भिमादका सयभन्दा बढी घरधुरी कटानको जोखिममा

रासस

तनहुँ — जिल्लाको भिमाद नगरपालिका– ५ र ६ का एक सयभन्दा बढी घरधुरी नदी कटानका उच्च जोखिममा रहेका छन् । भिमाद नगरपालिका– ६ कुमार चोकमा सेती नदीका कारण करिब ८५ र भिमाद–५ अन्टेन खोला नजिक कपरादी दलित बस्तीका २२ घरधुरी जोखिममा परेका हुन् ।

वर्षायाममा खोला र नदीमा आएको बाढीले बस्ती क्षेत्र कटान गर्न थालेपछि जोखिम बढेको हो । अघिल्ला वर्षमा खोला र नदीमा आएको बाढीले कटान गरेको स्थानमा संरक्षण हुन नसक्दा पुनः वर्षायाम सुरु भएसँगै बस्ती क्षेत्रमा जोखिम बढ्न थालेको छ ।

सेती नदीले कटान गरेका कारण भिमाद–६ कुमार चोकका धेरै बासिन्दा विस्थापित हुने स्थितिमा पुगेका छन् । केही मानिस दिउँसो त्यही बसेर व्यापार गर्ने र साँझपख अन्यत्रै सुरक्षित स्थानमा गएर बस्दै आएको नगरपालिकाकी उपप्रमुख शारदा खनालले जानकारी दिइन् । नगरपालिकाको बजेटले मात्रै सम्बोधन गर्न नसकिने भएकोले नदी कटान नियन्त्रणका लागि आवश्यक पहल भइरहेको उनले बताइन् ।

सेती नदी कटानका कारण जोखिम बनेको बस्ती जोगाउनको लागि डिपीआर गरिए पनि संरक्षण हुन सकेको छैन । उपप्रमुख खनालले भनिन्, 'बस्ती जोगाउन गण्डकी प्रदेश र सङ्घीय सरकारसँग पनि समन्वय गरी अघि बढिरहेका छौँ ।'

प्रकाशित : असार २०, २०७९ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?