२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

मकैको बीउ जोगाउन भण्डारण केन्द्र

२२ टन बीउ राख्न मिल्ने गरी ३६ लाखमा संरचना निर्माण

बागलुङ — बडिगाड गाउँपालिका–१ को दगातुम्डाँडाकी जमुना श्रीशले १० रोपनी बारीमा उन्नत जातको मकै लगाएकी छन् । यो वर्ष घरमा खान पुगेर २/४ क्विन्टलसम्म जोगाउने योजना उनको छ । दगातुम्डाँडाकै गनबहादुर सुनारले ४ हलको मेलोमा मकै लगाएको बताए ।

मकैको बीउ जोगाउन भण्डारण केन्द्र

मनकामना जातको मकैबाट यो वर्ष खान पुगेर ३/४ मुरीसम्म जोगिने उनी बताउँछन् । यसरी जोगाएको मकै गाउँमा बनेको बीउबिजन भण्डारण केन्द्रमा पठाउने तयारी किसानहरूको छ ।

किसानहरू साउनको अन्तिम सातादेखि भदौ पहिलो सातासम्म मकै भित्र्याउँछन् । भित्र्याएको मकैमध्ये बीउ जोगाउन गाउँमै भण्डारण केन्द्र बनाइएको छ । केन्द्रमा संकलित बीउमध्ये केही परिमाण बजारमा बिक्री पनि गरिन्छ । किसानको ६ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ३० लाख रुपैयाँ लागतमा भण्डारण केन्द्र बनाइएको हो ।

स्थानीयकै २ रोपनी २ आना जग्गामा केन्द्र बनाइएको दगातुम्डाँडा कृषि सहकारी संस्थाका अध्यक्ष भीमसेन वनले बताए । उनका अनुसार केन्द्रमा २२ टन मकैको बीउ राख्न सकिन्छ । सहकारीका २ सयभन्दा बढी किसानले व्यावसायिक रूपमा मकै खेती गर्दै आएका छन् । उनीहरूले सामूहिक भण्डारण गर्ने, बीउ लगाउने र बेच्ने योजनासमेत बनाएपछि भवन ठडिएको सहकारीका सदस्य रेमबहादुर भुजेलले बताए । ‘भवन आधुनिक र मुसाबाट बचाउने गरी बनेको छ, त्यसैले अबदेखि मकै जोगिने भयो,’ भुजेलले भने, ‘अर्को वर्ष दोब्बर उत्पादनसमेत गर्ने योजना छ ।’

यहाँ विशेषगरी मनकामना–३, देउती र सितला जातको मकै खेती गरिँदै आएको छ । समुद्री सतहबाट १२ सयदेखि २ हजार मिटरसम्मको उचाइमा रहेको दगातुम्डाँडामा मकै राम्रो फल्ने कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए । भवनसँगै यहाँ कृषि उपज बिक्री केन्द्र पनि बनाइएको छ । गाउँपालिका, ज्ञान केन्द्र र स्थानीयको श्रमदानसमेत गरी १५ लाख रुपैयाँको लागतमा बिक्री केन्द्र बनेको हो । यो केन्द्रबाट फसल स्थानीय रूपमा बिक्री गर्ने र धेरै उत्पादन हुँदा मागअनुसार बाह्य बजारमा ढुवानी पनि गर्ने योजना अध्यक्ष वनले सुनाए ।

यसैबीच, गतवर्ष गलकोट नगरपालिकाले खरिद गर्न विनियोजन गरेको बजेट मकैको बीउ नपाएर फ्रिज भएपछि यहाँका किसानले मकै संरक्षण गर्न थालेका हुन् । ‘५ क्विन्टल मकैको बीउ खरिद गर्न नपाएर बजेट फ्रिज भयो,’ गलकोट कृषि शाखा प्रमुख रमा शर्माले भनिन्, ‘कृषि ज्ञान केन्द्रले पनि बीउ खोजेर पठाउन सकेन ।’ यो वर्ष भने केन्द्रको अगुवाइमा बागलुङ नगरपालिका–४ को कुडुँलेमा समेत बीउ उत्पादन र भण्डारण सुरु भएको कृषि ज्ञान केन्द्र प्रमुख भट्टराईले बताए । ‘हामीले मकै पकेट क्षेत्र बनाएर बीउका लागि नै छुट्याएका छौं,’ उनले भने, ‘अर्को वर्षदेखि अभाव हुन दिँदैनौं ।’ हाइब्रिड जातको मकै लगाउने चलनले रैथाने जातको बीउ मासिन थालेको उनले बताए ।

ताराखोला गाउँपालिकाले पनि १२ लाख रुपैयाँ बजेट विनियोजन गरेर मकै संरक्षण अभियान थालेको छ । त्यसका लागि ग्रामीण बस्तीमा बचेखुचेका बीउ खरिद गरेर उत्पादन बढाउने लक्ष्य रहेको कृषि शाखा प्रमुख कर्णखर भट्टराईले बताए । बागलुङमा २० हजार ५ सय हेक्टरमा मकै खेती गरिन्छ । जसमा उन्नत जातको मकै लगाउन सकेमा ६५ हजार १ सय ६३ मेट्रिक टनसम्म उत्पादन गर्न सकिने केन्द्रले जनाएको छ ।

प्रकाशित : असार २२, २०७९ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?