कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उदिपुरको पहिरोले डुम्रे–बेंसीसहर सडक अवरुद्ध

आश गुरुङ

लमजुङ — लमजुङको बेंसीसहर नगरपालिका–१, उदिपुरको देउराली डाँडाको डाइभर्सन सडकमा पहिरो खस्दा डुम्रे–बेंसीसहर सडक अवरुद्ध भएको छ ।

उदिपुरको पहिरोले डुम्रे–बेंसीसहर सडक अवरुद्ध

गत वर्ष भदौ ११ गते सडक बगाएपछि उक्त ठाउँमै डाइभर्सन निर्माण गरिएकोमा गत असार ४ गतेको पहिरोले पुन: सडक बगाएपछि मर्स्याङ्दी तीरमा डाइभर्सन निर्माण गरी सवारीसाधन वारपार गर्दै आइएको छ । त्यही सडकमा सोमबार राति पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

डुम्रे–बेंसीसहर–चामे सडक योजनाका सब–इन्जिनियर सुमन अधिकारीका अनुसार माथिबाट खसेको पहिरोको लेदोले करीब ४० मिटर सडक पुरिदिएको छ । बिहानभरि पानी परेकाले सडक खुलाउन नसकिएको र अहिले पहिरो हटाउन थालिएको उनले बताए ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर पुरुषोत्तम अधिकारीका अनुसार पहिरोले सडक बगाएपछि विकल्पमा निर्माण गरिएको नेपाली सेनाको ब्यारेक–रिठ्ठेबगर–उदिपुर सडक खण्ड पहिरोका कारण बन्द भएको बताए । उनका अनुसार भीषण वर्षा हुँदा पहिरो जाने र सडक अवरुद्ध हुने गरेको छ । सडकमा खसेको पहिरो हटाउने प्रयास भइरहेको उनले बताए ।

डीएसपी कृष्णबहादुर कार्कीका अनुसार यसअघिभन्दा सोमबार राति पहिरो बढी मात्रामा खसेको हो । पहिरोबाट लेदो बगेर आएर सबै सडक पुरिदिएको उनले बताए । ‘सडक खुलाउन सडक कार्यालयका कर्मचारी, ट्राफिक सबै खटिएका छन् । वर्षा रोकिएपछि सडक खुलाइनेछ,’ उनले भने । उनका अनुसार लमजुङ सदरमुकाम बेंसीसहर जोड्ने एकमात्र राजमार्गको उक्त सडकमा पटक–पटकको पहिरोले समस्या आउने गरेको छ । मनाङ जाने एकमात्र बाटो भएकाले पनि यसले दुई जिल्लालाई प्रभावित बनाएको उनले बताए ।

सडक कार्यालयका अनुसार मनाङको चामे गाउँपालिका ३, कोतोमा अस्थायी सडक निर्माण गरेर सवारी साधन सञ्चालनमा ल्याइएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, रामबजार क्षेत्रमा आइतबार रातिदेखिको पहिरो नहटाइँदा मनाङतर्फ जाने र बेंसीसहरतर्फ आउने सवारी साधन रोकिएका छन् । उक्त पहिरोमा सडक खुलाउन मेसिनरी सामानहरु पुर्‍याइसकिएको र वर्षा रोकिएपछि पहिरो हटाउने काम थालिने इन्जिनियर अधिकारीले बताए ।

प्रकाशित : श्रावण १७, २०७९ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?