‘इकोली’ मिश्रित पानी पिउँदै लमजुङवासी


लमजुङ — लमजुङवासीले दिसामा पाइने जीवाणु ‘इकोली’ मिसिएको पानी उपभोग गरिरहेको एक अध्ययनले देखाएको छ । जिल्लाका हाल प्रयोग भइरहेकोमध्ये अधिकांश स्रोतको पानी पिउन अयोग्य रहेको पनि अध्ययनको निष्कर्ष छ ।

जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिकास्थित खानेपानीका मुहान तथा धाराको पानी परीक्षणका क्रममा इकोली जीवाणु भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
‘गत कात्तिकदेखि असार १४ सम्म १२० स्थानका खानेपानीको स्रोत (मुहान, ट्यांकी, धारालगायत) को नमुना परीक्षणका क्रममा ९१ स्थलको पानीमा इकोली पुष्टि भएको छ,’ स्वास्थ्य कार्यालयमा खानेपानी गुणस्तर निगरानी गर्दै आएका ल्याब टेक्निसियन निरीक्षक निरोजकुमार श्रेष्ठले भने, ‘जसअनुसार ७६ प्रतिशत पानीका स्रोत दूषित छन् । त्यहाँको पानी पिउन अयोग्य छ ।’ हेर्दा सङ्लो देखिए पनि पानी परीक्षणका क्रममा इकोली भेटिएको उनले बताए । ‘हामी सङ्लो पानी सफा भनेर खाइरहेका छौं । त्यही पानीमा इकोली भेटिएको छ,’ उनले भने, ‘पानीमा इकोली भेटिनु भनेको दिसाजन्य पदार्थ मिसिएको पुष्टि हुनु हो ।’
स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडी पनि इकोली भेटिएको पानी पिउन नमिल्ने र पिउनै परे निर्मलीकरण गरेर मात्रै उपभोग गर्न सकिने बताउँछन् । उनका अनुसार मर्स्याङ्दी गाउँपालिकाका २ ठाउँको पानी परीक्षण गर्दा शतप्रतिशत इकोली भेटिएपछि अन्य स्थानमा पनि परीक्षण थालिएको हो । ‘कतिपय स्वास्थ्य संस्थाकै खानेपानीका स्रोत र सहरमा मात्रै नभएर गाउँकै खानेपानीको स्रोतमा पनि इकोली भेटिएको छ,’ उनले भने ।
मध्य नेपाल नगरपालिकाका २२ वटा स्रोतको परीक्षण गर्दा २० वटामा अर्थात् ९१ प्रतिशत स्रोतमा इकोली भेटिएको छ । दोर्दी गाउँपालिकामा ५ स्रोतको पानी परीक्षण गर्दा ४ वटामा (८० प्रतिशत), बेंसीसहर नगरपालिकामा २९ स्रोतको परीक्षण गर्दा २२ वटामा (७६ प्रतिशत), राइनास नगरपालिकामा ८ वटा स्रोतमा परीक्षण गर्दा ६ वटामा (७५ प्रतिशत) र सुन्दरबजार नगरपालिकाका ३९ स्रोतमा परीक्षण गरिएकोमा २७ वटामा (६९ प्रतिशत) इकोली फेला पारिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी, क्व्होलासोंथर गाउँपालिकाका १४ स्रोतमा परीक्षण गरिएकोमा ७१ प्रतिशत स्रोतमा इकोली भेटिएको छ । गाउँपालिकाको सिङ्दी, पसगाउँ र भोंजेस्थित हाल प्रयोगमा रहेका खानेपानी स्रोतमा भने इकोली नपाइएको प्रमुख दवाडीले बताए । समग्रमा उपभोक्ता समितिमार्फत वितरित खानेपानीमा इकोली फेला पारिएको उनले जनाए ।
गत असार २ मा सरकारले राष्ट्रिय खानेपानी मापदण्ड तयार पारेर राजपत्रमा प्रकाशन गरेको छ । जसमा इकोली मिसिएको पानी प्रयोग स्वस्थ्यका लागि हानिकारक रहेको उल्लेख छ । जलस्रोत ऐन, २०४९ दफा १८ को उपदफा १ बमोजिम जिल्लाभरका खानेपानी स्रोतबाट नमुना संकलन गरी पानीको शुद्धता र गुणस्तर परीक्षण गरिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक दीपक बम्जनले बताए । खानेपानीको भौतिक, रासायनिक तथा सुक्ष्म जैविक शुद्धताको सुचकांकमा शुद्धता परीक्षण गरिएको हो । ‘मानवीय जीवनमा नभई नहुने खानेपानीको स्रोत सुरक्षित गर्न गराउन सरोकारवाला सबै गम्भीर भएको देखिँदैन,’ उनले चिन्ता जनाए ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङका डिभिजन इन्जिनियर शेखरचन्द्र केसी बढ्दो सहरीकरणसँगै खानेपानीका स्रोत असुरक्षित हुन थालेको बताउँछन् । ‘जनघनत्व र सहरीकरणसँगै खानेपानीका मुहान तथा स्रोत नजिक मानिसले घरबास बनाउन थाले । सेप्टिक ट्यांक तथा विभिन्न माध्यमबाट दिसा खानेपानीमा प्रवेश गर्यो । त्यसपछि खानेपानी स्रोतमै इकोली भेटिएको हो,’ उनले भने । सहरमा ढल व्यवस्थापन गर्न सकिए खानेपानीका स्रोतहरू स्वच्छ हुन सक्ने उनको सुझाव छ । घना बस्तीमा ढल व्यवस्थापन गर्ने सरकारको योजना रहेको उनले सुनाए ।
‘हामीबीचमा खानेपानी उपभोक्ता समितिको नेतृत्वमा जान तछाडमछाड हुन्छ तर जनताको स्वास्थ्यसँग जोडिएको विषयलाई समितिले ख्याल गर्ने गरेको देखिँदैन,’ प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले भने, ‘नागरिकको जीवन मृत्युको मुखमा पुर्याउने काम भइरहेको छ ।’ उनले उपभोक्ता समितिहरूलाई पानी स्वच्छ बनाएर मात्रै नागरिकलाई वितरण गर्न आग्रह गरे ।
