लमजुङ अस्पतालले पाएन करोडौं भुक्तानी- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लमजुङ अस्पतालले पाएन करोडौं भुक्तानी

आश गुरुङ

लमजुङ — जिल्ला अस्पताल लमजुङले कोरोना संक्रमितको उपचार र स्वास्थ्य बिमा गरेका बिरामीको उपचार गरेबापत १ करोड ७१ लाख रुपैयाँ भुक्तानी पाएको छैन । आर्थिक वर्ष २०७८/७९ भित्रै उक्त रकम पाउनुपर्नेमा नपाएको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमित बिरामीको उपचार गरेबापतको ९० लाख ९३ हजार रुपैयाँ र बिमा गरेका नागरिकको उपचार गरेबापतको ८० लाख रुपैयाँ पाउन बाँकी रहेको अस्पतालले जनाएको छ । पाउनपर्ने रकम नपाउँदा नियमित औषधि खरिद, कर्मचारीको तलब, आन्तरिक व्यवस्थापनलगायतमा समस्या परेको अस्पतालले जनाएको छ ।

२०७८ जेठबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममार्फत अस्पतालमा गत असार मसान्तसम्म १२ हजार २ सय ८५ बिमितले सेवा लिइसकेका छन् । उपचारमा झन्डै १ करोड ६५ लाख रुपैयाँ खर्च भएको छ । श्रेष्ठका अनुसार हालसम्म ८४ लाख ६० हजार रुपैयाँ मात्रै भुक्तानी पाएको छ । लमजुङमा १४ जना बढीले स्वास्थ्य बिमा गरेका छन् ।

‘स्वास्थ्य बिमाको कार्यक्रम सुरु भएसँगै हामीले सरकारको नीति र निर्देशनअनुसार बिमा गरेकालाई उपचार सेवा दिँदै आएका छौं । हामीले सबै प्रक्रिया पूरा गरेर भुक्तानी दाबी गर्दा पनि आधाजसो भुक्तानी दिएको छैन ।’ उपचारबापतको रकम भुक्तानी गर्ने स्वास्थ्य बिमा बोर्डमा पटकपटक पहल गर्दा पनि रकम उपलब्ध हुन नसकेको उनले बताए । कोरोना संक्रमितको उपचारका लागि जिल्लाबाट निर्णय गरेर भुक्तानीको माग गरिए पनि संघीय सरकार (स्वास्थ्य मन्त्रालय) ले बाँकी रकम नपठाएको श्रेष्ठले बताए ।

अस्पतालले गत असार मसान्तसम्म ५ सय ६९ जना कोरोना संक्रमितको उपचार गरेको जनाएको छ । संक्रमितको उपचार सरकारले गर्ने भनेकोमा उपचारबापत लागेको रकम सरकारले नदिएको प्रमुख श्रेष्ठले बताए । उनका अनुसार कोरोना संक्रमित बिरामीको उपचार गरेबापत अस्पतालले १ करोड ४१ लाख ७१ हजार ५ सय रुपैयाँ भुक्तानी पाउनुपर्छ । तर, अस्पतालले ५० लाख ७८ हजार ५ सय रुपैयाँ मात्रै प्राप्त गरेको श्रेष्ठले बताए ।

अस्पतालले आर्थिक वर्ष २०७७/७८ मा ४ सय ४१ जना कोरोना संक्रमितको उपचार गरेको थियो । गत आर्थिक वर्षमा १ सय २८ जनाको उपचार गरेको थियो । उनका अनुसार पाउनुपर्ने रकम नपाउँदा सेवा प्रवाहमा समस्या भएको छ ।

प्रकाशित : श्रावण २१, २०७९ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्

स्टेरिङ घुमाउँदै पथ प्रदर्शन

बर्दिया राष्ट्रिय निकुञ्जमा पाइने दुई सयभन्दा बढी चरा उनी आवाज सुनेरै चिन्छन् । नेपाली, अंग्रेजी नाम कन्ठस्थ छ । रैथाने, आगन्तुक चरा पनि छुट्याउँछन् ।
मनोज पौडेल

ठाकुरद्वारा, बर्दिया — गाडीको गियर बक्सछेउमै बाइनाकुलर र सिटको पछाडिको कभरमा ‘बर्ड्स अफ नेपाल’ पुस्तक छ । उनी गाडी चलाउँदा बाइनाकुलर र चराबारेको पुस्तक राख्न कहिल्यै भुल्दैनन् । बर्दियास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)का गाडी चालक कृष्णकुमार चन्दको परिचय फरक छ । उनी पोख्त पर्यटन पथ प्रदर्शक हुन् । 

उनी चरा र वन्यजन्तु देख्नासाथ गाडी रोक्छन् । सतर्कतासाथ अवलोकन गर्छन् । सँगैका पाहुनालाई त्यसबारे जानकारी दिन्छन् । पेसाले चालक कृष्णकुमार कर्मले चरा र वन्यजन्तुका नेचर गाइड बनेका छन् । २०५७ भदौदेखि प्रकृति संरक्षण कोषको चालक भएपछि निकुञ्ज क्षेत्रभित्र आवतजावत बाक्लियो ।

बर्दियामा हुर्केबढेपछि सानै उमेरदेखि प्रकृति, चरा र वन्यजन्तुप्रेमी थिए । ‘नेचर गाइड बन्ने इच्छा थियो,’ उनले भने, ‘पेसाले चालक बनायो ।’ काम गर्ने निकाय वन्यजन्तु र प्रकृतिमैत्री हुँदा धेरै सजिलो भएको उनले सुनाए । ठाकुरबाबा नगरपालिका–९ बेतहनीका ५० वर्षीय चन्द चालक भए पनि राम्रो नेचर गाइड बनेका छन् । उनी निकुञ्जभित्र गाडी चलाउँदा चलाउँदै चरा र वन्यजन्तु राम्ररी पहिचान गर्न सक्ने भएका हुन् । तिनका आनीबाली, प्रजनन समय र निकुञ्जभित्र पनि बढी देखिने ठाउँबारे राम्रो जानकार छन् । बर्दिया राष्ट्रिय निकुञ्ज वा प्रकृति संरक्षण कोषमा कोही भीआईपी आए उनकै खोजी हुन थाल्यो । निकुञ्जभित्रका चौकिल्ला उनलाई चप्पाचप्पा थाहा छ ।

९ सय ६८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको नदी तटीय बर्दिया राष्ट्रिय निकुञ्जको गाडी गुड्ने २ सय २५ किमि ग्रावेल बाटोमै उनी हिंडेका छन् । संघीय, प्रदेश मन्त्रालयका धेरै मन्त्री र सचिवका गाइड बनेका छन् । चरा, वातावरण र प्रकृति क्षेत्रमा कलम चलाउने धेरै सञ्चारकर्मीलाई घुमाएको फेहरिस्त लामै छ । उनी वन्यजन्तु र चराका बारेमा एनटीएनसीमार्फत अध्ययन अनुसन्धान गर्न आउने विदेशीका पनि रोजाइमा पर्छन् । उनले धेरै विदेशी प्रोफेसर र वन्यजन्तुका विद्यार्थीलाई गाइड गरेका छन् । एसईई उत्तीर्ण उनी अंग्रेजी बोल्न र बुझाउन सक्छन् । उनको मिजासिलो बानी, सरल स्वभाव, ज्ञान र मिठो बोलीले सबैको मन जितेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा पाइने दुई सयभन्दा बढी चरा उनी सजिलै चिन्छन् । कतिपयको आवाज सुनेर चिन्छन् । नेपाली र अंग्रेजी नाम कन्ठस्थ छ । रैथाने, आगन्तुक चरा पनि छुट्याउँछन् । वन, घाँसे मैदान र नदीखोला तटीय क्षेत्रमा बस्ने चरा पनि छुट्याउन सक्छन् । ‘काँडे भ्याकुर नेपालमा मात्र पाइन्छ,’ उनले भने, ‘यहाँको चुरे क्षेत्रको तेलपानीमा देखेको हुँ ।’ संरक्षित क्षेत्रमा बर्दियामा मात्र पाइने रैथाने चाँदीकाने मिसिया पनि यही देखेको उनले सुनाए । सबैभन्दा ठूलो राजलाहाचे र राजधनेश पनि यहाँ प्रसस्त देखिने उनले बताए । ‘सुन्दर र मनमोहक राजलाहाचे र राजधनेश देख्दा सबैको मन प्रफुल्ल हुन्छ,’ उनले भने, ‘मनै आल्हादित बनाउँछ । यो हेर्न चराप्रेमी मरिहत्ते गर्छन् ।’

वनमा नयाँ कुरा देखे, त्यसबारे जान्न मन लाग्यो भने उनी प्रकृति संरक्षण कोष र निकुञ्जका विज्ञसँग जानकारी लिन्छन् । उनको चराबारेको बुझाइ र प्रेम अनुकरणीय छ । ‘चरालाई देखाएर त्यसबारेको ज्ञान बाँडेर खाने हो, मारेर होइन,’ उनले भने, ‘यसो गर्दा हाम्रा सन्ततिले पनि लाभ पाउँछन् । मारेर खायौं भने यी चरा हाम्रै पुस्तामा सकिन्छन् ।’ उनले चराका बारेमा सचेतना छर्न लागे । ‘यिनका आनीबानी, हाउभाउ र चिरबिराहट सुन्दा दुःखपीडा सबै हराउँछ,’ उनले भने, ‘मनमा शान्ति छाउँछ । सिर्जनात्मक काम गर्न प्रेरणा दिन्छ ।’

‘पर्यापर्यटनमा निकै जिज्ञासा राख्छन्,’ कृष्णकुमारलाई नजिकबाट चिन्ने चराविद् राम शाहीले भने, ‘सुनेको कुरा टिप्न सिपालु छन् । लगनशील र भलाद्मी पनि उत्तिकै । सायद यसैले उनलाई ऊर्जा दिएको छ ।’ सानो भूगोलमै धेरै प्रजातिका चरा पाइने भएकाले विश्वकै ‘बर्ड वाचर’ का लागि नेपाल अत्यन्तै रुचाइएको ठाउँ हो । विशाल भूगोल भएका छिमेकी देश चीन र भारतमा त्यहाँको सरकारी तथ्यांक अनुसार क्रमशः १ हजार ३ सय १४ र १ हजार २ सय ६६ प्रजातिका चरा पाइन्छन् ।

नेपालमा ८ सय ९१ प्रजातिका चरा पाइन्छन् । जसमध्ये बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै एक दिनमा ६० प्रजातिका चरा सजिलै देख्न सकिन्छ । निकुञ्जमा पाइने चराको तथ्यांक पनि कृष्णकुमारले राखेका छन् । ‘पंछी अवलोकनका क्रममा २०७७ मंसिरमा निकुञ्जभित्र तीन प्रजातिका नयाँ चराको अभिलेख गरिएको छ,’ उनले भने, ‘नयाँ भेटिएकामा धोबिनी खञ्जरी, कैलोकण्ठे तोरीगाडा र शिला बगेडी हुन् । अब यहाँ पाइने चराको संख्या ५ सय १६ पुगेको छ ।’

कृष्णकुमारको बाघ साइनो

बाघका लागि बर्दिया विश्व प्रसिद्ध छ । कतिपय पर्यटक बाघ हेर्नकै लागि यहाँ आउँछन् । कृष्णकुमार बाघ देखाउन चाहिने कला र सीप भएका गाइडमध्येमा पनि पर्छन् । ‘बर्दियामा बाघ देखिने धेरै सम्भावना भएको ठाउँ तिनकुने, किङफिसर, बाल्कोनी, कठास र टेण्ट हो,’ उनले भने, ‘गर्मीमा चैतदेखि जेठसम्म यहाँ बाघ देखिन्छन् ।’

एकैपटक ५ वटासम्म बाघ देख्दाको आनन्द उनले सुनाए । बाघको आनीबानी उनले राम्रोसँग बुझेका छन् । बाघका पाइला देख्नासाथ धेरै कुरा पत्ता लगाउँछन् । ‘पाइला हेरेर पोथी र भाले बाघ छुट्याउँछु,’ उनले भने, ‘भालेको लामो पाइला हुन्छ । पोथीको गोलो हुन्छ ।’ बाघको दिसा देखेर हिंडेको बाटो थाहा हुने उनले सुनाए । बाघको दिसाकै आधारमा कुन जनावरलाई आहार बनायो भनेर पनि उनी पत्ता लगाउन सक्ने बताउँछन् ।

‘बाघले प्रयोग गर्ने आन्तरिक शक्तिमा पहिलो सुँघाइ, दोस्रोमा सुनाइ र तेस्रोमा देखाई पर्छ,’ उनले भने, ‘बाघ जब वयस्क हुन्छ अनि पोथीको आवश्यकता महसुस गर्छ । त्यतिखेर उसले आफू बस्न जंगलमा निश्चित रजाइँ क्षेत्र निर्धारण गर्न थाल्छ ।’ त्यसको निर्धारण मुख्यतया तीन किसिमले गर्ने उनले सुनाए । ‘पहिलो गर्जेर र दोस्रो सिमानामा दिसापिसाब गरेर संकेत गर्छ,’ उनले भने ‘अन्तिममा भाले बाघले रजाइँ क्षेत्रको सीमामा रहेका रुख र भुँइमा नङ्ग्राले चिथोरेर सिमाना निर्धारण गर्ने गरेको पाइन्छ ।’

प्रकाशित : श्रावण २१, २०७९ १२:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×