कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

असारे विकासमा बजेटको ओइरो

पुँजीगत खर्च देखाउने नाममा अनुत्पादक र टिकाउ नहुने विकास निर्माणका योजनामा धमाधम रकम निकासा
अगन्धर तिवारी

(पर्वत) — कुश्मा नगरपालिकाले वडा–९ स्थित कुश्मा–ज्ञादी झोलुंगे पुलछेउको छेउखन्ना सडक स्तरोन्नति सुरु गरेको केही साता भयो । कुश्माकै वडा–५ को कालीगण्डकी किनार जोड्ने सडक पनि मर्मतको काम भइरहेको छ ।

असारे विकासमा बजेटको ओइरो

फलेवास नगरपालिकाको मुडिकुवामा केही सडक ढलान र स्तरोन्नतिको काम भइरहेको छ । यी काम केही साताअघिदेखि सुरु भए पनि नगरपालिकाले भुक्तानी दिएको छैन । फलेवासकै दोबिल्ला–फलेवास सडकअन्तर्गत देवीस्थान क्षेत्रमा कालोपत्रेको काम धमाधम भइरहेको छ ।

कुश्मा नगरपालिकाकै बजेटमा जिल्लाका केही सामाजिक संस्थाले विभिन्न तालिम, गोष्ठी, अन्तर्क्रिया गरिरहेका छन् । सामाजिक विकास कार्यालय, कृषि ज्ञान केन्द्र, सिँचाइ, भू तथा जलाधारलगायत कार्यालयले अनुगमनलाई पनि यही समयमा तीव्रता दिएका छन् । स्थानीय सरकारहरू, कृषि ज्ञान केन्द्र, पशुविज्ञ केन्द्र र जिल्लाका विकासे कार्यालयले किसान, पशुपालक, युवा उद्यमीलाई दिने अनुदानका सामग्रीसमेत असार लागेपछि मात्रै खरिद गरेर वितरण गर्न सुरु गरेका छन् ।

यी असारे विकास र बजेट रित्याउने अनि पुँजीगत खर्च देखाउन गरिएका केही उदाहरण मात्रै हुन् । जिल्लाका सबैजसो पालिकाको हालत यस्तै छ । जब असार सुरु हुन्छ, तब ११ महिनामा खर्च हुन नसकेको बजेट एकै महिनामा सक्ने गरी धमाधम विकास निर्माणका काम अघि बढाइन्छ । सभा, सम्मेलन, गोष्ठी, मेला, तालिमलगायत अनुपात्दक र अनावश्यक काममा पनि बजेट खेर फालिन्छ । स्थानीय तहले अनुगमनका नाममा समेत लाखौं रकम खर्च असारमै गर्ने गरेका छन् ।

पूर्वाधार विकासका गतिविधिमध्ये अधिकांश बजेट सडकमा खन्याएर विकास देखाउने पुरानो प्रवृत्ति यो वर्ष पनि जिल्लास्थित सरकारी कार्यालय र स्थानीय सरकारले दोहोर्‍याइरहेका छन् । सबै पालिकाले सडक विस्तार, स्तरवृद्धि, कालोपत्रलगायतका काम असार लागेसँगै तीव्र पारेका छन् । ‘असार सुरु भएयता समयमा सुत्नु छैन, खानु छैन,’ कुश्मा नगरपालिकाका एक कर्मचारीले भने, ‘पुराना भुक्तानीदेखि सम्झौताका काम अहिले नै हुन्छन् ।’ उपभोक्ता समितिले गरेका सम्झौताबमोजिमका भुक्तानी, इस्टिमेट, चेक निर्माणदेखि विभिन्न खर्चका भुक्तानीलगायत कामले यतिबेला कर्मचारीलाई भ्याइनभ्याई छ ।

पूर्वाधार विकास कार्यालय स्रोतका अनुसार असार पहिलो सातासम्म करिब ३५ करोड रुपैयाँ बजेट खर्च भएको छ । २५ असारभित्र काम सकिएका आयोजनाको भुक्तानी दिँदा अबको एक साताभित्र कार्यालयको प्रगति बढीमा ६५–७० प्रतिशत आसपास पुग्ने अनुमान गरिएको कार्यालयका लेखापाल लीला गौतमले बताए । उनका अनुसार संघ र प्रदेशबाट आउने योजनामा टुक्रे बजेट भएको, ससाना योजनामा सांसदको चासो भएको लगायत कारणले व्यवसायी र उपभोक्ता समितिले पनि समयमै काम सम्पन्न गर्न सकेका छैनन् ।

चालु वर्षको २५ असारभित्रै हरेक योजनाको हिसाब फरफारक गर्नुपर्ने भएपछि व्यवसायी र उपभोक्ता समितिहरूले प्राविधिकले दिएको इस्टिमेट सक्नैपर्ने बाध्यता भएको बताउँछन् । ‘२५ असारभित्र काम नसके भुक्तानी पाइन्न,’ फलेवासका एक उपभोक्ता समिति अध्यक्षले भने, ‘एक महिनाभित्र काम सक्नैपर्‍यो भनेर दबाब छ । यही बेला कामदार नपाएर समस्या छ ।’

तापक्रम बढी भएको समयमा सडक कालोपत्रे, ढलानलगायतको काम गर्नुपर्छ तर लगातार पानी परिरहेको अवस्थामै यस्ता कामले तीव्रता पाइरहेका छन् । ‘तापक्रम जति बढी भयो उति कालोपत्रले राम्रो काम गर्छ,’ इन्जिनियर रामचन्द्र केसी भन्छन्, ‘तर वर्षाले बिगार्छ । तापक्रम बढी भयो भन्दैमा वर्षात्मा गरिएको पिच बलियो हुँदैन ।’ वर्षामा सडक ग्राभेल तथा नाली र रिटेनिङ वाल निर्माण गरिए पनि दिगो नहुने उनको भनाइ छ ।

प्रकाशित : असार २०, २०७९ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?