१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ज्यानै जाने डर

कान्तिपुर संवाददाता

लमजुङ — बेंसीसहरबाट पोखरा जाँदै गरेको जिप सोमबार राती उदिपुरको पहिरोले पुर्‍यो । साताअघि बेंसीसहरबाट वीरगन्ज जाँदै गरेको बस पनि उदिपुर पहिरोमै फस्यो । सोही दिन आसपास बेंसीसहरतर्फ आउँदै गरेको ट्रक घुम्तीमा टर्निङ नपुग्दा दुर्घटना भयो । 

लमजुङ सदरमुकाम बेंसीसहर आउने एकमात्र डुम्रे–बेंसीसहर सडक उदिपुरमा बाढीपहिरोले दिनदिनै बन्द हुने गरेको छ । काठमाडौं–बेंसीसहर माइक्रोबस चालक टसबहादुर गुरुङ यो बाटो हिँड्दा ज्यानकै डर हुने बताउँछन् । ट्राफिक प्रहरी सई विष्णुबहादुर नेपालीका अनुसार उदिपुरको डाइभर्सन सडक निकै जोखिमपूर्ण छ । यसको वैकल्पिक सडक नहुँदा जोखिममा यात्रा गरिरहेका छन् । ‘अन्यत्र बाटो छैन, पहिरोले दिनदिनै बन्द गराउँछ । बाढीपहिरोले बगाउला कि भन्ने डर,’ उनले भने ।

गत भदौ ११ मा बेंसीसहर–१ उदिपुरको देउराली डाँडामा पहिरोले सडक बगायो । त्यसपछि खोलेको नयाँ ट्र्याक पनि गत असार ४ मा बगायो । नयाँ ट्र्याक नै खोल्न नमिल्ने गरी सडक बगाएपछि ३ दिन लगाएर डाइभर्सन बनाइयो । त्यही डाइभर्सनमा पनि माथिबाट पहिरोले बगाउने र पुर्ने गरेपछि दैनिक बन्द हुने र खुलाउने गरिएको डीएसपी कृष्णबहादुर कार्की बताउँछन् ।

डुम्रे–बेंसीसहर–चामे सडक योजना प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार उदिपुर सडकको विकल्प खोजिए पनि गाह्रो परिरहेको छ । ‘पोहोर पहिरो गएपछि हामीले केही माथिल्लो भागबाट डिजाइन गर्‍यौं । सडक बनाउने भनिएकै ठाउँलाई पहिरोले लग्यो,’ उनले भने । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले विकल्पमा मध्यमर्स्याङ्दीको ड्यामको पुल प्रयोगका लागि जलस्रोत मन्त्रालय, विद्युत् प्राधिकरणमा पत्राचार गरिएको बताए ।

प्रकाशित : श्रावण १९, २०७९ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?