा गन्तव्यमा पुर्‍याउन पनि सहज हुने भएकाले ओसारपोसारमा महिलाको संलग्नता बढ्दो छ’
सम्झना रसाइली

तनहुँ — बुटवलकी ३५ वर्षीया महिला लागूऔषध ओसारपोसार गरेको मुद्दामा अहिले जिल्ला कारागार तनहुँमा सजय भोगिरहेकी छन् । आम्दानीको कुनै स्रोत नहुँदा लागूऔषध ओसारपोसार गरी आर्थिक व्यवस्थापन गरिरहेको अवस्थामा पक्राउ परेको उनको भनाइ छ ।

१२ वर्षको उमेरमै भारतमा बेचिएको बताउने उनी अहिले यौन रोगको समस्याबाट पीडित छिन् । उनले भनिन्, ‘१८ वर्षको उमेरमा एचआईभीबाट संक्रमित भएपछि उनीहरूले मलाई छाडिदिए । त्यसपछि नेपाल फर्किएर एचआईभी सम्बन्धी जनचेतना फैलाउने संस्थासंगै बस्ने र काम गर्ने गरें ।’

आफू लागूऔषध प्रयोगकर्ता नरहेको बताउने उनले पैसाको लागि मात्र लागूऔषध ओसारपोसार गरेको बताइन् । ‘यौनरोग लागेसँगै निरन्तर पानी बग्ने समस्याबाट पीडित भए, सौतेनी आमा भएकाले उपचारका लागि पैसा दिइनन्’, उनले भनिन्, ‘एचआईभीसम्बन्धी कार्यक्रममा जाँदा एक व्यक्तिले लागूऔषध ओसारपोसार गर्दिए राम्रो पैसा दिन्छु भने । मेरो उपचारको लागि पैसा चाहिएकाले यो काम गरेकी हुँ । सबै ठिकै चलिरहेको थियो तर एक दिन बुटवलबाट पोखरा लागूऔषध पुर्‍याउन आउँदा म समातिए र अहिले सजाय काट्दै छु ।’

अन्य कुनै काम नपाएकै कारण लागूऔषध ओसारपोसारमा संलग्न भएको ३४ वर्षीया अर्की महिला बताउँछिन् । उनी पनि अहिले जिल्ला कारागारमा ३ वर्षका लागि सजाय काट्दै छिन् । घरपरिवारमा पनि राम्रो सम्बन्ध नभएको र आर्थिक रुपमा पनि कमजोर भएका कारण पैसा कमाउनकै लागि लागूऔषध ओसारपोसार गर्ने गरेको उनले बताइन् । ‘बाहिरै राम्रो काम पाएको भए लागूऔषध ओसार्ने काम गर्ने थिइन’, उनले भनिन् ।

पछिल्लो समय जिल्लामा लागूऔषध कारोबार बढ्दो रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ३७ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएकोमा ४८ जना पुरुष र ५ जना महिला पक्राउ परेका छन् । आव २०७७/७८ मा ३६ मुद्दा दर्ता भएकोमा ५८ पुरुष र ३ जना महिला पक्राउ परेका थिए । आव २०७६/०७ मा २७ वटा मुद्दा दर्ता भएकामा ४० पुरुष र २ जना महिला पक्राउ परेका छन् ।

प्रहरीको पछिल्लो ३ वर्षको तत्थांक हेर्दा लागूऔषध कारोबारीको संख्या वर्षेनी बढ्दो देखिन्छ । महिला पनि लागूऔषध प्रयोग गर्ने र कारोबार पनि गर्ने गरेको देखिएका छन् । प्रहरी नायब उपरीक्षक खड्काले भने, ‘महिलालाई कसैले झट्टै शंका नगर्ने र उनीहरूलाई लागूऔषध लुकाएर गन्तव्यमा लान सहज हुने भएकाले पछिल्लो समय लागूऔषध ओसारपोसारमा महिलाको संलग्नता बढ्दो छ ।’

जिल्लालाई लागूऔषधको ट्रान्जिट प्वाइन्टका रूपमा पनि लिइन्छ । भारत तथा सीमाबाट ल्याइएको लागूऔषध तनहुँमा ल्याएर संकलन गरी यहाँबाट गण्डकी प्रदेशका विभिन्न जिल्लामा पुर्‍याइने गरिन्छ । गण्डकी प्रदेशको पाल्पा, स्याङजा हुँदै आउने बाटो घुमाउरो र लामो पर्ने हुँदा सुनौली र वीरगन्जबाट आउने लागूऔषधका व्यापारी वा कारोबारीले सहज र सजिलोका रूपमा पृथ्वी राजमार्गलाई प्रयोग गर्ने गरेको भेटिएको छ ।

गत साउन १२ मा डुम्रेबाट ३ जना पुरुषलाई लागूऔषधसहित पक्राउ गरेको थियो । प्रहरी नायब उपरीक्षक खड्काका अनुसार सागर क्षेत्री, विनोद शाही र दिपेन्द्र भण्डारीलाई डुम्रेबाट २१० थान लागूऔषधसहित पक्राउ गरिएको हो । उनीहरूले भारतबाट लागूऔषध ल्याई लमजुङ लैजान लागेको अनुसन्धनका क्रममा खुलेको थियो ।

प्रकाशित : श्रावण २१, २०७९ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्

लमजुङ अस्पतालले पाएन करोडौं भुक्तानी

आश गुरुङ

लमजुङ — जिल्ला अस्पताल लमजुङले कोरोना संक्रमितको उपचार र स्वास्थ्य बिमा गरेका बिरामीको उपचार गरेबापत १ करोड ७१ लाख रुपैयाँ भुक्तानी पाएको छैन । आर्थिक वर्ष २०७८/७९ भित्रै उक्त रकम पाउनुपर्नेमा नपाएको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमित बिरामीको उपचार गरेबापतको ९० लाख ९३ हजार रुपैयाँ र बिमा गरेका नागरिकको उपचार गरेबापतको ८० लाख रुपैयाँ पाउन बाँकी रहेको अस्पतालले जनाएको छ । पाउनपर्ने रकम नपाउँदा नियमित औषधि खरिद, कर्मचारीको तलब, आन्तरिक व्यवस्थापनलगायतमा समस्या परेको अस्पतालले जनाएको छ ।

२०७८ जेठबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममार्फत अस्पतालमा गत असार मसान्तसम्म १२ हजार २ सय ८५ बिमितले सेवा लिइसकेका छन् । उपचारमा झन्डै १ करोड ६५ लाख रुपैयाँ खर्च भएको छ । श्रेष्ठका अनुसार हालसम्म ८४ लाख ६० हजार रुपैयाँ मात्रै भुक्तानी पाएको छ । लमजुङमा १४ जना बढीले स्वास्थ्य बिमा गरेका छन् ।

‘स्वास्थ्य बिमाको कार्यक्रम सुरु भएसँगै हामीले सरकारको नीति र निर्देशनअनुसार बिमा गरेकालाई उपचार सेवा दिँदै आएका छौं । हामीले सबै प्रक्रिया पूरा गरेर भुक्तानी दाबी गर्दा पनि आधाजसो भुक्तानी दिएको छैन ।’ उपचारबापतको रकम भुक्तानी गर्ने स्वास्थ्य बिमा बोर्डमा पटकपटक पहल गर्दा पनि रकम उपलब्ध हुन नसकेको उनले बताए । कोरोना संक्रमितको उपचारका लागि जिल्लाबाट निर्णय गरेर भुक्तानीको माग गरिए पनि संघीय सरकार (स्वास्थ्य मन्त्रालय) ले बाँकी रकम नपठाएको श्रेष्ठले बताए ।

अस्पतालले गत असार मसान्तसम्म ५ सय ६९ जना कोरोना संक्रमितको उपचार गरेको जनाएको छ । संक्रमितको उपचार सरकारले गर्ने भनेकोमा उपचारबापत लागेको रकम सरकारले नदिएको प्रमुख श्रेष्ठले बताए । उनका अनुसार कोरोना संक्रमित बिरामीको उपचार गरेबापत अस्पतालले १ करोड ४१ लाख ७१ हजार ५ सय रुपैयाँ भुक्तानी पाउनुपर्छ । तर, अस्पतालले ५० लाख ७८ हजार ५ सय रुपैयाँ मात्रै प्राप्त गरेको श्रेष्ठले बताए ।

अस्पतालले आर्थिक वर्ष २०७७/७८ मा ४ सय ४१ जना कोरोना संक्रमितको उपचार गरेको थियो । गत आर्थिक वर्षमा १ सय २८ जनाको उपचार गरेको थियो । उनका अनुसार पाउनुपर्ने रकम नपाउँदा सेवा प्रवाहमा समस्या भएको छ ।

प्रकाशित : श्रावण २१, २०७९ १२:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×