१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

लोक्पामा फेरि पहिरो, आउजाउ ठप्प

छुलेखोलाको फड्के बगाएपछि जोखिमपूर्ण यात्रा
हरिराम उप्रेती

गोरखा — गतवर्ष झन्डै चार महिना लगातार झरेर थामिएको चुमनुव्री गाउँपालिका–६ को लोक्पा भीरको पहिरो फेरि खसेको छ । चुमनुव्री–६ र ७ को दुई वडा पुग्ने एक मात्र पैदलमार्ग लोक्पा भीरमा पहिरो खस्न थालेपछि आउजाउमा सकस बढेको छ । एक सातादेखि दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने खच्चड वारपार गर्न नसकेको लोक्पाका सेराप गुरुङले बताए ।

लोक्पामा फेरि पहिरो, आउजाउ ठप्प

‘पहिरो चलेको ९–१० दिन भयो, सुरुको दिनमा बेलाबेला मात्र पहिरो खस्थ्यो, दुई दिन भयो पहिरो निरन्तर छ,’ उनले भने, ‘आउन जान सकेका छैनौँ ।’ दुई दिनअघि छेकम्पार हिँडेका दुई जना स्थानीय ढुंगाको ओत लागेर पहिरोबाट बचेको शेरापले बताए । ‘अत्यावश्यक काम भएका पहिरो हेर्दै कुद्ने गरेका छन्, अस्ति पनि दुई जना ढुंगाको छेल लगाएर बसेर जोगिए,’ उनले भने । लोक्पा भीरको निरन्तरको पहिरोले स्थानीय गन्तव्यमा नपुगी बीच बाटोबाटै फर्किन गरेको उनले जानकारी दिए । ‘हिजो र अस्ति दिनरातै पहिरो चलिरहेको छ, समस्या बनायो,’ उनले भने, ‘डाँडा भासिँदै त्यहाँ माथि थपिँदै, फेरि भासिँदै गएको छ ।’ पहिरोले लोक्पाका स्थानीय चुम्लिङमा रहेको वडा कार्यालय पनि जान पाएका छैनन् । छेकम्पार र चुम्चेतमा नुनतेल, चामललगायत खाद्यान्न ढुवानी पनि रोकिएको छ । ‘कोही–कोही मुस्किलले हिँडेका हुन्,’ शेरापले भने, ‘खच्चड हिँड्ने त बाटो नै छैन ।’

चुम्चेत र छेकम्पार पुग्ने लोक्पा भीरमा करिब ५ सय मिटर बाटोमा पहिरो रहेको स्थानीय बताउँछन् । चुमनुव्री–६ चुम्चेत र ७ को छेकम्पार प्रवेशद्वारको लोक्पामा गत वर्षको साउन ३० बाट बग्न सुरु भएको पहिरो ३ महिनापछि रोकिएको थियो । फेरि यस वर्ष निरन्तरको वर्षात्पछि पहिरो बग्न थालेको हो । सडक सञ्जालको पहुँचबाहिर रहेको उक्त क्षेत्रमा पैदलबिना अर्को विकल्प छैन । भौगर्भिक अध्ययन र रोकथाममा सरकारको बेवास्तामा परेको उक्त क्षेत्रमा निरन्तरको पहिरोले स्थानीय चिन्तित छन् ।

मुख्यमार्गको उक्त बाटोबाहेक स्थानीयलाई आउजाउको अर्को सजिलो विकल्प पनि छैन । १० घण्टा अतिरिक्त दूरीको गाउँपालिकाको केन्द्र फिलिम–राना–दोर्जुङ, इङगुलिङ खोला हुँदै चुम्चेत पुग्ने अर्को बाटो छ । उक्त मार्गको रानाबाट इङगुलिङ खोलासम्म बस्ती छैन । लोक्पाको पहिरो रोक्न यही वर्षामा दुइपल्ट प्रयास गरे पनि पहिरो नरोकिएको चुमनुव्री गाउँपालिका अध्यक्ष निमा लामाले बताए । ‘यही बर्खामा दुइपल्ट वनायो, अहिले झरेको पहिरो बनाउन सक्ने स्थित रहेन,’ लामाले भने, ‘बर्खाले ठूलो समस्या ल्यायो, चुम उपत्यकाका लागि लोक्पा पहिरो ठूलो चुनौतीको रूपमा देखिएको छ ।’ पानी परेपछि पहिरो खस्ने गरेको उनले बताए । ‘अहिले मान्छे हिँड्न सक्ने अवस्था छैन, बनाउने सक्ने अवस्था पनि छैन,’ उनले भने, ‘हिँड्नै पर्ने स्थानीयलाई सुरक्षित बाटो रोज्न र लोक्पा भीरमा जोखिम नलिन आग्रह गरेका छौँ ।’ खच्चड आउजाउ गर्न नसकेपछि अहिले उपभोग्य सामग्री ढुवानी रोकिए पनि खाद्यान्नको समस्या भने नरहेको उनले बताए । ‘यसअघि नै ढुवानी भएको खाद्यान्न स्टक छ, एक महिना बाटो अवरुद्ध भयो भने चाहिँ खानेकुराको पनि समस्या पर्छ,’ उनले भने । पानी रोकिएपछि भौगर्भिक अध्ययन गरी पहिरो रोकथामको प्रयास गर्ने गाउँपालिकाले जनाएको छ ।

त्यस्तै तिब्बत सीमा क्षेत्रमा रहेको गोरखाको अन्तिम गाउँ छेकम्पारस्थित छुलेखोलाको बाढीले फड्के बगाएपछि स्थानीय जोखिम मोलेर खोलामा हेलिएर आउजाउ थालेका छन् । मंगलबार बिहानको वर्षापछिको बाढीले फड्के बगाएको गाउँपालिकाका अध्यक्ष लामाले बताए । गोरखा सदरमुकामबाट ५३ कोष टाढाको दुर्गम यो गाउँमा बर्सेनि खोलाको फड्के बगाउने समस्याले सताउने गरेको छ । गहुँ काट्ने बेला अहिले दुई गाउँका ६० घर धुरी स्थानीयलाई आउजाउमा जोखिम वढाएको छ । फड्के तिब्बत पुग्ने मूलबाटोमा पर्छ । ‘गहुँ काट्ने बेला भएको छ, फड्के नभएपछि समस्या भयो, सबै गाउँले जम्मा भएर अर्को काठको पुल बनाउने तयारीमा छन्,’ लामाले भने । तत्कालका लागि अस्थायी प्रकृतिको काठेपुल राख्न विपद् व्यवस्थापनबाट बजेट व्यवस्थापन गर्ने उनले बताए । बर्खापछि भने उक्त स्थानमा झोलुंगेपुल निर्माण हुने अध्यक्ष लामाले बताए ।

प्रकाशित : श्रावण २०, २०७९ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?