१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

चैते धान भित्र्याउने चटारो

कान्तिपुर संवाददाता

प्यूठान — यहाँका किसान अहिले चैते धान भित्र्याउने चटारोमा छन् । चैतमा रोपेको धान यहाँका किसानले भित्र्याउन थालेका हुन् । यस वर्ष झिमरुक फाँटमा पनि चैते धान रोपाइँ भएको थियो ।

फाँटमा पहिलोपटक धान रोपाइँ गरेका किसान यसको उत्पादनलाई लिएर निकै खुसी देखिएका छन् । चैते धान काट्दै गरेकी प्यूठान नगरपालिका–९ मरन्ठानाकी कृष्णाकुमारी केसीले धान निकै राम्रो फलेको प्रतिक्रिया दिइन् । ‘धानका बाला लटरम्म फलेर झुलेका छन्,’ उनले भनिन्, ‘यो देखेर अरु किसान पनि लोभिनुभएको छ ।’ फाँटमा साउन महिनामा धान फलेको देख्दा अरु किसान पनि यसतर्फ आकर्षित भएको उनले बताइन् ।

सरकारी तथ्यांक अनुसार नेपालमा वार्षिक २ लाख मेट्रिक टन चैते धान उत्पादन हुन्छ । त्यसलाई बढाएर ६ लाख पुर्‍याउने सरकारको लक्ष्य छ । यहाँको विशेष गरी ऐरावती गाउँपालिकाका विभिन्न क्षेत्रमा चैते धान हुँदै आएको छ । यहाँका बरौला, दाङबाङ, बिजुली, चुजाठाँटी क्षेत्रमा चैते धान लगाउने गरेको ऐरावती गाउँपालिका–१ का वडाध्यक्ष अमरबहादुर रेस्मीले बताए । ‘चैतमा धान रोपेका किसानले अहिले चैते धान भित्र्याउँदै छन्, एक–दुई दिनमै बर्खे धान पनि रोपाइँ हुन्छ,’ उनले भने, ‘बर्खे धानका लागि ब्याड तयारी अवस्थामा छ । पछि कात्तिकमा गहुँखेती पनि गर्ने गरिएको छ ।’ तीन बाली खेतीले जिल्लामा अन्न आयातलाई केही कम गर्न सहयोग गर्ने उनले बताए । यहाँका प्रायः फाँटमा बाह्रैमास सिँचाइ सुविधा छ । झिमरुक नदी र यसका सहायक नदीमा पानी पर्याप्त हुँदा सिँचाइको कुनै समस्या नभएको रेस्मीले बताए । पहिलोपटक चैते धान लगाएका मरन्ठानाका रामबहादुर केसीले उत्पादनले सन्तुष्टि दिएको बताए ।

प्यूठानमा ४२ हजार हेक्टर खेतीयोग्य जमिन छ । यसमध्ये २२ हजार हेक्टरमा मात्रै खेती गर्ने गरिएको सरकारी तथ्यांक छ । झिमरुक र यसका सहायक नदी आसपासका फाँटमा धान खेती हुन गरेको छ । यहाँ ६ हजार ५ सय ७५ हेक्टरमा धान खेती हुन्छ । त्यसमध्ये चैते धान करिब साढे २ सय हेक्टर क्षेत्रफलमा हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ धान जोन प्यूठानका प्रमुख चुमानसिंह गिरीले बताए ।

प्रकाशित : श्रावण १३, २०७९ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?