कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

गोरखा दरबार पुनर्निर्माण अन्तिम चरणमा

पुरातफ्व विभागको रायबमोजिम सर्वसाधारणका लागि खुला गर्ने तयारी
हरिराम उप्रेती

(गोरखा) — निर्माण सुरु भएको ५ वर्षपछि गोरखा दरबार पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । २०७२ वैशाखको भूकम्पले दरबारमा क्षति पुर्‍याएपछि २०७४ कात्तिक २९ बाट पुनर्निर्माण थालिएको थियो ।

गोरखा दरबार पुनर्निर्माण अन्तिम चरणमा

पुनर्निर्माणको काम लगभग पूरा भएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले बताए । ‘अब मसिनो काम बाँकी छ, ठूला काम सबै सकियो,’ भुसालले भने ।

उनका अनुसार रङ लगाउने र झ्यालको भित्री खोपाको काम बाँकी छ । ४ करोड ३७ लाख रुपैयाँको लागतमा दरबार पुनर्निर्माणको जिम्मा सुरुमा पचली भैरव–सिवाको जेभीले पाएको थियो । २०७६ मंसिरभित्र काम सक्ने गरी २०७४ कात्तिक २९ मा ठेक्का सम्झौता भए पनि ठेकेदारको ढिलासुस्तीले समयमै काम सम्पन्न हुन सकेन । म्याद ३ पटक थप हुँदा पनि कामले पूर्णता नपाएपछि पुरातत्त्व विभागले ठेक्का तोडेको थियो । पुनः २०७८ असोज १० मा श्री सिवाको–एरिसा–रोयल जेभीले ५६ लाख ९४ हजार रुपैयाँमा ठेक्का पाएको थियो ।

पहिलेको ठेकेदारले पूरा नगरेको बाहिरी पेटी निर्माण, बार्दलीको कठवार राख्ने, ओयरिङलगायत भित्री फिनिसिङको कामको जिम्मा नयाँ ठेकेदारले पाएको थियो । ‘नयाँ ठेकेदार कम्पनीले ठेक्का पाएकै दिन कामको कार्यादेश पनि पाएको थियो । ९ महिनामा बाँकी काम पनि पूरा भएको छ,’ भुसालले भने । ऐतिहासिक दरबार पुरानै स्वरूपमा पुनर्निर्माण भएको छ ।

अब साविककै स्थानमा सरसामान राख्ने काम बाँकी रहेको उनले बताए । साविकको दरबारको तल्लो तलामा रहेको अगेना, पृथ्वीनारायण शाहले नुहाउन प्रयोग गरेको भनिएको ढुंगा, राजगद्दीलगायत भित्री आवरणलाई पहिलेजस्तै सुन्दर बनाइने उनले जनाए । गोरखा दरबारसँगै रहेको कालिका मन्दिर मर्मतको क्रममा छ । ‘कालिका मन्दिरको पूजाआजा पनि अहिले अस्थायी रूपमा गोरखा दरबारबाट भइरहेको छ, मन्दिरका केही सरसामान पनि यतै छन्,’ उनले भने, ‘अब कालिका मन्दिरको पनि काम सकिएपछि घुम्न आउनेका लागि सहज बन्छ ।’

दरबारलाई पहिलेकै अवस्थामा सञ्चालन गर्नका लागि पुरातत्त्व विभागसँग रायसुझाव लिइने उनले बताए । ‘सर्वसाधारणका लागि खुला गर्ने विषयमा पनि विभागसँग सल्लाह लिएर अघि बढ्छौं,’ उनले भने । उनका अनुसार दरबारको भुइँ तलामा सुत्केरी (कोटले) कन्या, गद्दी र धुनी कोठा रहनेछ । भण्डार, कोट भण्डार, भाडाकुडा राख्ने कक्ष, निसान र पूजा सामग्री राख्ने कोठा दोस्रो तलामा राखिनेछ । तेस्रो तलामा राजपरिवारको भान्छा कोठा रहेको बताइन्छ । कटुवाल र टपरी लगाउने कोठा तेस्रो तलामै रहनेछ भने चौथो तलामा उत्तरतर्फ कैलाश कोठा रहनेछ ।

दरबार पुनर्निर्माणको ढिलाइले आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा असर गरेको छ । यसको प्रत्यक्ष मारमा यहाँका स्थानीय परेका छन् । व्यापार घटेको छ । दरबार घुम्न आएका आगन्तुक पनि पुनर्निर्माणमा ढिलाइ हुँदा निराश बनेर फर्कने गरेका स्थानीय बताउँछन् ।

प्रकाशित : असार २०, २०७९ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?